राष्ट्रिय स्वतन्त्र पार्टीबाट धनुषा क्षेत्र नम्बर १ मा उम्मेदवार रहेका किशोरी साहले उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध आफू अदालत गएको जनाएका छन्।
सर्वोच्च अदालतमा रिट निवेदन दिएको बताउँदै उनले अदालतले नै अन्तिम फैसला गर्ने बताए।
निर्वाचन आयोगले पठाएको पत्र सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले भिडिओमार्फत आफ्नो भनाइ पनि राखेका छन्।
उनले भनेका छन्, "यो सङ्घर्ष केवल एक व्यक्तिको होइन, परिवर्तनको आवाज बचाउने लडाइँ हो, त्यसैले धैर्य र विश्वास कायम राखौँ, सत्यको जित निश्चित छ।"
आफूलाई फागुन १४ गते उजुरीबारे जानकारी दिएर त्यही दिन जबाफ दिन भनिएको जनाउँदै उनले '१९ गते अकस्मात् उम्मेदवारी खारेज गरिएको सूचना दिइएको' दाबी गरेका छन्।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार आयोगका पदाधिकारीहरूको सोमवार बसेको बैठकले उनको उम्मेदवारी खारेज गरेको हो।
निर्वाचन आयोग ऐन २०७४ को दफा १३ बमोजिम उनको उम्मेदवारी खारेज भएको जीसीले बताए।
उक्त दफामा उम्मेदवारको अयोग्यतासम्बन्धी विषय छ।
साह ब्याङ्कको कालोसूचीमा रहेको भन्दै उजुरी परेको र त्यसबारे आयोगले छानबिन गर्दा उक्त दाबी पुष्टि भएपछि उनको उजुरी खारेज भएको बताइएको छ।
उक्त दफाको उपदफा 'ज'मा "प्रचलित कानुनबमोजिम कालोसूचीमा रहेकोमा सो अवधिभर" उम्मेदवार बन्न अयोग्य हुने व्यवस्था छ।