तेहरानमा 'धारा बन्द': १ करोड मानिस बस्ने इरानी राजधानीमा पानीको हाहाकार कसरी निम्तियो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, 'चेतावनीः पिउन अयोग्य पानी' भनेर लेखिएको बोतल देखाउँदै सिस्तान-बलुचिस्तान प्रान्तमा पानीको अभावविरुद्ध भएको प्रदर्शनका क्रममा एक पुरुष
    • Author, बीबीसी न्यूज पर्सिअन
    • Role, बीबीसी वर्ल्ड सर्भिस ल्याङ्ग्वेजेज
  • पढ्ने समय: ९ मिनेट

"पानीको आपूर्ति काटिनु अनि पानीको चाप एकदमै घट्नुको अर्थ अपार्टमन्ट भवनहरूमा या त पानी छिट्टै सकिन्छ या त पानी छैन भन्ने हो," तेहरानका एक बासिन्दाले बीबीसी न्यूज पर्सिअनसँग भने।

"बत्ती जाँदा इन्टरनेट जान्छ र लिफ्टहरूले पनि काम गर्न छोड्छन्…।"

"खास गरी चर्को वायु प्रदूषण हुने गर्मीयाममा झेल्नै गाह्रो हुने अवस्था सिर्जना हुन्छ। त्यसमाथि यदि घरमा बालबच्चा वा बूढाबूढी छन् भने अवस्था झन् दयनीय हुन्छ। किनकि कहिलेकाहीँ उनीहरूले यो समस्या घण्टौँसम्म झेल्नुपर्छ," एक महिलाले भनिन्।

इरानमा पानीको अभाव र बारम्बार विद्युत् आपूर्ति अवरुद्ध हुने समस्याले मानिसहरूको निराशा अझै बढाइदिएको छ।

मोबाइलपेजमा सामग्रीको यो भाग देखाउन हामी असमर्थ छौँ।

राजधानीका अग्ला आवासीय भवनहरूदेखि खुजेस्तान र सिस्तान-बलुचिस्तानका गाउँहरूसम्म सहन गाह्रो हुने गरी जनजीवन प्रभावित भइरहेको छ।

लगातार पाँच वर्षको सुक्खा र उच्चबिन्दुमा पुगेको पुगेको गर्मीपछि महानगरका धाराहरू सुक्ने अवस्थातर्फ जाँदै छन्।

तस्बिर स्रोत, Atta Kenare / Getty Images

तस्बिरको क्याप्शन, करज नदीसँगै अमिर कबिर बाँधको माथिल्लो भागमा रहेको नदीको एउटा हिस्सामा सन् २०२५ को जुन १ तारिखमा खिचिएको यो फोटोमा जलस्तर घटेका भँगालाहरू देखिन्छन्

जलाशयमा पानीको सतह अहिलेसम्मकै न्यून बिन्दुमा पुग्ने गरी घट्दै छ। बिजुली नियमित रूपमा जान्छ र मानिसहरूको धैर्यको बाँध भत्किन थालेको छ।

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, पानी प्रवाह गर्ने नदीहरू सुकेका कारण अमिर कबिर बाँधमा पानीको सतह घट्दै गएको छ, जुन यहाँ २९ जुलाई २०२५ मा देखिन्छ

'डे जीरो'

पानीको प्रयोग उल्लेख्य रूपमा नघटाइएमा केही साताभित्र कतिपय क्षेत्रले 'डे जीरो' अर्थात्‌ घरका धारा पालैपालो बन्द गर्ने अनि स्ट्यान्डपाइप अथवा ट्याङ्करमार्फत् पानी वितरण हुने अवस्थाको सामना गर्नुपर्ने हुन सक्ने अधिकारीहरूले चेतावनी दिएका छन्।

उनीहरूले यो वर्षको सुरुतिर त्यस्तो चेतावनी जारी गरेका थिए र र नियमित रूपमा दोहोर्‍याउँदै आएका छन्।

मोबाइलपेजमा सामग्रीको यो भाग देखाउन हामी असमर्थ छौँ।

यो चेतावनी प्रचण्ड गर्मी र इरानको पुरानो विद्युतीय ग्रिडमाथि बढ्दो दबावका कारण आएको हो।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०१४ मा लार बाँधमा उल्लेख्य रूपमा जलस्तर देखिन्छ

"यो पानीको सङ्कट मात्रै होइन, 'वाटर ब्याङ्क्रप्सी' नै हो - त्यो प्रणाली जसबाट यति धेरै मात्रामा पानी दोहन गरिएको छ कि क्षतिलाई अब पूर्ण रूपमा परिपूर्ति गर्न सकिँदैन," यूनाइटेड नेशन्स यूनिभर्सिटी इन्स्टिच्यूट फर वाटर, इन्भाइरन्मन्ट एन्ड हेल्थका निर्देशक कावेह मदनीले बीबीसी न्यूज पर्सिअनसँग भने।

पानीको अभाव हुँदा, भूक्षरण हुँदा, जलवायु परिवर्तन हुँदा र सरकारको कदम पर्याप्त नहुँदा परिणाम कस्तो हुन्छ भन्ने कुरा इरानको अवस्थाले दर्शाएको यूएन कन्भेन्शन टू कम्ब्याट डिजर्टिफिकेशन (यूएनसीसीडी) का ड्यान्यनल त्सेगाई बताउँछन्।

अरू देशका निम्ति त्यसले कडा चेतावनी दिएको उनको भनाइ छ।

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, जलवायु परिवर्तनका असर र पानी सुकेको समस्याबारे ध्यानाकर्षण गर्न सुकिसकेको उर्मिआ तालमा प्रदर्शन गर्दै रातो पहिरन लगाएका महिला

तेहरानका लागि 'डे जीरो'को अर्थ के हुन्छ

व्यवहारमा 'डे जीरो'अन्तर्गत अस्पताल तथा अरू अत्यावश्यक सेवाहरूलाई प्राथमिकतामा राखिने छ भने घरहरूमा पालैपालो पानी आपूर्ति गरिने छ।

अधिकारीहरूले पालैपालो पानी उपलब्ध गराउन सक्छन्।

धनीमानीहरूले छतमा ट्याङ्की राख्न सक्छन् भने गरिबहरूले सङ्घर्ष गर्नुपर्ने हुन्छ।

"मानिसहरूमा निकै सहनशीलता हुन्छ र उनीहरूले छिटै अनुकूलन गर्ने छन्," इरानको वातावरण महाशाखाका पूर्वप्रमुख तथा प्राध्यापक कावेह मदनीले भने।

"मेरो ठूलो चिन्ता भनेको… यदि आउँदो वर्ष पनि सुक्खा भयो भने अर्को वर्षको गर्मी झन् भयावह हुने छ।"

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सि-ओ-से-पल ब्रिजको सन् २०२३ जुन ५ को पुलमुनि पानी भएको तस्बिर र दुई वर्षपछि सन् २०२५ को फेब्रुअरी २२ मा पानी सुकिसके पछिको तस्बिर

बीबीसीले पानी अभावसँग जुझ्ने देशको योजनाबारे इरानको विदेश मन्त्रालय, लन्डनस्थित इरानी राजदूतावास र महावाणिज्य दूतावासलाई सोधेको छ।

तर उनीहरूले इमेलको र दूतावासलाई पठाइएको पत्रको उत्तर दिएका छैनन्।

तस्बिर स्रोत, NurPhoto / Getty Images

तस्बिरको क्याप्शन, पर्यटकीय आकर्षणका रूपमा ऐतिहासिक खजु पुल रहेको जायन्देह रुद नदी पशुपक्षीका लागि महत्त्वपूर्ण थियो, जुन कुरा सन् २०२० को डिसेम्बर १८ मा खिचिएको तल्लो तस्बिरमा देखिन्छ। तर त्यो अहिले सुकिसकेको सन् २०२१ को डिसेम्बर १४ मा खिचिएको माथिल्लो तस्बिरमा देखिन्छ

जलाशयमा पानीको मात्रा निकै कम

राजधानी तेहरान इरानको सबैभन्दा ठूलो सहर हो। त्यहाँ झन्डै एक करोड मानिसको बसोबास छ।

पानीका लागि तेहरान पाँचवटा जलाशयमा भर पर्छ।

तीमध्येको लार बाँध एकदमै सुकेको छ। उक्त जलाशय सामान्य क्षमताको एक प्रतिशतमा मात्र सञ्चालन भइरहेको त्यसको व्यवस्थापन गर्ने कम्पनीले जनाएको छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, तेहरानलाई पानी आपूर्ति गर्ने अमिर कबिर बाँधमा पानीको मात्रा अहिलेसम्मकै न्यून बिन्दुमा पुगेको छ

राष्ट्रपति मसूद पेजेश्किआनले मानिसहरूलाई कम्तीमा २० प्रतिशतले पानीको खपत घटाउन आग्रह गरेका छन्।

गत वर्षको तुलनामा जुलाई महिनामा १३ प्रतिशतले माग घटेको आधिकारिक तथ्याङ्कले देखाउँछ।

तर अधिकारीहरूका अनुसार थप १२ प्रतिशतले माग घट्न जरुरी छ जसले गर्दा सेप्टेम्बर र अक्टोबरसम्म आपूर्तिलाई जारी राख्न सकिन्छ।

सुक्खादेखि 'पानीमा टाट' पल्टेको अवस्थासम्म

गत वर्षयता लामो समयदेखिको औसतभन्दा ४०-४५ प्रतिशतले कम पानी परेको आधिकारिक तथ्याङ्कले देखाउँछ।

केही प्रान्तहरूमा ७० प्रतिशतभन्दा बढीले कम वर्षा भएको पाइएको छ। तर जलवायु परिवर्तन कथाको एउटा मात्र पाटो हो।

"यो जलसङ्कट मात्र होइन," मदनी तर्क गर्छन्, "यो त 'वाटर ब्याङ्क्रप्सी' (पानीमा टाट पल्टिनु) पनि हो- त्यस्तो अवस्था जहाँ क्षति पूर्णतः मेटेर पुरानो अवस्थामा फर्काउन सकिँदैन र न्यूनीकरणको कदम पर्याप्त हुँदैन।"

दशकौँदेखि इरानले प्रकृतिले उपलब्ध गराउनेभन्दा बढी पानी प्रयोग गरेको छ - सुरुमा नदी तथा जलाशयहरूको पानी झिकेर र पछि भूमिगत पानीको दोहन गरेर।

"यो समस्या खडेरीका कारणले मात्र निम्तिएको होइन," मदनी भन्छन्। "जलवायु परिवर्तनले स्थिति खराब बनाउनुभन्दा धेरै पहिला कुशासन र अत्यधिक प्रयोगले सङ्कट निम्त्याइसकेको थियो।"

तस्बिर स्रोत, Anadolu via Getty Images

तस्बिरको क्याप्शन, होज-ए सोल्तान सल्ट लेक लगभग सुकिसकेको छ

चुहावट

तेहरानमा प्रशोधितमध्ये २२ प्रतिशतसम्म पानी पुराना पाइपहरूबाट चुहावट हुने गरेको छ।

यद्यपि पानी आपूर्ति प्रणालीमा विश्वभरि यस्तै समस्या देखिने गरेको छ। वाटर न्यूज युरोपका अनुसार युरोपेली सङ्घमा २५ प्रतिशत पानी चुहावट भएर खेर जाने गरेको हुन्छ।

मक्किन्सी एन्ड कम्पनीका अनुसार अमेरिकामा प्रशोधित पानीमध्ये १४ देखि १८ प्रतिशतसम्म चुहावट हुने गरेको छ भने पानी वितरण गर्ने कतिपय संस्थानहरूका अनुसार ६० प्रतिशत पानी चुहावट भएर ढलमा मिसिन्छ।

इरानको भूमिगत पानी सन् १९७० को दशकयता अत्यधिक रूपमा प्रयोग भएको छ। कतिपय अनुमानका अनुसार ७० प्रतिशतभन्दा बढी भण्डारण सकिएको छ।

कतिपय जिल्लाहरूमा जमिन हरेक वर्ष २५ प्रतिशतले भासिँदै छ। त्यसले पानीको ह्रासलाई अझ तीव्र पार्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, भिडिओ हेर्नुहोस्ः काजेरूनमा पानी र बिजुली आपूर्ति बन्द भएको विरोधमा आयोजित सभामा मानिसहरू "पानी, बिजुली र जीवन हाम्रा अभिन्न अधिकार हुन्" भनेर नारा लगाउँदै छन्

ऊर्जा समस्याः जब सुक्खा बाँधका कारण बिजुली बत्ती धिपधिपाउन थाल्छ

पानीको अभावले ऊर्जाको समस्या निम्त्याएको छ।

जलाशयहरू सुक्दा जलविद्युत्‌ आयोजना धराशायी बनेका छन् र एअर कन्डिशनिङ तथा पानी तान्न बिजुलीको प्रयोग बढ्दा ग्यासले चल्ने प्लान्टहरूले माग धान्न धौधौ भइरहेको छ।

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, अमिर कबिर बाँधमा जलस्तर अहिलेकै न्यून बिन्दुमा पुगेको छ

जुलाईमा समाचार संस्था इर्नाले रिपोर्ट गरेअनुसार बिजुलीको माग ६९,००० मेगावाटसम्म पुगेको थियो। बिनाअवरोध आपूर्ति गर्न झन्डै ६२,००० मेगावाट बिजुली भयो भने पर्याप्त हुन्छ।

दैनिक दुईदेखि चार घण्टासम्म लोडशेडिङ हुनु सामान्य हो।

समाचारहरू तथा राजनीतिज्ञहरूका अनुसार बिजुली अभावले सबैभन्दा धेरै विपन्न मानिसहरूलाई मार परेको छ जसले जेनरेटरहरू किन्न सक्दैनन्।

तस्बिर स्रोत, AFP via Getty Images

सरकारको प्रतिक्रिया

इरानका ऊर्जामन्त्री अब्बास अलीअब्बादीले भनेः "पिउने पानी उपलब्ध गराउनु प्राथमिकता हो र सबैलाई उपलब्ध गराउनैपर्छ।"

पानी जोगाउने प्रयासबारे उल्लेख गर्दै उनले भने, "यो वर्ष अवलम्बन गरिएका उपायका कारण हामीले पहिला ल्याउने गरेकोभन्दा तीन गुनाले बढी पानी जोगाउन सकिरहेका छौँ।"

धेरै ऊर्जा चाहिने क्रिप्टोकरेन्सी माइनिङका लागि अनुमति दिएकोमा सरकारको आलोचना हुने गरेको छ।

कतिपय क्रिप्टो सञ्चालकहरूको राजनीतिज्ञहरूसँग सम्बन्ध रहेको आरोप छ।

जबाफमा अधिकारीहरूले अवैध साइटहरूलाई कारबाही भइरहेको र सर्वसाधारण मानिसका घरपरिवारलाई पानी उपलब्ध गराउने कुरालाई प्राथमिकता दिइएको बताएका छन्।

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, परम्परागत बलिची पोसाक लगाएका एक व्यक्ति हामुन ताल संरक्षणसम्बन्धी सरकारी नीतिको विरोधमा भएको प्रदर्शनमा सहभागी हुँदै

सडकमा आक्रोशसँगै, भूराजनीतिक हस्तक्षेप

धेरै अभाव देखिएका खुजेस्तान र सिस्तान-बलुचेस्तानसहित विभिन्न प्रान्तहरूमा विरोधप्रदर्शन हुन थालेको छ।

प्रदर्शनकारीहरूले "पानी र बिजुलीमा पहुँच र जीवन" आधारभूत अधिकार हो भन्दै नाराबाजी गरेका छन्।

इनार र नहरहरू सुक्दै गर्दा वातावरणीय प्रभावका कारण बसाइँसराइ बढ्दो छ।

धेरै परिवारहरू जागिर, सेवा तथा राम्रा पूर्वाधारको खोजीमा तेहरान सरेका छन्।

विस्थापित मानिसहरू तेहरानमा बढिरहँदा त्यसले बढ्दो अस्थिरताको आगोमा घ्यू थप्ने विश्लेषकहरूको चेतावनी छ।

तस्बिर स्रोत, Abedin Tahernkenareh / EPA / Shutterstock

तस्बिरको क्याप्शन, इरानको उत्तरी भेगमा अवस्थित फाशमको नदी अहिले लगभग सुकिसकेको छ

यो सङ्कट भूराजनीतिमा समेत फैलिएको छ। इजरेलसँग सन् २०२५ को जुन महिनामा भएको द्वन्द्वपछि इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले नुनिलो पानीलाई प्रशोधन गर्ने र पुनर्प्रयोगसम्बन्धी आफ्नो देशका प्रविधिहरूबारे प्रकाश पारेका छन्।

इरानी जनताप्रति लक्षित सन्देशमा उनले "इरान स्वतन्त्र भएपछि" ती प्रविधिहरूको फाइदा उनीहरूले लिन सक्ने बताए।

गाजामा जारी मानवीय सङ्कटलाई देखाउँदै इरानी राष्ट्रपति पेजेश्किआनले नेतन्याहूको भनाइलाई राजनीतिक नाटकको सङ्ज्ञा दिएका छन्।

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, इरानको उत्तरी भेगमा अवस्थित अल्बोर्ज पर्वतशृङ्खलाबाट निस्किने कराज नदीमा निर्मित अमिर कबिर बाँधले बनाएको जलाशयबाट तेहरानमा पानीको आपूर्ति हुन्छ

विश्वव्यापी चेतावनी

ड्यान्यल त्सेगाईका अनुसार जलवायु परिवर्तन अनि जल र जमिनको अत्यधिक प्रयोगका कारण संसार मानवसिर्जित सुक्खाको युगमा प्रवेश गर्दै छ। अभाव, भूक्षरण (जमिनले लाभ दिने क्षमता घट्नु) र कमजोर शासन व्यवस्थाको संयुक्त प्रतिफल कस्तो हुन्छ भन्ने उदाहरण इरान भएको उनको धारणा छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वभरि सन् २००० यता सुक्खा २९ प्रतिशतले बढेको छ। यो प्रवृत्ति जारी रह्यो भने सन् २०५० सम्म चार मानिसमध्ये तीन जना सुक्खाबाट प्रभावित हुन सक्ने छन्।

दक्षिण अफ्रिकाको केप टाउनमा सन् २०१५ देखि २०१८ सम्म सुक्खा पर्दा उक्त सहरले प्रतिव्यक्ति उपयोग गर्न पाउने पानीको मात्रा र शुल्क निर्धारण गरिदियो। उक्त कदमलाई दूरदर्शी प्रतिक्रियाको मोडलका रूपमा प्रायः प्रस्तुत गरिन्छ।

"हामीले प्राविधिक समाधान थाहा छ – हामीले गर्नुपर्ने कुरा ज्ञानलाई नीतिमा ढाल्नु र नीतिलाई अभ्यासमा लैजानु हो," त्सेगाईले भने।

"प्रश्न सुक्खा आइपर्छ कि पर्दैन भन्ने हैन, बरु कहिले आइपर्छ भन्ने हो।"

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, तेहरानमा पानी आपूर्ति गर्ने लाटियन बाँधमा अहिले पानीको सतह अहिलेसम्मकै न्यूनबिन्दुमा पुगेको छ। यो तस्बिर ८ मे २०२५ मा खिचिएको हो

भविष्यमा के होला

विज्ञहरू समाधानका लागि उपायहरू भएको तर त्यसका लागि तत्काल जल, ऊर्जा र भूमिसम्बन्धी नीतिमा संयोजित कार्य गर्न आवश्यक भएको औँल्याउँछन्।

पानीको पुनर्प्रयोग, ड्रिप इरिगेशन (थोपा सिँचाइ) र आपूर्तिमा सुधार गर्दै इरानले सात वर्षको अवधिमा देशभरि जल उपयोगको मात्रा प्रतिवर्ष ४५ अर्ब क्यूबिक मिटरले घटाउने उद्घोष गरेको छ।

यति महत्त्वाकाङ्क्षी लक्ष्य अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धहरू, कर्मचारीतन्त्र र न्यून लगानीका कारण ढिलो प्राप्त हुने अवस्था छ।

"अन्ततः इरानले आफू पानीमा टाट पल्टिएको अवस्थामा पुगेको स्वीकार गर्नुपर्छ," पर्यावरणवादी कावेह मदानी भन्छन्। "सरकारले जति ढिलो विफलता हात परेको मान्छ र विकासको अर्को मोडललामा लगानी गर्नपट्टि लाग्छ, पतन हुनबाट जोगिने सम्भावना पनि उति नै कम हुन्छ।"

उनी कडा चेतावनी दिन्छन् – गर्मी याममा पनि तेहरानका धाराबाट पानी आउँछ कि आउँदैन भन्ने कुरा मौसमले निर्धारण गर्दैन, बरु सरकारी निकायहरूले कति चाँडो काम गर्न सक्छन् भन्ने कुराले फरक पार्छ।

तस्बिर स्रोत, Abedin Tahernkenareh / EPA / Shutterstock

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।