‘मतदानको अघिल्लो दिन र भोलिपल्ट पनि ब्याङ्कहरू सञ्चालन हुने’, राष्ट्रिय समाचार समिति
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउन सार्वजनिक बिदाको दिन पनि ब्याङ्क तथा वित्तीय संस्थासँग सम्बन्धित शाखा नियमित सञ्चालन हुने व्यवस्था मिलाइएको जनाएको छ।
भोलि हुने आमनिर्वाचनलाई दृष्टिगत गरी सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ।
मुलुकभरिका मतदाताले एकै पटक मतदान गर्ने दिन भएकाले सो दिन वित्तीय एवम् ब्याङ्किङ सेवा सञ्चालन नहुने तर भोलिपल्ट फागुन २२ गतेदेखि यथावत् सञ्चालन हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्।
मतदानको अघिल्लो र भोलिपल्ट सेवामा असर पर्न नदिन आयोगको निर्णय तथा अनुरोधअनुरूप महालेखा नियन्त्रक कार्यालयमार्फत् राजस्व दाखिलाको प्रबन्ध मिलाइएको बताइएको छ।
कोष तथा लेखा नियन्त्रक कार्यालयबाट निर्वाचनसम्बन्धी कामको भुक्तानी निकासा, राजस्व दाखिलालगायत सेवा सञ्चालन गराइएको छ।
नेपाल राष्ट्र ब्याङ्कका अनुसार सरकारी कारोबार गर्ने एजेन्सी ब्याङ्क तथा राजनीतिक दल र उम्मेदवारका निर्वाचन प्रचारप्रसार ब्याङ्क खाता सञ्चालन गर्ने ब्याङ्क तथा वित्तीय संस्थाद्वारा रकम दाखिला तथा भुक्तानीलगायत वित्तीय सेवा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाइएको छ।

