प्रत्येक मतदानकेन्द्रमा प्रयोग हुने छन् ५१ वटा निर्वाचन सामग्री

    • Author, प्रकाश पार्की
    • Role, डडेल्धुरा
  • पढ्ने समय: ३ मिनेट

फागुन २१ गते बिहीवार हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपालभरि भएका २३,००० भन्दा बढी मतदानकेन्द्रमा कम्तीमा चार दर्जन मतदान सामग्री प्रयोग हुने निर्वाचन आयोगले जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार करिब ३७ प्रकारका सामग्री जिल्लास्तरबाटै खरिद गरिएको छ भने बाँकी १४ प्रकारका सामग्री आयोगले केन्द्रबाटै खरिद गरी सम्बन्धित जिल्लामा पठाएको छ।

आयोगका अधिकारीहरूले कतिपय सामग्री अत्यावश्यक त कतिपय सहयोगी हुने खालका रहेको बताएका छन्।

ती सामग्रीको सङ्ख्या भने मतदाता सङ्ख्या, त्यसले निर्धारण गर्ने मतपेटिका र मतपत्र र खटिने कर्मचारीसँग आपसमा अन्तरसम्बन्धित हुन्छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचन सञ्चालन (आर्थिक व्यवस्थापन) कार्यविधि २०८२ को दफा ३९ मा ७८ वटा निर्वाचन सामग्रीको उल्लेख छ।

"कानुनमा अधिकतम चाहिने सामग्रीको सूची राखिएको छ। जस्तो विद्युतीय मतदान यसपटक नहुँदा कतिपय सामान त्यहीँ घट्छ। कतिपय मितव्ययी भएर घटाइएको पनि छ," आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसी भन्छन्।

"यस पटक पनि हामीले अन्तिम समयमा खर्च घटाउन झोला, रबर म्याट घटाएका छौँ। जिल्लामै छाप्न सकिने सामग्री उतै छापेर पनि खर्च घटाएका छौँ।"

आयोगले पठाएका १४ सामग्री

केन्द्रबाट १४ वटा निर्वाचन सामग्री पठाइएका छन्।

ती मतदाता नामावली, मतपत्र, मतपेटिका, मतपेटिका सुरक्षण सील(मतदान केन्द्रमा प्रयोग हुने), मतपेटिका सुरक्षण सील(तालिम प्रयोजन), नउड्ने मसीको मार्कर, स्वस्तिक छाप (रबर), मतपेटिका स्टिकर, स्वस्तिक छाप (पित्तल), स्ट्याम्प प्याड मसी, छेकबार, रबर म्याट, स्ट्याम्प प्याड छन्।

त्यसैगरी सम्बन्धित ऐन, नियम, निर्देशिका र निर्वाचन आचार संहितासमेत निर्वाचन सामग्रीका रूपमा पठाइएका छन्।

निर्वाचनको मिति नजिकिँदै जाँदा सबै मतदान केन्द्रमा सामग्री पुर्‍याउने अन्तिम कार्य तीव्र बनेको छ।

"निर्वाचनलाई निष्पक्ष र व्यवस्थित बनाउन आवश्यक सबै सामग्री तयारी अवस्थामा मतदानस्थल पुर्‍याइएका छन्," आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईले भने।

जिल्लामै किनिने ३७ सामग्री

जिल्लास्थित निर्वाचन कार्यालयलाई दैनिक प्रशासनिक तथा व्यवस्थापकीय आवश्यक सामग्रीहरू खरिद गर्न दिइएको छ।

त्यसमा एउटा लाहा छ जुन ६-७ इन्च लम्बाइ भएको, प्रतिगोटा कम्तीमा ३० ग्राम तौल भएको, रातो रङको ३ गोटाको प्याकेट हुनुपर्छ।

त्यसैगरी अनुसूची फाराम, पुसपिन, पोलबुकको काम गर्ने डायरी, मार्कर पेन, स्केल, स्टेपलर मेसिन, स्टेपलर पिनयुक्त बट्टा, कैँची, ग्लुस्टिक, सोसर, पन्चिङ मशिन छन्।

अनि परिचयपत्र र डोरी सहितका कार्ड होल्डर पर्छन्। ती कर्मचारी, स्वयंसेवक, मतगणना कर्मचारी, मतदान प्रतिनिधि, मतगणना प्रतिनिधि, निर्वाचन प्रतिनिधिका लागि प्रयोगमा आउँछन्।

त्यसैगरी भित्र, बाहिर, पुरूष र महिला लेखिएका र मतदाता क्रम सङ्ख्या लेखिने कार्ड हुन्छन्।

जिल्लामै खरिद गरिने अन्य सामग्री मतदान केन्द्र लेखिएको कार्ड, प्लाष्टिक थैलो, बोरा, सुतली (१ केजीको रोल), प्याकिङ टेप, १०×१५ को नेपाली कागजको खाम, निविदा मतपत्र राख्ने नेपाली खाम, एफोर आकारको सेतो कागज, फित्ता सहितको रेकर्ड फाइल हुन्छन्।

धागो, सियो, खाप्सियो, फलाटिन कपडा, सलाई, कोरा कपडाको थैलो, मतपेटिका ६० इन्च चौडा भएको २ मिटरको राख्ने कोरा कपडाको टुक्रा, कालो जेलपेन, रातो जेलपेन, मैनबत्ती छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।