निर्वाचन प्रहरी बन्न 'जेन जी'देखि प्रौढसम्म : कहाँ खटाइन्छन्, कस्ता सुविधा पाउँछन्

निर्वाचन प्रहरीका आकाङ्क्षीहरू

तस्बिर स्रोत, BBC/PRAKASH PARKI

    • Author, प्रकाश पार्की
    • Role, डडेल्धुरा
  • पढ्ने समय: ५ मिनेट

डडेल्धुराको अमरगढी नगरपालिका–४ स्थित टुँडिखेल मैदानमा घाम झुल्किएपछिको बिहान। खुला मैदानको एक कुनामा भुइँमै खुट्टा पसारेर बसेका छन्, नवदुर्गा गाउँपालिका–२ कटौजीका ४९ वर्षीय शेरबहादुर साउद। बाक्लो ज्याकेट, टाउकोमा टोपी, हातमा प्रश्नपत्र र कलम। उनी गहिरो ध्यानमा लेख्दै छन् उत्तर।

शेरबहादुर मात्र होइनन्, उनीजस्तै मैदानभर छरिएर बसेका छन्, युवादेखि प्रौढ उमेर समूहसम्मका मानिसहरू। सबैको साझा चाहना एउटै छ - निर्वाचन प्रहरीमा भर्ना हुने।

शेरबहादुरका लागि यो परीक्षा केवल जागिरको प्रवेशद्वार मात्र होइन, जीवनको बाध्यताको कथा पनि हो। "घरतिर रोजगारी केही पनि छैन। गरिब स्थिति भयो। खेतीकिसानीले मात्र घर चल्दैन," उनी भन्छन्, "निर्वाचन प्रहरीमा भर्ना भए केही महिनाका लागि भए पनि आम्दानी हुन्थ्यो।"

गाउँमा रोजगारीको अवसर नपाउँदा उनीजस्तै धेरै नागरिक अस्थायी रोजगारीको खोजीमा यस्ता अवसरमा निर्भर छन्।

अमरगढी नगरपालिका–७ पोखराकी ४६ वर्षीया वसन्ती सुनार तीन सन्तानकी आमा हुन्। उनी जिल्ला सदरमुकाममा जेनतेन काम गरी कोठा भाडामा लिएर छोरी पढाउँदै छिन्। "केही महिनाको कोठाभाडा तिर्न र छोरीको पढाइखर्चमा सहयोग हुन्छ कि भनेर निर्वाचन प्रहरीमा भर्ना हुन आएकी हुँ," वसन्तीले भनिन्।

शेरबहादुर र वसन्तीजस्ता प्रौढ उमेर समूहका मात्रै होइन, स्नातक पढिरहेका युवाहरू पनि निर्वाचन प्रहरी बन्न आएका छन्।

स्नातक पहिलो वर्षमा पढिरहेका अमरगढी नगरपालिका–४ मल्लो खलङ्गाका २१ वर्षीय प्रताप जैरू भन्छन्, "नेपालमा रोजगारी छैन। हाम्रो जिल्लामा हामीजस्ता युवालाई पढ्दापढ्दै काम गर्ने अवसर पनि छैन। त्यसैले निर्वाचन प्रहरीलाई सुनौलो अवसरका लागि लिएर यहाँ आएको छु। निर्वाचनलाई निष्पक्ष बनाउन सक्दो सहयोग गर्ने छु।"

नवयुवा प्रताव जैरू

तस्बिर स्रोत, BBC/PRAKASH PARKI

तस्बिरको क्याप्शन, नवयुवा प्रताव जैरू पहिलोपटक निर्वाचन प्रहरी बन्न आएका हुन्

जैरू पहिलोपटक निर्वाचन प्रहरी बन्न आएका हुन्।

यसअघिका निर्वाचनमा म्यादी प्रहरी बनिसकेका भूतपूर्व प्रहरी जवानदेखि असईसम्म पनि निर्वाचन प्रहरी बन्न आएका छन्।

अमरगढी नगरपालिका–२ मडुवाका भूतपूर्व प्रहरी जवान रमेशबहादुर खडायत आर्थिक अवस्था कजोर भएकै कारण निर्वाचन प्रहरी हुन आएको बताउँछन्। "म २०७४ र ०७९ को निर्वाचनमा म्यादी प्रहरी भएको थिएँ। घरको आर्थिक अवस्था कमजोर छ। छोराछोरी पढाउनका लागि केही मद्दत हुन्छ कि भनेर आएको हुँ," उनले भने।

निर्वाचन प्रहरीले के गर्न पाउँछन्, के पाउँदैनन्?

केन्द्रीय प्रहरी प्रवक्ता अबिनारायण काफ्ले

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि भर्ना हुने निर्वाचन प्रहरी नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ्य रहेको, आतङ्ककारी तथा विध्वंसात्मक सङ्गठनको सदस्य नरहेको हुनुपर्ने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्ले बताउँछन्।

निर्वाचन प्रहरीले नेपालको प्रचलिन कानुन तथा निर्वाचनसम्बन्धी कानुनका साथै नेपाल प्रहरी एवं सशस्त्र प्रहरी बल, नेपालको ऐननिमय, आदेश तथा निर्देशनको पूर्णरूपमा पालना गनुपर्ने उनको भनाइ छ।

"निर्वाचन प्रहरीले सामाजिक सञ्जाल खासगरी फेसबुक, इन्स्टाग्राम, टिकटकमा कार्य वा ड्यूटीको मर्यादाबाहिर गई निर्वाचनसँग सम्बन्धित आफ्ना धारणाहरू राख्ने, त्यससँग सम्बन्धी आवश्यक सामग्रीहरू पोस्ट, शेअर, लाइक तथा अनलाइक गर्नेजस्ता कार्य गर्न पाइँदैन," केन्द्रीय प्रहरी प्रवक्ता काफ्ले भने, "यदि आचरण पालना नगरेको भेटिएमा उनीहरूलाई सेवाबाट नै हटाइन्छ।"

उनका अनुसार माघ ५ गतेदेखि ९ गतेसम्म आवेदकमध्येबाट प्रारम्भिक छनोट गरिएको छ भने अन्तिम नतिजा माघ १२ गते प्रकाशित गर्ने कार्यतालिका छ। माघ १५ देखि २४ गतेसम्म निर्वाचन प्रहरीलाई तालिम तथा प्रशिक्षण दिइने छ।

नेपाल प्रहरीअन्तर्गत खटपटन गर्ने गरी एक लाख ३३,९८० जना र सशस्त्र प्रहरी बल, नेपालअन्तर्गत परिचालन हुने गरी १५,११० जना माग गरिएको छ।

निर्वाचन प्रहरीलाई कहाँ खटाइन्छ?

म्यादी प्रहरीको परीक्षा

तस्बिर स्रोत, BBC/PRAKASH PARKI

नेपाल प्रहरीका प्रवक्ता काफ्लेका अनुसार निर्वाचन प्रहरीलाई चुनावको सुरक्षामा प्रहरीको सहयोगीको रूपमा खटाइने व्यवस्था मिलाइएको छ।

"मतदान केन्द्र वा स्थलमा खटिएका बेला मतदान सामग्रीको सुरक्षा गर्ने तथा नेपाल प्रहरीसँगै खटिएर मोबाइल र पैदल गस्ती, जिल्ला प्रहरी प्रमुख र अपरेशन अफिसरको अनुगमनमा पनि उनीहरू (निर्वाचन प्रहरी) सँगै खटिन्छन्," उनले भने, "मतदान केन्द्रमा खटिएको बेला सरकारी जिन्सी सामग्रीको हिफाजत उनीहरूले गर्नुपर्दछ।"

निर्वाचन प्रहरीले केके पाउने छन् सेवासुविधा?

म्यादी प्रहरीको परीक्षा लिइँदै

तस्बिर स्रोत, BBC/PRAKASH PARKI

निर्वाचन प्रहरीले नेपाल प्रहरी जवानको सुरु तलब स्केलसरह प्रतिदिन आठ सय ६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनसम्मका लागि ३४ हजार ७७६ रुपैयाँ पाउने प्रहरी नायब महानिरीक्षक काफ्लेले बताए।

उनका अनुसार निर्वाचन प्रहरीलाई सम्बन्धित जिल्लाको नेपाल प्रहरीले पाए सरहको दररेटअनुसार प्रतिनिर्वाचन प्रहरी ४० दिनका लागि खाद्यान्नबापतको रकम निजको व्यक्तिगत ब्याङ्क खातामा उपलब्ध गराइने छ।

निर्वाचनका क्रममा खटिने निर्वाचन प्रहरीलाई खटिएको ठाउँमा आउने र जाने तयारीस्वरूप प्रतिनिर्वाचन प्रहरी एक पटकका लागि एकमुष्ट ८४६ रुपैयाँका दरले तयारी खर्च उपलब्ध गराइने छ।

प्रतिदिन निर्वाचन प्रहरी रुपैयाँ ३०० का दरले चार दिनका लागि एकमुष्ट रु १,२०० खाजा खर्च उपलब्ध हुने छ। नेपाल प्रहरीको प्रधान कार्यालयबाट तोकिएबमोजिमको दररेटका आधारमा पोसाकबापतको रकमसमेत निर्वाचन प्रहरीले पाउने छन्।

कर्तव्यपालनका सिलसिलामा निर्वाचन प्रहरी घाइते भएमा निज स्वयंले र मृत्यु भएको खण्डमा निजको नजिकको हकदारले नेपाल सरकारबाट तोकिएबमोजिमको क्षतिपूर्ति प्राप्त गर्ने प्रहरी प्रवक्ता काफ्लेले बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।