'मतदान हुँदा मौसम सफा रहने': हिमाली क्षेत्रमा कतै हेलिकप्टरबाट, कतै डोजरले हिउँ पन्छाएर पुर्याइयो सामान

तस्बिर स्रोत, RSS
- Author, सञ्जय ढकाल
- Role, बीबीसी न्यूज नेपाली
- पढ्ने समय: ४ मिनेट
मनाङको नार गाउँमा समुद्र सतहभन्दा ४,३०० मिटरमाथि रहेको मतदानकेन्द्रका सहायक अधिकृत केशवसिंह ऐरले बुधवार त्यहाँको मौसम सफा रहेको अनि चुनावको तयारी लगभग सकिएको बताए।
चुनावकै लागि भनेर ठड्याइएको मोबाइल टावरका कारण सञ्चार सम्पर्क स्थापित हुन सकेको ऐरले बताए।
"अहिले यहाँ सबै ठिकै अवस्था रहेको छ। सबै ठाउँमा मतदानकेन्द्र पनि बनाइसकेका छौँ," उनले बीबीसीलाई बताए।
हिमाली जिल्लाहरूमा कतै हिमपातका कारण मतदानलाई असर पार्ने हो कि भन्ने चिन्ता गरिएको थियो।
तर बुधवारसम्म आइपुग्दा मौसम प्रतिकूल नहुने देखिएको अधिकारीहरूले बताएका छन्।
कतै हेलिकप्टरको प्रयोग, कतै डोजर

तस्बिर स्रोत, Dil Krishna Shrestha/DEO
मुस्ताङको अर्को दुर्गम हिमाली भेगको मतदानकेन्द्र साङ्तामा ३-४ दिनसम्म दुईवटा डोजर प्रयोग गरेर बाटो खुलाएर सामग्री पुर्याइएको सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीले जानकारी दिए।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको श्री हिमाली आधारभूत विद्यालय साङ्तामा ३९ मतदाता मात्र छन्। त्यहाँ २० जनाभन्दा धेरै मतदान अधिकारी एवं सुरक्षाकर्मी खटाइएको छ।
"मौसमको भर त हुँदैन तर अहिले यहाँ जिल्लामा मौसम एकदम राम्रो छ। चुनावको बेला मौसमले साथ देला जस्तो छ," उनले बताए।
सो जिल्लामा कुल १०,९५७ मतदाता छन् जसमध्ये ५५८१ महिला, ५३७५ पुरुष र १ अन्य छन्।
त्यहाँ एउटा अस्थायी मतदानकेन्द्रसहित कुल ४० मतदानकेन्द्र हेका छन्। अस्थायी मतदानकेन्द्रमा कर्मचारी तथा सुरक्षाकर्मीले समानुपातिकतर्फ मत हाल्न पाउँछन्।
डोल्पा जिल्लाका निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठ पनि त्यहाँको मौसम अवस्थाका कारण प्रसन्न छन्।
"डोल्पा जिल्लामा समुद्र सतहभन्दा ५,३०० मिटरमाथिको उचाइको स्थान पार गरेर समेत जानुपर्ने मतदानकेन्द्रहरू छन्। करिब २० वटा केन्द्रहरूमा त निर्वाचन सामग्री हेलिकप्टरबाटै ओसारिएको थियो," उनले बताए।
सबै मतदान केन्द्रहरूमा सामान र कर्मचारी पुगिसकेको उनले बताए।
"मौसम पनि अहिले यहाँ दुनैमा घमाइलो छ। बिहीवार राम्रै होला भन्ने अपेक्षा छ।"
डोल्पा जिल्लामा कुल २४,११५ मतदाता छन् जसमध्ये १२,१८७ महिला, र ११,९२८ पुरुष छन्। त्यहाँ दुईवटा अस्थायी मतदानकेन्द्रसहित कुल ७० मतदानकेन्द्र छन्।

तस्बिर स्रोत, Ek Narayan Bhandari/DAO

तस्बिर स्रोत, RSS
मनाङ सबै केन्द्रहरूमा कर्मचारी र सामान पुगिसकेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताए।
"मौसम यहाँ जिल्लाभरि अहिले ठिकै छ। त्यस्तो हिमपात भएको छैन," उनले भने।
मनाङ जिल्लामा कुल ७,००० मतदाता छन्। तीमधये ३,६२३ महिला र ३,३७७ पुरुष छन्।
त्यहाँ एउटा अस्थायी मतदानकेन्द्रसहित कुल २९ मतदानकेन्द्र छन्।
मौसम विभाग के भन्छ
जल तथा मौसम विज्ञान विभागका अनुसार चुनावको दिन देशभरि मौसम लगभग सफा रहने देखिएको छ।
"बिहीवार पहाडी तथा हिमाली भूभागका आंशिक बदली चाहिँ हुन सक्छ। अरू सामान्यतया सफा नै छ," विभागकी प्रवक्ता मौसमविद् विभूति पोखरेलले बीबीसीलाई बताइन्।
बादल लाग्ने पनि आंशिक मात्रै अनुमान गरिएको भन्दै उनले अन्यथा बिहीवार मौसम सफा नै रहने भनिन्।
फागुन-चैतको महिनामा हावाहुरी चल्न सक्ने सम्भावना भने कायम रहने बताइन्छ।
"त्यो आफ्नो ठाउँमा छ। अझ त्यसको सम्भावना बिहीवारभन्दा बुधवार र शुक्रवार अलि धेरै देखिएको छ। अपरान्हपछि छिटफुट वर्षा अनि केही हिमपात कतै कतै हुन सक्छ," उनले भनिन्।

तस्बिर स्रोत, DHM/X
मौसम पूर्वानुमान महाशाखाले बुधवार साढे एक बजेतिर सामाजिक सञ्जालमा राखेको पोस्टमा पनि मतदानको दिनबारे मौसम प्रक्षेपण गरिएको छ।
"हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली थोरै जिल्लाहरूमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा धाम लागिरहेको छ। हाल कतै पनि वर्षा भएको छैन। हिजो (मङ्गलवार)को तुलनामा आज (बुधवार) मौसम केही सफा रहेको छ। भोली (बिहीवार) निर्वाचनको दिन अझ मौसम सफा हुने देखिन्छ।"
अघिल्लो २४ घण्टामा चाहिँ कोशी र बागमती प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन वा चट्याङसहित हल्का वर्षा वा हिमपात भएको उसले बताएको छ।
बिहीवार बिहान ७ बजेदेखि मतदान केन्द्रहरू खुला हुने छन्।
देशभरि कुल १०,९६७ मतदानस्थल र २३,११२ मतदानकेन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ।
मतदान कार्य सम्पन्न गर्न नेपाली सेनाको ७९,७२७, सशस्त्र प्रहरीको ३४,५७६, नेपाल प्रहरीको ७५,७९७, राष्ट्रिय अनुसन्धान विभागको १,९२१ परिचालित हुने छन्। त्यसबाहेक १,४९,०९० निर्वाचन प्रहरी र २,१५,००० कर्मचारी खटिने निर्वाचन आयोगले बताएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

























