तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पाकिस्तानी मञ्चमा नेपाली गीत घन्काउँदा...
- Author, स्वेच्छा राउत
- Role, बीबीसी न्यूज नेपाली
बुधवार अपराह्न एशिया कप क्रिकेटको १६ औँ संस्करण अन्तर्गत पहिलो खेल सुरु भयो। सधैँजस्तै सामाजिक सञ्जालमा खेल प्रेमीहरूले नेपाल र पाकिस्तानको पक्ष/विपक्षमा चर्चा गर्न थाले।
रोचक त के भने खेल भइरहँदा पाकिस्तानी सञ्चार माध्यमको ट्रेन्डिङमा रहिन् नेपाली गायिका त्रिशाला गुरुङ। उनी र पाकिस्तानी गायिका आइमा बेगले खेलको उद्घाटन समारोहमा गीत गाएका थिए।
त्यस मञ्चमा प्रस्तुति दिन पाउनुलाई ठूलो अवसर ठानेको भए पनि त्यहाँबाट प्राप्त प्रतिक्रिया र चर्चा “अप्रत्याशित” भएको अनुभव साट्छिन् गायिका गुरुङ।
उनले बीबीसी नेपालीसँगको कुराकानीमा भनिन्,”हरेक मिनेट फलोअर्स बढिरहेका छन्। भिडिओहरूमा प्रतिक्रिया र सन्देश आइरहेका छन्। मलाई यो सबै अविश्वसनीय लागिरहेको छ। शब्दमा व्याख्या गर्नै सक्दिनँ।“
आफ्नो प्रस्तुतिबारे प्रतिक्रिया जनाउने अधिकांश पाकिस्तानीहरू भएको उनको ठहर छ।
इन्टरनेटको दुनियाँमा मात्र नभई यथार्थमा पनि आफूसँग फोटो खिच्न वा हात मिलाउन मानिसहरू उत्साहित भएको उनले पाकिस्तानको मुल्तानबाट सुनाइन्।
तर, त्यहाँसम्म पुग्न उनले फरक अन्योलमार्फत् गुज्रनु परेको थियो।
'एड्भान्स लिएको कार्यक्रम छोड्नु पर्यो'
अगस्ट ३० मा मुस्ताङमा हुने एक भव्य यार्थुङ महोत्सवमा जाने तय भएको थियो त्रिशालाको। उनले उक्त कार्यक्रममा गाउनका लागि अग्रिम भुक्तानी समेत लिइसकेकी थिइन्। त्यहाँ कुनकुन गीत गाउने भन्ने निर्क्योल गर्दै थिइन्।
सोही क्रममा मध्य अगस्टतिर उनको इमेल र इन्स्टाग्राममा “एशिया कपको उद्घाटन समारोहमा गीत गाउने” प्रस्तावसहित विभिन्न सन्देशहरू देखा परे। ती सन्देशमा विभिन्न प्रश्न तथा जिज्ञासाहरू थिए।
“सुरुमा त ती मेसेजहरू साँच्चै कार्यक्रम आयोजकले पठाएका हुन् वा स्क्याम हो भनेर ठम्याउनै समय लाग्यो। आवश्यक जाँचबुझ गरेपछि ‘त्यो यथार्थमा ठूलो प्रस्ताव हो’ भन्ने महसुस गरेँ,” उनले बताइन्।
यद्यपि गुरुङले तत्काल निर्णय दिन सकिनन्। उनलाई महोत्सवका लागि दिएको वचन र लिएको अग्रिम रकमले रोक्यो। आफ्नो उपस्थितिकै कारण महोत्सवमा सहभागी हुन उत्साहित दर्शक/श्रोताबारे धेरै सोचिन्।
धेरै घोत्लिने समय थिएन। नेपालको पर्यटकीय जिल्ला मुस्ताङमा हुन लागेको महोत्सवका आयोजकलाई आफ्नो “धर्म सङ्कट”बारे बताइन्। उनीहरूले पनि “दोहोर्याएर नपाउन सक्ने अवसर रोज्न” सुझाव दिएपछि उनी पाकिस्तान जाने निश्चित भयो।
“सुरुमा त उहाँहरू झस्कनु भएको थियो किनकि अन्तिम घडीमा कलाकार उपस्थित हुन नसक्नु व्यवस्थापकीय कोणबाट निकै झन्झटिलो कुरा हो। तर पछि उहाँहरूले नै मलाई देशको प्रतिनिधित्व गर्नु उचित हुने बताउनु भयो,” उनले थप भनिन्।
राष्ट्रिय गीतले निम्त्याएको अन्योल
उद्घाटन समारोह आयोजक ट्रान्स ग्रुप अफ पाकिस्तानले गुरुङलाई कुनै ‘राष्ट्रिय गीत’को तयारी गर्न आग्रह गरे। उनले ठानिन्- ‘सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली’ गाउनु पर्छ। त्यसैका लागि अभ्यास थालिन्।
तर पछि राष्ट्रिय गान नभई राष्ट्र भाव झल्कने गीत गाउनु पर्ने बताइयो। सुरुमा उनले आफ्नै ‘यी आँखाले सुनौलो नेपाल सजाऊ’ बोलको गीत गाउनेबारे सोचेकी थिइन्।
यूट्यूबमा एघार लाखभन्दा बढी पटक हेरिएको उक्त गीतमा उनकै स्वर, शब्द र सङ्गीत छ।
“मैले आफ्नो गीतको प्रचार चाहेकी थिइनँ। लाग्यो- त्यो मञ्चबाट सबै नेपालीलाई एकत्रित महसुस गराउन पाए हुन्थ्यो। त्यसका लागि त्यस्तै ऊर्जा बोकेको गीत गाउन पाए हुन्थ्यो।“
गुरुङले “रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो” बोलको गीत रोजिन्। गोपालप्रसाद रिमाल लिखित, अम्बर गुरुङको सङ्गीत तथा अम्बर गुरुङ र फत्तेमानले स्वर दिएको उक्त गीत गाउन अनुमति मागिन्। अभ्यास गरिन्। सोही अनुरूप आफूले प्रस्तुतिको समयमा लगाउने पहिरन तयार गरिन्।
पाकिस्तान जाँदै गर्दा गुरुङले त्यहाँका मानिसहरू र परिकार कल्पना गरेकी थिइन्। परिवेश कल्पना गरेकी थिइन्। सबैभन्दा धेरै मञ्च कल्पना गरेकी थिइन्। सयौँ दर्शकहरूको अघिल्तिर उभिएर मनमनै गाउँथिन्- जबसम्म चन्द्र सूर्य आकाशमा रहन्छन्...
परन्तु समारोहको अघिल्लो रात कार्यक्रम प्रत्यक्ष प्रसारण गर्ने आधिकारिक च्यानल स्टार स्पोर्ट्सबाट खबर आयो- “हाम्रो नीतिअनुसार प्रत्यक्ष प्रसारणमा राष्ट्रिय भावको गीत गाउन पाइँदैन।”
“रातको दश बजेको थियो। प्राविधिक जाँचका लागि स्टेडियममा जाने तयारी गर्दै थियौँ। अचानक त्यस्तो खबर आउँदा म त छाँगाबाट खसेजस्तै भएँ। अरू कुनै पनि गीतबारे सोचेकै थिइनँ,” उनले अकस्मात् आएको जानकारीले पारेको असरबारे सुनाइन्।
समस्या त के भने- गुरुङको कुनै पनि चर्चित गीतको सर्वाधिकार उनीसँग थिएन। सम्बन्धित निकाय वा व्यक्तिसँग सम्पर्कका लागि समय थिएन।
अन्ततः उनले आफ्नै ‘यो मन’ बोलको गीत गाउने भइन्। इमेज अवार्डमा ‘बेस्ट कम्पोजिशन अफ त इअर’ प्राप्त गरेको उक्त गीतका लागि उनीसँग अभ्यासको समय भने थिएन।
“तत्काल निर्णय गर्यौँ र मध्य रातमा साउन्ड चेक गर्न मञ्चमा पुग्यौँ। त्यहाँको भव्यताले सम्पूर्ण तनाव बिर्साइदियो र ‘जसरी हुन्छ राम्रो गर्नु छ’ भन्ने ठानेँ,” उनले भनिन्।
पाकिस्तानले साटेको अपनत्व
उनकै आग्रहमा स्टार नेटवर्कले प्रत्यक्ष प्रसारण नगर्ने सर्तमा ‘रातो र चन्द्र सूर्य’ पनि प्रस्तुत गर्ने अनुमति दियो। जुन उनले समारोह सुरु हुनुअघि गाइन्। उक्त गीत गाएको भिडिओ हाल टिकटकदेखि फेसबुकलगायत सामाजिक सञ्जालमा चर्चामा छ।
“सम्मानसहितको चर्चाले एकदम धन्य महसुस गराइरहेको छ। पाकिस्तानीहरूको आतिथ्य असाध्यै मनपर्यो। उनीहरूसँग अपनत्व आभास भएको छ। उनीहरूले गर्ने सम्बोधन र उर्दू भाषाका शब्दहरू साह्रै मीठा लागेका छन्। यहाँको खानाजस्तै,” उनले उत्साहित हुँदै व्याख्या गरिन्।
प्रस्तुतिकै क्रममा उनी धेरै वटा देश गएकी छन्। ती ठाउँहरूमा आफ्नो स्वादअनुरूप खाना नपाएकी उनले पाकिस्तानको परिकारहरूमा आफ्नोपन भेटेको सुनाइन्।
रहरले सङ्गीतमा सक्रिय बनेकी गुरुङ पेसाले चिकित्सक हुन्। नेपालको पूर्वी सहर धरानमा हुर्किएकी उनले उच्च शिक्षा काठमाण्डूबाट हासिल गरिन्। उनी आफ्नो यूट्यूब च्यानलमार्फत् आफ्ना रचना तथा कभर गायनहरू साझा गर्छिन्। उनले विभिन्न चलचित्रहरूमा समेत पार्श्व गायन गरेकी छन्।
आफूसँगै प्रस्तुति दिएकी पाकिस्तानी गायिका आइमा बेगको साथ र सहयोगबारे अनुग्रहित सुनिन्छिन् गुरुङ।
बेग पनि पाकिस्तानका युवा पुस्तामा चर्चित छिन्। कोक स्टुडिओको १० औँ संस्करणमा दिएको प्रस्तुतिपछि उनको चर्चा चुलिएका विवरणहरू सार्वजनिक छन्। पाकिस्तानी शहर लाहोरकी उनी गायनसँगै अभिनय पनि चर्चित छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।