तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
लुम्बिनी प्रदेशमा कतै मत बदल्ने चाहना, कतै पुराना पार्टीप्रति नै विश्वास
- Author, माधव नेपाल
- Role, बुटवल
- Author, बिमला चौधरी
- Role, नेपालगन्ज
- पढ्ने समय: ५ मिनेट
यस अघिका निर्वाचनहरूमा नेकपा एमालेको सूर्य चिह्नमा मतदान गर्दै आएका रूपन्देही तामनगरका ५५ वर्षे भीम तामाङ यस पटक आफ्नो भोट परिवर्तन गर्ने निर्णयमा पुगेको बताउँछन्।
"अहिले अलिकति आशा जागेको छ," उनले भने।
त्यस्तै रूपन्देही सैनामैनाको कलोनीका ४५ वर्षे बसिर आलमले पनि यस पटक मन परिवर्तन गरेका छन्। "मैले यसअघिका चुनावमा रूख चिह्नमा भोट हाल्दै आएको थिएV तर यस पटक परिवर्तन गर्ने सोचमा छु।"
त्यस्तै पाल्पा अर्गलीका ५१ वर्षीय सुरेश रेग्मी भन्छन्, "अहिले देशले सुशासन चाहेको छ।"
बुटवलमा भेटिएका यी तीनै जनाko मतदान गर्ने क्षेत्र पनि फरकफरक हो।
तामनगरका भीम तामाङ रूपन्देही क्षेत्र न २ का मतदाता हुन् । उनका अनुसार यसअघिको निर्वाचनमा उनले नेकपा एमालेका नेता विष्णु पौडेललाई भोट दिएका थिए।
यस पटक यो क्षेत्रमा एमालेका विष्णु पौडेलसहित नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेल तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल चुनावी मैदानमा छन्।
यस्तै यसअघि नेपाली कांग्रेसका भरत शाहलाई भोट दिएको बताउने सैनामैना कलौनीका बसिर आलम रूपन्देही क्षेत्र न ५ का मदताता हुन् ।
सो क्षेत्रमा यसअघि नेकपा एमालेका वासुदेव घिमिरेले चुनाव जितेका थिए भने सो क्षेत्रमा अहिले एमालेबाट खिमलाल भट्टराई, नेपाली कांग्रेसबाट भरत शाह र राष्ट्रिय स्वतन्त्र पार्टीबाट तौफिक अहमद खान प्रतिस्पर्धामा छन् ।
पाल्पा अर्गलीका सुरेश रेग्मीले यसअघि कसलाई भोट दिएको भनेर खुलाउन चाहेनन्।
पाल्पाको क्षेत्र नं २ मा यसअघि नेकपा एमालेका ठाकुर गेरैले चुनाव जितेका थिए भने यस पटक एमालेका गैरेसहित नेपाली कांग्रेसका हिमाल श्रेष्ठ, रास्वपाका माधवबहादुर थापा तथा नेकपाका सोमप्रसाद पाण्डेय लगायतका उम्मेदवार चुनावी मैदानमा छन् ।
तीन जिल्लामा चुनावैपिच्छे फरक नतिजा
बाँके, बर्दिया र दाङमा २०१५ सालदेखि नै चुनावी प्रवृत्ति अन्य क्षेत्रभन्दा फरक देखिँदै आएको राजनीतिक विश्लेषक नरेन्द्रजङ्ग पिटर बताउँछन् ।
बाँकेमा 'स्विङ' मतदाताको सङ्ख्या धेरै भएको उनको बुझाइ छ। "बाँकेको मत अस्थिर छ, यहाँ मतदाता बदलिरहने प्रवृत्ति विगतदेखि नै देखिन्छ । अहिले केही समयदेखि आवेगी र प्रतिक्रियात्मक मतदाताको सङ्ख्या पनि बढेको छ," उनले भने । विशेष गरी बाँके ३ मा यसको प्रभाव बढी पर्न सक्ने उनको विश्लेषण छ।
दाङ र बर्दियामा भने तुलानत्मक रूपमा कम आवेग देखिए पनि स्थापित मतदाताभित्र असन्तुष्टि र प्रतिक्रियास्वरूप मत फेर्ने सङ्केत देखिन थालेको छ।
बर्दियामा पुरानो राजनीतिक संस्कार छोडेर नयाँ सोचतर्फ झुकाव देखिएको छ भने दाङमा आफ्नै पार्टीप्रति असन्तुष्ट मतदाताको सङ्ख्या बढ्दो रहेको पिटरले बताए।
इतिहास हेर्दा २०१५ सालको संसदीय निर्वाचनमा यी तीनवटै जिल्लामा नेपाली कांग्रेस विजयी भएको थियो । तर अहिले मतदाताको मनोविज्ञान विभाजित देखिन्छ, कोही नयाँ लहरतर्फ आकर्षित छन् भने कोही पुरानै पार्टीप्रति आशावादी छन्।
दाङको घोराही-१० नारायणपुरका ५८ वर्षीय कृष्ण चौधरीले यसअघिको निर्वाचनमा सधैँ नेपाली कांग्रेसलाई मतदान गर्दै आएको बताउँछन् । तर अहिले मत फेर्ने उनको योजना छ।
२०७९ को निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको चुनावी गठबन्धनका कारण माओवादीका उम्मेदवारलाई भोट हाले पनि अहिले नयाँ पार्टी नयाँ उम्मेदवारलाई भोट हाल्ने विचार गरेको उनले बताए।
पुराना दलको चुनावी गठबन्धनका कारण आफ्नो आस्थाभन्दा फरक दलका उम्मेदवारलाई भोट हाल्ने बाध्यतालाई परिवर्तन गर्दै अहिले दाङका धेरै मतदाताहरु मत फेर्ने मनसाय बनाएको उनको भनाइ छ ।
यता बाँकेको निर्वाचन क्षेत्र नं १ का इशरत अली मुकेरीले यस पटक कांग्रेसलाई समर्थन गर्ने बताए। जसपा नेपालबाट उम्मेदवारी फिर्ता लिएर सोही क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार नारायण गौडेललाई समर्थन गर्दै कांग्रेसमा प्रवेश गरेका उनी भन्छन्, "म प्रजातान्त्रिक धारको मान्छे हुँ, कांग्रेस नै ठिक लाग्यो।"
विशेष महाधिवेशनपछि कांग्रेसमा सुधार आएको र युवालाई अवसर दिइएको भन्दै उनले नयाँ आशासहित पार्टी रोजेको बताए ।
बाँकेको डुडुवा गाउँपालिका–५ का दिलोसन बोहरा भने पहिलो पटक मतदान गर्दैछन्। युवाहरू परिवर्तन चाहिरहेको उल्लेख गर्दै उनले नयाँ पार्टी रास्वपालाई मत दिने निर्णय गरेको बताए ।
बर्दियाको गुलरिया निवासी अनुस्का धिताल भने पुरानै पार्टीप्रति विश्वास कायम रहेको बताउँछिन् । उनका अनुसार "अनुभव र स्थायित्वका लागि" पुराना दल नै उपयुक्त विकल्प हुन्।
समग्रमा तीन जिल्लामा मतदाताको मनोविज्ञान एकरूप छैन। नयाँ लहरले यसपटकको चुनावी परिणामलाई प्रभावित पार्ने देखिएको विश्लेषक पिटरले बताए ।
चर्चित उम्मेदवार
पूर्वी रुकुममा नेकपा संयोजक प्रचण्ड उम्मेदवार छन्।
दाङमा नेकपा एमालेका शङ्कर पोखरेल उम्मेदवार छन्।
गुल्मीमा नेपाली कांग्रेसका चन्द्र भण्डारी र एमालेका प्रदीप ज्ञवाली तथा रास्वपाका सागर ढकाल उम्मेदवार छन्। प्यूठानमा सूर्य थापा र नेपाली कांग्रेसका गोविन्द पोखरेल छन्।
नवलपरासीमा विनोद चौधरी र हृदयेश त्रिपाठी प्रतिस्पर्धा गरिरहेका छन्। बर्दिया २ मा कांग्रेसका किशोरसिंह राठौर उम्मेदवार रहेका छ्न।
चुनावी तथ्याङ्कमा लुम्बिनी प्रदेश
जिल्लाको सङ्ख्या: १२
कुल निर्वाचन क्षेत्र: २६
कुल मतदाता: ३३,८६,६८०
- महिला: १६,७१,४७९
- पुरुष: १७,१५,१६३
- अन्य: ३८
कुल उम्मेदवार: ५९९
- महिला: ५६
- पुरुष: ५४३
- अन्य: ०
मतदान केन्द्र: ३९९८
मतदान स्थल: १६७१
विगतको नतिजा: कुन पार्टीले कति जिते?
- नेपाली कांग्रेस: ६
- एमाले: ११
- नेकपा माओवादी: ३
- राप्रपा: ३
- अन्य: ३
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।