वयस्कले मानिसको स्तनबाट आउने दूध पिउँदा हुने लाभबारे प्रमाणित कुरा कति, के यो प्रवृत्ति ठिक हो

तस्बिर स्रोत, Getty Images
- Author, सोफिआ बेटिजा
- Role, बीबीसी विश्व सेवा
- पढ्ने समय: ६ मिनेट
बोलीचालीको भाषामा यसलाई प्रायः "तरल सुन" भन्ने गरिन्छ। केही विज्ञहरू यसलाई "जादुयी शक्ति" को स्रोत पनि मान्छन्।
आमाको दूधले बच्चाहरूका लागि पोषक तत्त्व र एन्टिबडीहरू प्रदान गर्ने कुरामा वैज्ञानिकहरू सहमत छन्। त्यो उनीहरू वृद्धि विकासका लागि आवश्यक छ। तर केही वयस्कहरू यसलाई त्यसको सुपरफूड क्षमताका लागि प्रयोग गर्छन्।
३९ वर्षीय जेमिसन रिटेनर तीन सन्तानका बुबा हुन्। उनले आफ्नो पार्टनर मेलिसाले स्तनपान गराइरहेको समयमा पहिलो पटक उनको दूध सेवन गरेका थिए।
आफ्नी पार्टनरको अधिक उत्पादन हुने दूध उनले पिउने गर्थे।
"उनी अचम्म माने पनि मैले यसलाई मेरो शेकमा मिसाएँ," जेमिसनले बीबीसीलाई भने।
एक बडीबिल्डरले त्यसरी पिउँदा हुने प्रभावहरूको बारेमा कुरा गरेको एक युट्युब भिडियो हेरेपछि जेमिसन मानव दूधका फाइदाहरू बारेमा उत्सुक भएका थिए।
"ती भयङ्कर ठूला थिए," जेमिसनले भने।

तस्बिर स्रोत, Jameson Ritenour
आफ्नो सन्तानलाई स्तनपान गराइरहेकी आफ्नी पार्टनरको दूध पिउनु जेमिसनको दिनचर्या नै बन्यो।
लगभग आठ आउन्सका उनीसँग दैनिक दुई झोला हुन्थे।
"सायद म जीवनको सबैभन्दा राम्रो अवस्थामा थिएँ," उनले बीबीसीलाई भने।
"यसले साँच्चिकै मलाई मांसपेशी दह्रो पार्न मद्दत गरिरहेको थियो। मेरो तौल घटिरहेको थियो भने झण्डै आठ सातामा लगभग ५ प्रतिशतले मांसपेशीको भार पनि बढाइरहेको थिएँ।"
जेमिसनका अनुसार मानिसको स्तनबाट आउने दूधलाई आहारको रूपमा थालेपछि उनी कहिल्यै बिरामी परेको वा रुघाखोकी लागेको याद गर्दैनन्।
"म बच्चाजस्तै बढ्न र बच्चाजस्तै सुत्न चाहन्थेँ, त्यसैले मैले पनि बच्चाजस्तै खाने निर्णय गरेको थिएँ," उनले भने। "म राम्रो महसुस गर्नुका साथै राम्रो देखिएँ।"
अनलाइनबाट किन्नु जोखिमयुक्त
वैज्ञानिकहरूका अनुसार आमाको दूध पिउनुले वयस्क शरीरलाई पुग्ने लाभबारे कुनै वैज्ञानिक प्रमाण देखिँदैन।
तर यस विषयका अग्रणी विज्ञहरू चाहिँ समय क्रममा र बारम्बार देखिएका प्रमाणका भरमा यी फाइदाजनक हुन सक्ने औँल्याउँछन्।
"यसमा प्रशस्त प्रोटिन हुन्छ - बच्चाको मांसपेशी धेरै छिटो बढ्छ र बडीबिल्डरहरू अवश्य पनि यही चाहन्छन्," अमेरिकाको सान डिएगोस्थित क्यालिफोर्निया यूनिभर्सिटीको ह्युमन मिल्क इन्स्टिच्युटका संस्थापक निर्देशक डाक्टर लस बोडले भने।
"धेरैजसो बडीबिल्डरहरू आफ्नो शरीर अनुकूल हुन चाहन्छन्, त्यसैले यसमा केही न केही हुन सक्छ। हामीलाई यसको पछाडिको विज्ञान थाहा छैन।"
तर हालको अवस्थामा सावधानी अपनाउन डाक्टर बोडको सल्लाह छ।
किनकि मानव दूध प्रायः फेसबुक, क्रेगलिस्ट र रेडिटमा शङ्कास्पद स्रोतहरूमार्फत खरिद गरिन्छ।
"त्यो दूध परीक्षण गरिएको छैन र त्यहाँ महत्त्वपूर्ण स्वास्थ्य जोखिमहरू छन्," डा बोडले चेतावनी दिए। "यो एचआईभी वा हेपाटाइटिसजस्ता रोगहरूको वाहक हुन सक्छ।"
स्तनको दूध पनि यसलाई उत्पादन गर्ने व्यक्तिको आहार र उनको स्वास्थ्य अनुसार मात्र राम्रो हुन्छ। जसको कारण यो धेरै सङ्क्रमणहरूको लागि एक वाहक हुन सक्छ।
महिलाहरूले प्रायः नियन्त्रित वा निसङ्क्रमित नपारिएको वातावरणमा दूध पम्प गर्ने हुँदा दूध सजिलै दूषित हुन सक्छ।
अमेरिकाको नेशनवाइड चिल्ड्रेन्स हस्पिटलले सन् २०१५ मा गरेको एक अध्ययनले अनलाइनबाट खरिद गरिएका १०१ वटा मानव दूधका नमूनाहरूमध्ये ७५ प्रतिशतमा हानिकारक प्याथोजिनहरू थिए र १० प्रतिशत नमूनाहरू गाईको दूध वा 'बेबी फर्मुला'सँग मिसाइएका थिए।

तस्बिर स्रोत, Jameson Ritenour
जेमिसन आफ्नी पार्टनर मेलिसासँग अलग भएपछि फ्रिजरमा भण्डारण हुने गरेको उनको दूधमा पहुँच हुन छाड्यो र उनले अनलाइनबाट त्यो किन्न सुरु गर्ने निर्णय गरे।
त्यसबेला दूध दूषित हुने जोखिमको बारेमा आफूलाई थाहा नभएको उनी बताउँछन्।
"मैले इन्टरनेटमा झट्ट भेटिएका एक व्यक्तिबाट यो किनेको थिएँ, तर मैले फेसबुकमा केही अनुसन्धान गर्दा उनी सामान्य देखिन्थिन्," जेमिसनले भने। "त्यसैले मैले हेरिराखौँ न भन्ने सोचेँ।"
यसबारे वैज्ञानिक तथ्याङ्कको अभाव रहेको कुराले उनलाई खासै फरक पार्दैन। यसबारे उनको आफ्नै अनुभव अत्यन्तै सकारात्मक रहेको जेमिसन सुनाउँछन्।
उनले झेलेको कम सकारात्मक कुरा चाहिँ त्यसप्रति मानिसहरूले लिने दृष्टि थियो।
"मानिसहरूले मलाई पक्कै पनि छड्किएर हेरे किनभने दूध बच्चाहरूको लागि हो भन्ने मानसिकता छ। तर यो मानिसहरूले सोचेजस्तो अनौठो छैन।"
जोखिममा रहेका शिशुहरूलाई अन्याय!

तस्बिर स्रोत, Getty Images
"म वयस्कहरूलाई कहिल्यै पनि आमाको दूध पिउन भन्दिनँ," मानव स्तनको दूधले शिशुको स्वास्थ्यलाई पुर्याउने लाभबारे अनुसन्धान गरेकी डा मेघन आजादले भनिन्।
"मलाई यसले उनीहरूलाई हानि पुर्याउँछ भन्ने त लाग्दैन तर आमाको दूध साँच्चै चाहिने बच्चाहरूलाई त्यसले असर पुर्याउँछ। जस्तो समय नपुगिकनै जन्मेका बच्चाहरू यो प्राप्त गर्न सङ्घर्ष गरिरहेकाहरूलाई हानि हुन सक्छ।"
डा बोडका अनुसार अतिरिक्त मात्रामा मानिसको स्तनबाट आउने दूध नाफाको लागि बेच्नुको सट्टा खाँचोमा परेका बच्चाहरूलाई दान गर्नुपर्छ।
"हामीसँग सबैभन्दा कमजोर अवस्थामा रहेका शिशुहरूलाई खुवाउन पर्याप्त दूध छैन। आमाको दूधमा हुने गुणहरूले समय अगावै जन्मिने शिशुहरूका रोग निको पार्न सक्छ। यो जीवनदायी हुन सक्छ।"
डा आजादले औँल्याए अनुसार जीवनका लागि सङ्घर्षरत आमाहरूले बडीबिल्डरहरूलाई अनलाइनमा दूध बेचेर पैसा कमाउन सक्छन् भन्ने सोच्छन् भने त्यसले वयस्कहरूको लागि आमाको दूध किन्ने बढ्दो र जोखिमपूर्ण प्रवृत्तिलाई अझ बढावा दिन सक्छ।
तर जेमिसन भने त्यसो गरेर आफूलाई ग्लानि महसुस नभएको बताउँछन्।
"मानिसहरू मलाई बच्चाहरूलाई भोकै छाडेको आरोप लगाउँछन्। तर मैले अस्पतालबाहिर उभिएर आमाहरूलाई उनीहरूको सबै दूध दिन आग्रह गरेको भन्ने पनि होइन!"
खासमा उनले आफूलाई एक सय जनाभन्दा बढी महिलाहरूले बढी भएको आफ्नो दूध बेच्ने प्रयास गर्दै सम्पर्क गरेको बताउँछन्।
सम्भावित स्वास्थ्यलाभ!
मानव दूधका विषयमा धेरै अनुसन्धान हुनै बाँकी छ।
"लामो समयसम्म यस अनुसन्धानलाई पैसा दिने मानिसहरूले आमाको दूधको वास्ता नै गर्दैनथे। किनकि उनीहरू यसलाई महिलाको महत्त्व नभएको विषयको रूपमा हेर्थे," डा आजादले भनिन्। "यो पितृसत्तात्मक दृष्टिकोण हो।"
तर त्यो परिवर्तन हुँदैछ।
वयस्कहरूले आमाको दूध पिउने चिन्ता विपरीत केही पक्षहरू अब सम्भावित उपचारको रूपमा अध्ययन गरिँदैछ। जस्तो वयस्कहरूमा हुने बाथ रोग , मुटु रोग, क्यान्सर र इरिटेबल बावेल सिन्ड्रोम सहित आदि पर्छन्।

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
डा आजाद ह्युमन मिल्क ओलिगोस्याकराइड्स (एचएमओज) को सम्भावित स्वास्थ्य लाभलाई लिएर विशेष रूपमा उत्साहित छिन्। ती आमाको दूधमा पाइने प्रीबायोटिक फाइबर हुन्।
यी फाइबरहरू मानिसहरूले पचाउँदैनन्। तर यो बच्चाहरूमा स्वस्थ माइक्रोबायोमलाई बढावा दिन लाभदायक पेटका ब्याक्टेरियाले प्रयोग गर्छन्।
"अनुसन्धानकर्ताहरूले एचएमओज वयस्कहरूका लागि आन्द्रा सुजन हुने रोगजस्ता अवस्थाहरूमा सघाउन प्रयोग गर्न सकिन्छ कि भनेर हेरिरहेका छन्," डा आजाद भन्छिन्।
"माइक्रोबायोम हाम्रो स्वास्थ्यका धेरै पक्षहरूका लागि महत्त्वपूर्ण छ भन्ने हामीहरूलाई थाहा छ। त्यसैले यदि हामीले आन्द्राको माइक्रोबायोमलाई प्रभाव र सुधार गर्ने नयाँ तरिकाहरू पत्ता लगाउन सक्छौँ भने त्यसले सबै खाले लाभ दिन सक्छ। र, आमाको दूधलाई लिएर एचएमओजले धेरै आशा देखाइरहेको छ।"
सन् २०२१ मा प्रकाशित मुसाहरूमा गरिएको एक अध्ययनमा डा बोडले पत्ता लगाए अनुसार एउटा एचएमओले एथेरोस्क्लेरोसिसको विकासलाई घटायो। धमनीहरूमा हुने त्यस्तो अवरोधले हृदयाघात र स्ट्रोक निम्त्याउँछ।
"मानव दूधमा हुने विविध तत्त्व उल्लेखनीय रूपमा अद्वितीय छन्," डा बोडले भने। "मानिसहरूले मानिसहरूका लागि विकसित गरेको यो एक मात्र चीज हो।"
कृत्रिम कम्पाउन्डहरूमार्फत विकसित धेरैजसो औषधिभन्दा फरक मानिसहरूले आफ्नो शरीरमा राख्ने मानव दूधका कम्पाउन्डहरू सम्भवतः बढ्ता सुरक्षित र प्रभावकारी हुन्छन्।
तर उनीहरूले महत्त्वपूर्ण आशा राखे तापनि क्लिनिकल डेटा अझै पनि अपर्याप्त छ।
यदि जारी क्लिनिकल अध्ययनहरू सफल भएमा यी कम्पाउन्डहरूले हरेक वर्ष लाखौँको ज्यान लिने हृदयाघात र स्ट्रोक रोक्नमा खास भूमिका खेल्न सक्छन्। यी अध्ययनहरू सफल हुनेमा डा बोड विश्वस्त छन्।
"हृदयाघात र मस्तिष्कघातबाट मृत्यु हुने मानिसहरूको सङ्ख्यालाई लाखौँले घटाउन सक्षम हुने कल्पना गर्नुहोस्। यो एक नाटकीय विकास हुनेछ," डा. बोडले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

























