तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

इजरेलद्वारा तेहरानको राष्ट्रपति कार्यालयमा हमला, मृतकको सङ्ख्या ७८७ पुग्यो

इरानमा अमेरिका र इजरेलले आक्रमण गरेपछि इरानले इजरेल र मध्यपूर्वस्थित अमेरिकी साझेदार राष्ट्रहरूतिर क्षेप्यास्त्र र ड्रोन प्रहार गर्ने क्रम जारी राखेको छ। हालसम्म मृतकको सङ्ख्या ७८७ पुगेको छ।

सारांश

  • इरानमा अमेरिका र इजरेलको संयुक्त आक्रमण सुरु भएयता मारिने मानिसहरूको सङ्ख्या ७८७ जना पुगेको रेड क्रेसन्टले बताएको छ
  • इजरेलले तेहरान र बेइरुतमा ताजा हमला गरेको पुष्टि गरेको छ
  • रियादस्थित अमेरिकी दूतावासमा दुइटा ड्रोन प्रहार हुँदा त्यहाँ आगलागी भएको र सामान्य क्षति पुगेको साउदी रक्षा मन्त्रालयले जनाएको छ
  • कुवेतस्थित अमेरिकी राजदूतावास अनिश्चितकालका लागि बन्द भएको छ
  • मध्यपूर्वमा द्वन्द्व चर्किएपछि एक इरानी अधिकारीले 'स्ट्रेट अफ होर्मुज'मा देखिने जुनसुकै पानीजहाजमा पनि "आगो लगाइदिने" धम्की दिएका छन्। स्ट्रेट अफ होर्मुज पेट्रोलियम पदार्थ ढुवानी प्रयोग गरिने गर्न एउटा महत्त्वपूर्ण मार्ग हो
  • अमेरिकाका विदेशमन्त्री मार्को रुबिओले इरानमा "सबैभन्दा भीषण आक्रमण हुन बाँकी नै भएको" बताएका छन्
  • अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको सत्तालाई रोक्ने यो नै "अन्तिम र सबैभन्दा राम्रो अवसर" भएकाले इरानविरुद्ध युद्ध गर्ने निर्णय गरेको बताएका छन्
  • अमेरिका र इजरेलले शनिवार गरेको आक्रमणमा परेर इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको मृत्यु भएको थियो। इरानले त्यसको प्रतिशोध लिने उद्घोष गरेको छ

लाइभ कभरेज

  1. आजका लागि यत्ति नै

    इरानमाथि इजरेल र अमेरिकाको आक्रमणका पछिल्ला विवरणहरू हामीले दिनभरि यो लाइभ पेजमा दिने प्रयास गर्‍यौँ।

    आजका लागि यो लाइभ पेज हामी यहीँ समाप्त गर्दैछौँ। थप समाचार तपाईँ हाम्रो होमपेजमा गएर हेर्न र पढ्न सक्नुहुन्छ।

    धन्यवाद।

  2. इरानमा मृतकको सङ्ख्या ७८७ पुग्यो

    इरानमा अमेरिका र इजरेलको संयुक्त आक्रमण सुरु भएयता मारिने मानिसहरूको सङ्ख्या ७८७ जना पुगेको रेड क्रेसन्टले बताएको छ।

    इरानमा रहेका एक जना संवाददाताले शनिवारयता तेहरानका प्रत्येक भागहरूमा आक्रमण भएको बताएका छन्।

    नातान्जको परमाणु क्षेत्रमा भएको क्षति बीबीसी भेरिफाईले अवलोकन गरेको छ।

    इजरेलले इरानसँगै लेबनानको राजधानी बेरुतमामा पनि आक्रमण जारी राखेको छ।

    इजरेलको सेनाले इरानको सहयोगी सशस्त्र समूह हिज्बुल्लाहविरुद्ध हवाई आक्रमण भइरहेको बताएको छ।

    यसअघि अमेरिकाको मध्यस्थतामा दुई पक्षबीच भएको युद्धविराम पछिल्ला आक्रमणले सङ्कटमा परेको छ।

    आक्रमणपछि बेरुतका हजारौँ बासिन्दाहरू घर छोडेर भागिरहेका छन्। इजरेलले थप हजारौँ मानिसहरूलाई सीमा क्षेत्रका गाउँबाट बाहिरिन चेतावनी दिएको छ।

    लेबननको सेना दक्षिणी क्षेत्रबाट पछि हटिरहेको विवरण आएका छन्।

  3. इरानका विपक्षीसँग मिलेर काम गर्न ट्रम्पलाई सुझाव

    डोनल्ड ट्रम्पका भूतपूर्व राष्ट्रिय सल्लाहकार जोन बोल्टनले अमेरिकाले अब इरानभित्र रहेका विपक्षीहरूसँग मिलेर काम गर्नुपर्ने जनाएका छन्।

    बीबीसी वर्ल्ड सर्भिससँग कुरा गर्दै उनले त्यसो गर्नु "महत्त्वपूर्ण" हुने बताए। इरानी जनतालाई कसैले पनि सजिलै स्वतन्त्रता प्रदान गर्न नसक्ने बरु त्यसका लागि उनीहरू नै सक्रिय हुनुपर्ने उनले बताए।

    त्यसका लागि उनीहरूको पक्षमा उभिन तयार वरिष्ठ सैन्य अधिकारीहरूको पहिचान गर्नुपर्ने र विपक्षी नेताहरूलाई साधनस्रोत र सञ्चार गर्न सक्ने क्षमता उपलब्ध गराइनुपर्ने उनको धारणा छ।

    "मूल प्रश्न चाहिँ त्यसो भएको हेर्न राष्ट्रपति ट्रम्पसँग धैर्य र दृढता छ कि छैन भन्ने हो," उनले भने।

  4. के मध्यपू्र्वको द्वन्द्वले नेपालमा पेट्रोलियम पदार्थको अभाव होला?

    मध्यपूर्वमा लडाइँ चर्किएपछि विश्वबजारमा तेलको आपूर्तिबारे चिन्ता उत्पन्न भएको छ।

    तर नेपालले भारतबाट नियमित आपूर्तिमा प्रभावित नहुने आश्वासन पाएको भन्दै नेपाल आयल निगमले नेपाली उपभोक्ताहरू "आत्तिनुपर्ने अवस्था नरहेको" जनाएको छ।

  5. इरानको राष्ट्रपति कार्यालयमा पनि हमलाः इजरेल

    इरानको राष्ट्रपति कार्यालय परिसरमा आफ्नो वायुसेनाले हमला गरेको इजरेलले दाबी गरेको छ।

    टेलिग्राममा राखिएको एउटा वक्तव्यमा आईडीएफले राष्ट्रपति कार्यालय तथा सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्‌माथि “कैयौँ गोलाबारुद” खसालिएको जनाएको छ।

    एउटा सैनिक प्रशिक्षण प्रतिष्ठान र “सत्ताका अतिरिक्त पूर्वाधारहरू” लाई पनि निसाना बनाइएको उसले जनाएको छ।

    आईडीएफका अनुसार इरानका भूतपूर्व सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले त्यो परिसरको प्रयोग गर्ने गरेका थिए। गत सप्ताहान्तमा अमेरिकी-इजरेली हमलामा खामेनेई मारिएका थिए।

  6. बेरुतवासी के भन्छन्, एलिस कडी, बेरुत

    इजरेली सेनाले "लेबननका रणनीतिक क्षेत्रहरू" आफ्नो नियन्त्रणमा लिने घोषणा गरेपछि मैले इजरेली सीमानजिकै बस्ने लेबननीहरूसँग कुरा गरेकी छु।

    लेबननको उत्तरी भेगमा अवस्थित मार्जायून सहरमा बस्ने एक व्यक्तिले आफ्नो नाम उल्लेख नगर्न अनुरोध गर्दै बलपूर्वक बाहिर नहटाइए आफू घरमा बस्ने बताए।

    "हामीले खबर सुनेका छौँ तर हामीलाई के गर्नुपर्छ वा अब के हुन्छ भन्ने थाहा छैन। म परिस्थिति विचार गरेर परिवारसँगै बस्छु। आवश्यक पर्‍यो भने बुवाआमालाई सुरक्षित स्थानमा सार्छु," उनले भने।

    २६ वर्षीय खूदोर शेखले दक्षिण लेबनन छोडेका छन्। उनी अहिले बेरुत आइपुगेका छन्।

    उनले तनाव चर्किने आफूलाई पहिल्यै लागेको बताए। "हामी अहिले प्रार्थना मात्र गर्न सक्छौँ," उनले भने।

    "परिस्थिति निकै कठिन र अनिश्चित छ। अब के हुन्छ म त्यो नियाल्छु। त्यसबाहेक अरू केही गर्न पनि त सक्दिनँ।"

  7. ओमानको व्यापारिक बन्दरगाहमा ड्रोन आक्रमण - सरकारी सञ्चारमाध्यम

    ओमानस्थित दुकम बन्दरगाहमा रहेको इन्धन ट्याङ्कमाथि ड्रोन आक्रमण भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

    “कुनै पनि किसिमको मानवीय हताहतीबिना उक्त क्षतिलाई नियन्त्रणमा लिइएको छ,” नाम नखुलाइएको सुरक्षा स्रोतलाई उद्धृत गर्दै समाचारसंस्थाले उल्लेख गरेको छ।

    सोही बन्दरगाहलाई सप्ताहान्तमा ड्रोनले निसाना बनाएको थियो। समाचारअनुसार एक जना कामदार घाइते भएका थिए।

    उता कतारमा, इरानले आक्रमण गरेपछि सोमबार तरलीकृत प्राकृतिक ग्यासको उत्पादन रोकिएको छ।

    साउदी अरबले पनि आफ्नो सबैभन्दा ठूलो घरेलु प्रशोधन केन्द्रमा उत्पादन स्थगित गरेको छ।

  8. ट्रम्पद्वारा यूकेका प्रधानमन्त्री स्टार्मरमाथि 'असहयोगी' भएको आरोप

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले इरानमा आक्रमण गर्दा सहयोग नगरेको आरोप यूकेका प्रधानमन्त्री सर किअर स्टार्मरमाथि लगाएका छन्।

    'द सन' पत्रिकासँग बोल्दै ट्रम्पले भने, "त्यस्तो होला भनेर मैले कहिल्यै सोचेको थिइनँ। यूकेले त्यस्तो गर्ला भनेर मैले कहिल्यै सोचेको थिइनँ।"

    फोन अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, "स्वभावतः यो सम्बन्ध पहिलेजस्तो रहेन, यो एकदमै दुःखको कुरा हो।"

    यसअघि सोमवार स्टार्मरले 'द हाउस अफ कमन्स'मा बोल्दै आफ्नो सरकार "आकाशबाट सत्ता बदल्ने कुरा"मा विश्वास नगर्ने बताएका थिए।

    सुरुमा यूकेले इरानमाथि आक्रमण गर्न अमेरिकालाई आफ्नो बेस प्रयोग गर्न दिएको थिएन। तर पछि "प्रतिरक्षात्मक" आक्रमणका लागि भन्दै तिनलाई खुला गरिएको थियो।

  9. लेबननमा स्थलसेनाले रणनीतिक क्षेत्रहरू आफ्नो नियन्त्रणमा लिन्छः इजरेल

    इजरेलका रक्षामन्त्री इजरेल काट्जले इजरेली स्थलसेनाले लेबननमा प्रवेश गरी रणनीतिक महत्त्वका थप क्षेत्रहरू आफ्नो नियन्त्रणमा लिने बताएका छन्।

    उनका अनुसार आफू र प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इजरेलको सीमावर्ती क्षेत्रमा बस्ने मानिसहरूमाथि हमला हुन नदिन "आईडीएफलाई कारबाही गर्ने अनुमति दिएको" बताएका छन्।

    उनले इजरेलतिर गरेको हमलाको "आतङ्ककारी समूह" हिज्बुल्लाहले चर्को मूल्य चुकाउनुपर्ने टिप्पणी गरेका छन्।

  10. तीनवटा इजरेली सैन्यस्थलमा हमला गरेको हिज्बुल्लाहको दाबी

    इरानबाट समर्थनप्राप्त लेबननी लडाकु समूह हिज्बुल्लाहले "लेबननका दर्जनौँ सहरहरूमा इजरेलले गरेका आपराधिक आक्रमणहरूको जबाफ दिन' आफूले इजरेलका तीनवटा सैन्यस्थलमा हमला गरेको दाबी गरेको छ। हिज्बुल्लाहले गोलन हाइट्सस्थित नफाह सैन्य शिविरमा क्षेप्यास्त्रहरू प्रहार गरेको टेलिग्राममा जनाएको छ।

    त्यसबाहेक उत्तरी इजरेलस्थित मेरोन र रामाट डेभिड वायुसेना शिविरहरूमा ड्रोन आक्रमण गरिएको हिज्बुल्लाहको दाबी छ।

    यसबारे इजरेली सेनाले कुनै टिप्पणी गरेको छैन।

  11. बेरुतमा धुवाँको मुस्लो, तेहरानमा विस्फोटनको ठूलो आवाज

    इजरेलले इरानको राजधानी तेहरान र लेबननको राजधानी बेरुतस्थित सैन्यस्थलहरूमा आफ्नो सेनाले आक्रमण गरिरहेको बताएको छ।

    हामीले बेरुतमा धुवाँको मुस्लो उठेको देखिने केही केही ताजा तस्बिर प्राप्त गरेका छौँ।

    समाचारसंस्था एएफपीले तेहरानमा विस्फोटनहरू भएका र त्यसपछि ठूलो आवाज सुनिएको विवरण दिएको छ।

  12. इरानी जनता के भन्छन्

    इरानका बासिन्दाहरूले इजरेल र अमेरिकाले देशैभरि बम आक्रमण गरेपछि आफूले देखेको र भोगेको कुरा बताउन थालेका छन्।

    शनिवार बिहान आक्रमण सुरु भएपछि सैन्य र रणनीतिक महत्त्वका स्थानहरूमा निरन्तर हमला भइरहेको छ।

  13. कुवेतस्थित अमेरिकी दूतावास 'अनिश्चितकालका लागि' बन्द

    मध्यपूर्वमा विद्यमान तनावको कारण देखाउँदै कुवेतस्थित अमेरिकी दूतावास अर्को सूचना प्रकाशित नभएसम्मका बन्द भएको छ।

    दूतावासले भिसाका लागि नियमित र आकस्मिक कन्सूसर सेवा पनि स्थगित भएको सूचना जारी गरेको छ।

    सोमवार अमेरिकाको विदेश मन्त्रालयले कुवेतसहित मध्यपूर्वका देशमा भएका आफ्ना सबै नागरिकहरूलाई अन्यत्र जान आह्वान गरेको थियो।

    सोमवार कुवेतमा अमेरिकाका तीनवटा लडाकु विमानहरू "आफ्नै पक्षले त्रुटिवश गरेको आक्रमण"मा परेका थिए।

    रियादस्थित अमेरिकी दूतावासमा ड्रोन हमला भएपछि कुवेतस्थित कूटनीतिक नियोग पनि बन्द भएको हो।

  14. हिज्बुल्लाहले रकेट प्रहार गरेपछि इजरेली सेनाद्वारा बेरुतमा हमला

    इजरेली सेनाले हिज्बुल्लाहका बेरुतस्थित सैन्यस्थलहरूलाई लक्ष्य गर्दै आक्रमण गरिएको जनाएको छ।

    इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि इरानबाट समर्थन प्राप्त गर्दै आएको हिज्बुल्लाह शिया समूहले इजरेलतिर रकेट प्रहार गरेको थियो।

  15. दुबई र आबुधाबीबाट भए ‘केही हवाई उडान’

    द्वन्द्वका कारण हवाई उडान रोकिएका दुबई र आबुधाबीका मुख्य विमानस्थलबाट केही विमानहरू उडेका छन्।

    इतिहाद एअरवेजका विमानहरू लन्डन, मस्को र प्यारिस लगायतका गन्तव्यतर्फ उडेका छन्।

    मध्यपूर्वमा दशौँ हजार यात्रुहरू अलपत्र परेका छन्। अहिलेको अवस्थालाई कोभिड महामारीपछि विश्वव्यापी हवाई यात्रामा भएको सबैभन्दा खराब अवरोधको रूपमा चित्रित गरिएको छ।

    केही दिनको अवरोधपछि एअरलाइन्स र ट्राभल कम्पनीहरूको शेअरको मूल्य तीव्र रूपमा घटेको छ।

  16. प्राकृतिक ग्यास आपूर्तिमा अवरोध हुँदा विश्व बजारमा धक्का, सुरञ्जना तिवारी

    स्ट्रेट अफ होर्मुज बन्द भएको पुष्टि भयो वा तेल र ग्यासको पूर्वाधारमाथि हमला जारी रह्यो भने एशिया र युरोप सबैभन्दा बढी प्रभावित हुने उद्योग विश्लेषकहरूले बताएका छन्।

    तरल प्राकृतिक ग्यास (एलएनजी) को आपूर्ति मुख्य चिन्ताको विषय हो।

    आफ्नो एउटा प्रशोधन केन्द्रमा इरानी ड्रोन आक्रमण भएको खबरपछि कतारले एलएनजी उत्पादन रोकेको बताएको थियो।

    “कतारी एलएनजीलाई कुनै पनि कुराले प्रतिस्थापन गर्न सक्दैन,” एमएसटी फाइनान्शल लमा वरिष्ठ ऊर्जा विश्लेषकको रूपमा कार्यरत साउल काभोनिकको ठम्याइ छ।

    "यदि अवरोध लामो समयसम्म रह्यो वा एलएनजी पूर्वाधारमा क्षति पुगेको छ भने, यसले सन् २०२२ मा रुसले युरोपमा पाइपलाइन ग्यास बन्द गर्दाको अवस्थाको तुलनामा ग्यास बजारमा ठूलो झट्का पुग्ने सङ्केत गर्छ।”

    विश्वको एलएनजीको पाँच भागको एक भाग स्ट्रेट अफ होर्मुज हुँदै जान्छ र कतारले आफ्नो एलएनजी निर्यातको ९० प्रतिशत ओमान र इरानबीचको साँघुरो भागबाट ओसारपसार गर्दछ।

    विज्ञहरूका अनुसार चीन, भारत, ताइवान र दक्षिण कोरिया एशियामा सबैभन्दा बढी जोखिममा पर्ने देशमध्ये हुन्।

  17. इजरेली सेनाद्वारा तेहरान र बेरुतमा ताजा हमला

    इजरेली डिफेन्स फोर्सेसले इरानको राजधानी तेहरान र लेबननको राजनधानी बेरुतमा हवाई हमला गरेको पुष्टि गरेको छ।

    "आईडीएफले एकै पटक निर्धारित स्थानका सैन्यस्थलहरूमा आक्रमण गरिरहेको छ," इजरेली सेनाले एउटा विज्ञप्तिमा भनेको छ।

    आईडीएफले बेरुतको दक्षिणी भेगका बासिन्दाहरूलाई सुरक्षित स्थानतिर जान सूचना जारी गरेको झन्डै एक घण्टापछि आक्रमण गरेको हो।

  18. 'अमेरिकी हवाई आधार ध्वस्त'

    इरानले गरेको हमलाका कारण बाहरेनस्थित अमेरिकी हवाई शिविर ध्वस्त भएको विवरण आएको छ।

    इरानी रेभलूशनरी गार्ड कोर (आईआरजीसी) सँग सम्बद्ध फार्स समाचारसंस्थाले पोस्ट गरेको फुटेजमा क्षेप्यास्त्रहरू उक्त आधारमा विस्फोट भएको देखिन्छ।

    इरानको ड्रोन र क्षेप्यास्त्र आक्रमणले बाहरेनको शेख इसा क्षेत्रमा रहेको अमेरिकी कमान्ड र कर्मचारी आवास भवन ध्वस्त पारेको र इन्धन ट्याङ्क विस्फोट गराएको दाबी उसले गरेको छ।

    अमेरिकाले भने उक्त आक्रमणबारे कुनै टिप्पणी गरेको छैन। यसअघि बाहरेनमा रहेको अमेरिकी जलसैनिक शिविरबाट धुवाँ निस्केको देखिएको थियो।

    अमेरिकी विदेश मन्त्रालयले बाहरेनसहित मध्यपूर्वका अन्य दर्जनौँ देश छाड्न आफ्ना नागरिकलाई निर्देशन दिएको छ।

  19. अमेरिकी सेनाले 'सबैभन्दा भीषण कारबाही गर्न अझै बाँकी

    अमेरिकाका विदेशमन्त्री मार्को रुबिओले इरानमा शनिवार आक्रमण गर्नुपर्नाका कारण खुलाएका छन्।

    उनका अनुसार इजरेलले हमला गर्न लागेको अमेरिकाले थाहा पाएको र इरानले अमेरिकी सैनिकहरूमाथि प्रत्याक्रमण गर्न सक्ने भएकाले अमेरिकाले पहिला नै सैन्य कारबाही गरेको हो।

    "उनीहरूले आक्रमण गर्नुभन्दा अगाडि नै हामीले नगरेको भए हामीले धेरै मानवीय क्षति बेहोर्नुपर्थ्यो," उनले भने।

    "म हाम्रो रणनीतिक प्रयासबारे सबै कुरा भन्दिनँ तर अमेरिकी सेनाले सबैभन्दा भीषण कारबाही गर्न अझ बाँकी नै छ।"

  20. अमेरिकाले इरानमा हमला गर्नेबारे ट्रम्पले के भने

    इरानमा अमेरिका र इजरेलले गरेको सैन्य कारबाहीपछि पहिलो पटक बोल्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले परमाणुअस्त्र र लामो दूरीका क्षेप्यास्त्रहरू भएकाले इरान मध्यपूर्व र अमेरिकाका लागि "अस्वीकार्य खतरा" भएको बताएका छन्।

    इरानको क्षेप्यास्त्र कार्यक्रम परमाणुअस्त्र विकासलाई ढाकछोप गर्ने तरिका भएको उनले दाबी गरे।

    ट्रम्पका अनुसार "आक्रमण गर्ने यो नै अन्तिम र सबैभन्दा राम्रो अवसर भएकाले" तथा "दुष्ट सत्ताबाट उत्पन्न अस्वीकार्य खतराहरू" हटाउन उनले इरानमा धावा बोल्ने निर्णय गरेका हुन्।

    उनले इरानको क्षेप्यास्त्रशक्ति तथा जलसेनालाई ध्वस्त पार्ने र इरानलाई परमाणुअस्त्र राख्न नदिनु आफ्नो उद्देश्य भएको स्पष्ट पारे।

    "इरानले सीमापारि आतङ्ककारी शत्रुहरूलाई हातहतियार दिन, आर्थिक सहयोग गर्न र निर्देशन दिन पाउँदैन," उनले भने।