युक्रेनको खनिज भण्डारमा अमेरिकालाई पहुँच दिने सम्झौता 'अन्तिम चरणमा'

    • Author, अब्दुजलिल अब्दुरासलोभ
    • Role, बीबीसी न्यूज
  • पढ्ने समय: ५ मिनेट

युक्रेनको खनिज भण्डारमा अमेरिकालाई पहुँच दिने एक सम्झौता अन्तिम चरणमा पुगेको युक्रेनकी एक मन्त्रीले बताएकी छन्।

युरोप र युरो-एट्लान्टिक एकतासम्बन्धी उपप्रधानमन्त्री ओल्गा स्टाफनीशिनले "वार्ता धेरै रचनात्मक भएको र प्रायः सबै प्रमुख विषयहरू टुङ्गिएको" सामाजिक सञ्जाल एक्समा उल्लेख गरेकी छन्।

उनले उक्त सम्झौतामा "छिट्टै हस्ताक्षर अघि बढाउन आफूहरू प्रतिबद्ध रहेको" समेत उल्लेख गरेकी छन्।

सम्झौताका लागि युक्रेनमाथि अमेरिकाले दबाव बढाएपछि युक्रेनी र अमेरिकी राष्ट्रपतिबीच सम्बन्धमा फाटो आएको थियो।

गत सेप्टेम्बरमा डोनल्ड ट्रम्प राष्ट्रपतिको उम्मेदवार रहेकै समयमा भोलोदिमिर जेलेन्स्कीले खनिजसम्बन्धी सम्झौताको प्रस्ताव कथित "विजय योजना" मा समावेश गरेका थिए।

अमेरिकी राष्ट्रपतिका उम्मेदवारलाई युक्रेनलाई अमेरिकाले दिइरहेको सहयोगमा निरन्तरता दिनुपर्ने ठोस कारण पुष्टि गर्न उनले उक्त प्रस्ताव अघि सारेका थिए।

सोमवार यूकेका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले उक्त सम्झौता "ठूलो पुरस्कार" भएको बीबीसीसँग किएभमा बताए। उनले त्यसले डोनल्ड ट्रम्प नेतृत्वको "अमेरिकाले स्वतन्त्र, सुरक्षित र सार्वभौम युक्रेनको सुनिश्चितता गर्ने" प्रतिक्रिया दिएका छन्।

युक्रेनसँग कस्ता खनिजहरू छन्

किएभले आफूसँग विश्वमा पाइने पाँच प्रतिशत "महत्त्वपूर्ण कच्चा खनिज" युक्रेनमा रहेको आकलन गरेको छ।

त्यसमा एक करोड ९० लाख टन ग्राफाइट पनि समावेश छ। युक्रेनको भूगर्भ सर्वेक्षण निकायले यो खनिजको आपूर्तिमा युक्रेन "विश्वमै प्रमुख पाँच देशमध्ये पर्ने" बताएको छ।

ग्राफाइट विद्युतीय सवारी साधनमा प्रयोग हुने ब्याटरी बनाउन प्रयोग हुने गरेको छ।

युक्रेन लिथिअमको भण्डारणमा पनि युरोपमै तेस्रो धनी देश हो। अहिले प्रयोग हुने ब्याटरीहरूमा यो खनिज प्रयोग हुने गरेको छ।

रुसले आक्रमण गर्नुअघि विश्वमा पाइने टाइटानिअम उत्पादनको सात प्रतिशत हिस्सा युक्रेनसँग थियो। टाइटानिअम विमानदेखि ऊर्जा केन्द्रसम्म बनाउन प्रयोग हुने हलुका धातु हो।

यसबाहेक युक्रेनसँग 'रेअर अर्थ' भनिने दुर्लभ खनिजहरू पनि छन्। हतियार, वायु टर्बाइन र विद्युतीय उपकरणको निर्माणमा प्रयोग हुने १७ तत्त्वहरूको समूह अहिलेको आधुनिक विश्वमा निकै महत्त्वपूर्ण मानिन्छ।

३५९ अर्ब डलरको खनिज रुसी कब्जामा

युक्रेनका कतिपय खनिज भण्डारहरू रुसले कब्जा गरेको छ।

युक्रेनकी अर्थमन्त्री युलिया स्विरिडेन्कोका अनुसार रुसको कब्जामा रहेका क्षेत्रमा ३५९ अर्ब डलर बराबरका स्रोतहरू छन्।

सन् २०२२ मा सेकडेभ नामको एक भूगर्भ जोखिम सम्बन्धी परामर्शदाता निकायले गरेको मूल्याङ्कनमा रुसले युक्रेनको ६३ प्रतिशत कोइला खानी कब्जा गरेको देखिएको थियो। क्यानडाको उक्त निकायका अनुसार रुसले युक्रेनको आधा म्याङ्गनीज, सिजिअम, ट्यान्टलम र रेअर अर्थ भण्डारण आफ्नो कब्जामा लिएको छ।

सेकडेभका प्रमुख डा रोबर्ड मुगह रुसले निरन्तर आक्रमण गर्नुमा यी खनिजहरूको "रणनीतिक र आर्थिक आयाम" पनि एक कारण रहेको बताउँछन्। यसलाई कब्जा गरेर रुसले विश्वमा आफ्नै आपूर्ति प्रणाली विस्तार गर्न चाहेको उनको बुझाइ छ।

अमेरिका किन युक्रेनबाट खनिज चाहन्छ

यस्ता महत्त्वपूर्ण खनिजहरू "२१ औँ शताब्दीको अर्थतन्त्रका बलियो जगहरू" भएको मुगह बताउँछन्। साथै नवीकरणीय ऊर्जा तथा सैन्य उपकरण तथा औद्योगिक पूर्वाधारका लागि यिनीहरू महत्त्वपूर्ण हुनुका साथै यसले "भूराजनीति र भूअर्थशास्त्रमा रणनीतिक भूमिका बढाउने" उनले बताए।

अमेरिकाले युक्रेनका खनिज स्रोतहरूमा पहुँचका लागि सम्झौता गर्नुको अर्को एउटा कारण उसले चीनसँग घटाउन चाहेको परनिर्भरता पनि हो। विश्वमा रहेको ७५ प्रतिशत रेअर अर्थ भण्डारण चीनमा रहेको जिओलजिकल इन्भेस्टमेन्ट ग्रूपले जनाएको छ।

डिसेम्बरमा चीनले केही रेअर अर्थ खनिजहरूको अमेरिकामा हुने आपूर्तिमा प्रतिबन्ध लगाएको थियो। त्यसअघिको वर्ष पनि चीनले अमेरिकामा यस्तो खनिजको आपूर्ति सीमित गरेको थियो।

सोमवार फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँको भ्रमणअघि ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले अमेरिकी समाचारसंस्था न्यूज नेशनलाई उक्त सम्झौताले "अमेरिका र युक्रेनलाई भविष्यमा सँगै ल्याउने" बताए।

वार्ताबारे हामीलाई अहिलेसम्म के थाहा छ?

युक्रेनले उपप्रधानमन्त्री ओल्गा स्टाफनीशिनले सार्वजनिक गर्नुअघि नै यसबारे कैयौँ सङ्केतहरू देखिएका थिए।

अमेरिकाले मागेको भनिएको युक्रेनमा पाइने रेअर अर्थ खनिजको ५० प्रतिशत हिस्सा गत बुधवार जेलेन्स्कीले अस्वीकार गरेका थिए। ट्रम्पका अनुसार उक्त परिमाण अमेरिकाले युक्रेन युद्धमा गरेको सहयोग बराबर हुन आउँछ।

जबाफमा जेलेन्स्कीले भनेका थिए, "म हाम्रो देश बेच्न सक्दिनँ।"

आइतवार तयार गरिएको सम्झौताको दोस्रो मस्यौदा यसअघिको भन्दा पनि कठोर भएको बताइएको छ।

खनिजको राजश्व आधाआधा बाँड्ने यसअघिको प्रस्तावभन्दा संशोधित प्रस्तावमा अमेरिकाले खनिजमा पूर्ण नियन्त्रण कायम गर्ने विषय समेटिएको आइतवार आयोजित पत्रकार सम्मेलनमा जेलेन्स्कीले बताए।

ट्रम्पले यो महिनाको आरम्भमा अमेरिकाले युक्रेनलाई दिएको सैन्य सहयोग ५ खर्ब अमेरिकी डलर बराबर रहेको बताएका थिए। उनले उक्त मूल्य बराबरको युक्रेनी खनिज अमेरिकाले चाहेको बताएका थिए।

तर जेलेन्स्कीका अनुसार अमेरिकाले गरेको सहयोग एक खर्ब अमेरिकी डलर बराबर मात्रै छ। किएभले आफूले पाएको सहयोग अनुदान भएको र ऋण नभएको बताउँदै आएको छ। त्यसकारण त्यो चुक्ता गर्नुपर्ने दायित्व आफूलाई नभएको युक्रेनी दाबी छ।

कतिपय टिप्पणीकारहरूले अमेरिकी प्रस्तावलाई "औपनिवेशिक" भनेका छन् तर किएभले संयुक्त रूपमा आफ्नो खनिज स्रोतहरूको उत्खनन गर्ने इच्छा व्यक्त गरेको छ।

यस्ता खनिज उत्खनन र प्रशोधन अत्यन्तै जटिल र महँगो पर्ने यूकेको खानीसम्बन्धी परामर्श समूह जिओलजिकल इन्भेस्टमेन्ट ग्रूपकी कार्यकारी प्रमुखले बताएकी छन्।

अमेरिकी लगानीकर्ताहरूलाई आफ्नो देशको प्राकृतिक स्रोतहरूको उत्खनन र विकासमा आकर्षित गर्न सके त्यो युक्रेनी अर्थतन्त्रका लागि पनि फाइदाजनक हुने इरिना सुप्रन बताउँछिन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।