सेनाको विमान ढाकास्थित विद्यालयमा ठोक्किएको घटनाबारे अहिलेसम्म हामीलाई के थाहा छ

    • Author, को यू
    • Role, बीबीसी न्यूज, सिङ्गापुर
  • पढ्ने समय: ५ मिनेट

बाङ्ग्लादेशमा सेनाको एउटा विमान विद्यालयमा ठोक्किँदा दर्जनौँ मानिसको मृत्यु भएको भोलिपल्ट मङ्गलवार देशमा राष्ट्रिय शोक मनाइँदै छ। अधिकारीहरूले मृतकको सङ्ख्या ३१ पुगेको बताएका छन्।

विमान दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये अधिकांश मानिस ढाकाको उत्तरास्थित माइलस्टोन स्कूल तथा कलेजका विद्यार्थी रहेका बताइएको छ। सेनाको एफ-७ जेट विद्यालयको भवनमा ठोक्किँदा उनीहरू आआफ्ना कक्षाबाट बाहिर निस्किँदै थिए।

बाङ्ग्लादेशी वायुसेनाको उक्त जेट तालिमका लागि उडाइएको थियो। तर उड्नासाथ त्यसमा प्राविधिक समस्या उत्पन्न भएको र विमानचालकको पनि मृत्यु भएको वायुसेनाले जनाएको छ। उक्त दुर्घटनाबारे अनुसन्धान हुने अधिकारीहरूले बताएका छन्।

यो दुर्घटनालाई बाङ्ग्लादेशमा दशकौँयता भएको निकै घातक दुर्घटना मानिएको छ। सोमवार दिउँसो भएको घटनाबारे हामीलाई अहिलेसम्म थाहा भएका महत्त्वपूर्ण कुराहरू यहाँ प्रस्तुत गरिएको छ।

दुर्घटना कसरी भयो?

सैन्य तालिमका लागि प्रयोग गरिँदै आएको उक्त विमान ढाकास्थित बाङ्ग्लादेश एअर फोर्सको अखडाबाट स्थानीय समयानुसार दिउँसो १ः०६ बजे उडेको थियो। त्यसलगत्तै उक्त विमान उत्तरा क्षेत्रमा खस्यो।

वायुसेनाले एउटा विज्ञप्तिमा उक्त एफ-७ जेटमा प्राविधिक समस्या उत्पन्न भएको र विमानचालक फ्लाइट लेफ्टिनन्ट मोहम्मद ताउकिर इस्लामले विमानलाई मानिसहरूको भिडभाड कम भएको ठाउँतिर मोड्ने प्रयास गरेको जनाएको छ। दुर्घटनामा परी उनको पनि मृत्यु भएको बताइएको छ।

उक्त कलेजका शिक्षक रेजाउल इस्लामले बीबीसी बाङ्ग्लालाई आफूले विमान "सोझै" विद्यालयको भवनमा जोतिएको देखेको बताए।

अर्का शिक्षक मसुद तारिकले समाचारसंस्था रोएटर्सलाई आफूले विस्फोटन भएको सुनेको बताए। "पछाडि फर्केर हेर्दा मैले आगो र धुवाँ मात्र देखेँ।... त्यहाँ धेरै अभिभावक र बच्चाहरू थिए।"

दुर्घटना भएको केही समयपछि उक्त स्थानमा खिचिएका तस्बिरहरूमा आपत्कालीन सेवाका कर्मचारीहरूले डढेका सामानहरू पन्छाएर मानिसहरूको खोजी गर्दै गरेको देखिन्थ्यो।

सेनाले उक्त दुर्घटनाबारे छानबिन गर्न एउटा समिति बनाइएको जनाएको छ।

हताहत हुने मानिसहरू को हुन्?

हताहत हुने अधिकांश व्यक्तिहरू माइलस्टोन स्कूल तथा कलेजका विद्यार्थी छन्। उक्त निजी शैक्षिक संस्थामा शिशुकक्षादेखि उच्च माध्यमिक तहसम्म पढाइ हुन्छ। त्यहाँ झन्डै २,००० विद्यार्थी छन्।

बाङ्ग्लादेशको शिक्षा मन्त्रालयले सोमवार मृतकमध्ये कम्तीमा १७ जना बालबालिका भएको जनाएको थियो।

कक्षा १० का छात्र फरहान हसनले बीबीसी बाङ्ग्लालाई आफू परीक्षा सकेर बाहिर आइपुग्नासाथ विमान विद्यालयको भवनमा ठोक्किएको बताए।

"परीक्षा हलमा मसँगै भएको मेरो मिल्ने साथीको आँखैअगाडि मृत्यु भयो," उनले भने।

"अनि धेरै अभिभावकहरू पनि भित्र कुरिरहेका थिए। किनभने साना केटाकेटीहरू विद्यालयको नियमित समय सकिएपछि बाहिर निस्किँदै थिए।... विमानले ती अभिभावकहरूलाई पनि आफूसँगै लग्यो।"

एक व्यक्तिले आफ्ना आठवर्षे भतिजाको पनि मृत्यु भएको बताए। "मेरो प्यारो भतिजो अहिले शवगृहमा छ," उनले आफ्नो हात ती बालकका पिताको काँधमा राख्दै भने। "मेरो छोरो खोइ?" शोकाकुल पिता बारम्बार सोध्दै थिए।

एक शिक्षकले 'ढाका ट्रिब्यून'लाई बताएअनुसार विमान ठोक्किँदा विद्यालयमा पाँच, छ र सात कक्षामा पढाइ हुँदै थियो।

"एक बजेतिर कक्षा सकिएको भए पनि धेरै विद्यार्थीहरू कोचिङ कक्षाका लागि बसेका थिए," ती शिक्षकले भने।

दुर्घटनामा परी कम्तीमा १७० जना घाइते भए। उत्तरा आधुनिक मेडिकल कजेल हस्पिटलका एक चिकित्सकका अनुसार अधिकांश घाइतेहरू १० देखि १५ वर्षका छन्। धेरै जना विमानको इन्धन बल्दा जलेर घाइते भएका हुन्।

जलेर घाइते भएका ५० जनाभन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको न्याश्नल इन्स्टिट्यूट अफ बर्न एन्ड प्लास्टिक सर्जरीका एक चिकित्सकले बताए। तीमध्ये धेरै जनाको अवस्था गम्भीर छ।

यस प्रकारको विमान दुर्घटना कति सामान्य हो?

बाङ्ग्लादेशमा विमान दुर्घटनालाई तुलनात्मक रूपमा दुर्लभ मानिन्छ।

यसअघि सन् १९८४ मा एउटा ठूलो दुर्घटना हुँदा विमानमा सवार सबै ४९ जनाको मृत्यु भएको थियो। बाङ्ग्लादेशको राष्ट्रिय ध्वजावाहक 'बिमान' ढाका विमानस्थलमा अवतरण गर्ने क्रममा दलदलमा खसेको थियो।

सन् २०१८ मा यूएस-बाङ्ग्ला एअरलाइन्सको एउटा विमान नेपालको राजधानी काठमाण्डूमा दुर्घटनामा पर्दा ५१ जनाको मृत्यु भएको थियो।

सन् २००८ मा सेनाको अर्को एफ-७ विमान ढाकाबाहिर दुर्घटनामा पर्दा विमानचालकको ज्यान गएको थियो।

अब के हुन्छ?

एकैठाउँ त्यति धेरै मानिस हताहत भएको घटनाका कारण ढाका अझै स्तब्ध छ। घाइतेहरूको उपचार हुँदै छ।

न्याश्नल इन्स्टिट्यूट अफ बर्न एन्ड प्लास्टिक सर्जरीमा सोमवार घाइतेका आफन्तहरूको भिड लागेको थियो। मानिसहरू घाइतेहरूका लागि ताजा रगत उपलब्ध गराउने उद्देश्यले रक्तदान गर्न पनि गएका थिए।

घाइतेहरूलाई भेट्न केही नेताहरू पनि गएका थिए।

हताहत भएका मानिसका विषयमा जानकारी दिन एउटा आपत्कालीन टेलिफोन 'हटलाइन' सुरु गरिएको जानकरी बाङ्ग्लादेशको अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुसले सामाजिक सञ्जाल 'एक्स'बाट दिएका छन्।

उनका अनुसार सनाखत भएका मृतकहरूका शव परिवारलाई दिइने र अरूको सनाखत गर्न डीएनए परीक्षण गरिने छ।

उनले अस्पतालहरूमा अनावश्यक भिड नगरिदिन र निर्विघ्न औषधोपचार गर्ने अवस्था सिर्जना गर्न सर्वसाधारण मानिसलाई आग्रह गरेका छन्।

उनले दुर्घटनाको कारण पत्ता लगाउन अनि सबै खालको सहयोग सुनिश्चित गर्न "आवश्यक उपाय" गरिने आश्वासन दिएका छन्।

छिमेकी देश पाकिस्तान र भारतका प्रधानमन्त्रीहरूले उक्त दुर्घटनाप्रति दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।