दशैँ: खानेहरूले कस्तो मासु खाने र कति मासु स्वास्थ्यका लागि उपयुक्त
तस्बिर स्रोत, RSS
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- पढ्ने समय: ६ मिनेट
मांसाहारी परिकार रुचाउनेहरूका लागि दशैँ खसी, बोका, च्याङ्ग्रा र राँगा/भैँसीका अनेक परिकारको चाड पनि हो।
पाका व्यक्तिहरूका अनुसार केही दशक अघिसम्म मात्रै पनि धीत मर्ने गरी मासुका परिकार खाने चाड दशैँ मात्रै थियो। ढुवानी सुविधा र मासुका लागि व्यावसायिक पशुपालन गर्ने अभ्याससँगै अहिले बाह्रै महिना मासुका परिकार उपलब्ध हुने भए पनि दशैँमा जनावरको बली दिने र मासुका परिकार खाने परम्परा छ।
कतिपय मासुका परिकारले निश्चित स्वास्थ्य अवस्था भएका व्यक्तिहरूका लागि जोखिम निम्त्याउने विज्ञहरू बताउँछन्।
पोषणविद् उमा कोइरालाका अनुसार मानव स्वास्थ्यका लागि रातो मासु अर्थात 'रेड मिट' का फाइदा र बेफाइदा दुवै छन्। तर दशैँमा 'रेड मिट' धेरै खाने प्रचलन रहेका कारण यसको मात्रामा ध्यान दिनुपर्ने उनको सुझाव छ।
रेड मिट र ह्वाइट मिटका स्रोत के हुन्?
तस्बिर स्रोत, RSS
खासगरी स्तनधारी जनावरका मांसपेशी 'रेड मिट' को प्रमुख स्रोत रहेको विज्ञहरू बताउँछन्। खसी, बोका, राँगा वा भैँसीको मासु रेड मिटको वर्गमा पर्ने पोषणविद् कोइराला बताउँछिन्। भेडा र च्याङ्ग्राको मासुलाई केही नरम किसिमको 'रेड मिट'को वर्गमा राख्ने गरिएको छ।
विज्ञहरूले चराचुरुङ्गी वा पोल्ट्रिजन्य उत्पादनलाई सेतो मासु अर्थात 'ह्वाइट मिट'को वर्गमा राखेका छन्। नेपालमा मासुका लागि प्रयोग गरिने कुखुरा, टर्की, परेवा लगायतका पन्छीजन्य उत्पादनलाई 'ह्वाइट मिट' को वर्गमा राख्ने गरिएको कोइराला बताउँछिन्।
रेड मिटका फाइदा
तस्बिर स्रोत, Nisha Bhandari
पोषणविद्हरूका अनुसार रेड मिटमा मानव शरीरका लागि चाहिने आइरन प्रशस्त मात्रामा पाइन्छ। त्यसैगरी रेड मिटमा जिङ्क र भिटामिन बी पनि हुन्छ।
भीटामिन बी-१२ र बी कम्प्लेक्स कम हुने व्यक्तिहरूलाई चिकित्सकहरूले नै रेड मिट सिफारिस गर्ने गरेको पोषणविद् कोइराला बताउँछिन्।
रेड मिटमा मानव शरीरका लागि नभइ नहुने एमिनो एसिड पनि पाइने विज्ञहरूले बताएका छन्।
"एमिनो एसिड भनेको प्रोटिन बनाउने तत्व हो। सबै किसिमको जनावरका उत्पादनमा एमिनो एसिड राम्रैसँग पाइन्छ र यो तुरुन्त शरीरले शोषण गरेर लिइपनि हाल्छ," कोइराला भन्छिन्।
विशेषगरी बिरामी भएर तङ्ग्रिने चरणमा रहेका र अपरेशनपछिको स्वास्थ्य अवस्थाका लागि रेड मिट फाइदाजनक हुने अध्ययनहरूले देखाएका छन्।
"धेरै कमजोर हुने, एनिमिया हुने र अपरेशनपछि मान्छेलाई तागतिलो पदार्थ खुवाउनु पर्छ त्यस्तो अवस्थामा साधारणतया रेड मिट खान सिफारिस गरिन्छ," पोषणविद् कोइराला भन्छिन्।
रेड मिटका बेफाइदा पनि छन्
"रेड मिटमा सुक्ष्म किसिमका पौष्टिक तत्व र भिटामिन हुन्छ तर त्यससँगै बोसो पनि हुन्छ," कोइराला भन्छिन्।
रेड मिटमा पाइने बोसो चाहिँ शरीरमा जम्मा भएर बसेको अवस्थामा त्यसले कैयौँ स्वास्थ्य समस्या निम्त्याउन सक्ने पोषणविद्हरूको चेतावनी छ।
यसमा आइरन र प्रोटिन धेरै हुने भएका कारण यसलाई राम्रोसँग पचाउन नसकेको अवस्थामा त्यसले मुटु, मिर्गौला र बाथको समस्या बढाउन सक्ने कोइराला बताउँछिन्।
"शरीलाई चाहिने जति शरीरले लिन्छ नचाहिने प्रोटिन फेरी उपयोगका लागि भण्डारण गरेर राख्छ," उनी भन्छिन्।
"शरीर सक्रिय भएन भने त्यो थुप्रिएर रहन्छ र त्यो चाहिँ मिर्गौला तिर, जोर्नीहरूमा थुप्रिएर रहन सक्छ। त्यसले बाथ हुन सक्छ र मिर्गौला सम्बन्धी समस्या हुन सक्छ। प्रोटिनले रगत बन्न पनि मद्दत गर्ने हुनाले यो धेरै भयो भने मुटु सम्बन्धी रोगहरू पनि हुन सक्छ।"
विभिन्न अध्ययनहरूले धेरैजसो नसर्ने रोगहरूको कारक मासुजन्य उत्पादन भएको देखाएका छन्।
ह्वाइट मिटका फाइदा र बेफाइदा
ह्वाइट मिटमा रेड मिटमा जस्तो धेरै पोषक तत्व नहुने भए पनि यसको जोखिम कम रहेका कारण कैयौँ मानिसहरूमा पछिल्लो समय पन्छिजन्य मासु लोकप्रीय बन्दै गइरहेको छ।
"आइरन र जिङ्क त्यति धेरै हुँदैन। बाँकी भिटामिनहरू चाहिँ हुन्छ। यो नरम किसिमको हुने भएका कारण सहजै पच्छ पनि। त्यही भएर ह्वाइट मिटलाई बढि सिफारिस गर्ने गरिन्छ," उनी भन्छिन्।
बाथ रोग हुने व्यक्तिहरूका लागि रेड मिटको तुलनामा ह्वाइट मिट सुरक्षित हुने कोइरालाको भनाई छ।
कसरी खाने, कति खाने
पोषणविद् र विज्ञहरू निश्चित मात्रासम्म रेड मिटले साधारण स्वास्थ्य अवस्थाका मानिसलाई फाइदा नै पुर्याउने बताउँछन्।
"दशैँमा हामी रेड मिट नाखनु भन्न सक्दैनौँ। दशैँमा खसीको मासु पर्यायवाची शब्द जस्तै हो," पोषणविद् कोइराला भन्छिन्।
"कबाफ बनाएर खाने चलन छ। त्यो धेरै चिल्लो पनि हुने र मसला पनि प्रशस्तै हुन्छ। बरु सुप बनाएर खानुस्। अथवा उसिनेर नुख खुर्सानी जिरा चोपेर खायो भने पनि मिठो हुन्छ। थोरै चिल्लो हालेर पकाएर खाने तरिका पनि छ।"
मासुमा बोसो पनि हुने भएकाले त्यसमा धेरै चिल्लो हालेर पकाउँदा अस्वस्थकर हुने उनी बताउँछिन्।
दशैँको समयमा कैयौँ घरहरूमा बली दिने प्रचलनका कारण खसीका कैयौँ अङ्गका फरकफरक परिकार बनाएर खाने अभ्यास पनि छ। तर पोषणविद् कोइराला 'अर्गान मिट' बाथ वा मधुमेह जस्ता दीर्घ रोग भएका मानिसहरूका लागि स्वस्थकर नहुने बताउँछिन्।
"सामान्य स्वास्थ्य अवस्थाका मानिसले अलिअलि खाँदा पनि हुन्छ। तर मुटु, मधुमेह, बाथ रोग वा मिर्गौलाको समस्या छ भने अर्गान मिट नखानु त्यसमा धेरै प्रोटिन हुन्छ," उनको सुझाव छ।
पोषणविद्हरूले मासु खाने आनिबानी, जीवनस्तर र जीवनशैली लगायतका विभिन्न मापदण्डका आधारमा एक जना वयस्क मानिसका लागि कति मात्रासम्म मासुको सेवन उचित हुन्छ भन्ने सुझाउने गरेका छन्।
त्रिभूवन विश्वविद्यालयमा प्राध्यापक समेत रहेकी पोषणविद् कोइराला औषत नेपालीहरूले दैनिक २०० ग्रामसम्म मासु सेवन गर्दा बेफाइदा नहुने अध्ययनहरूका सिफारिस रहेको बताउँछिन्।
"हाम्रोमा ५० किलोग्राम तौल भएको स्वस्थ र वयस्क व्यक्तिले ५० ग्राम प्रोटिन खानुपर्छ। त्यसका लागि दैनिक २०० ग्राम मासु खानुपर्छ," उनले भनिन्।
शहरी इलाकामा बस्ने र नियमित जस्तो मासु खाइरहने व्यक्तिले भने १७० ग्राम मात्रै मासु खानु राम्रो हुने उनको सुझाव छ।
कुन जनावरको परिकार स्वादिष्ट
तस्बिर स्रोत, RSS
पोखरास्थित क्रसरोड थकाली भान्साका सञ्चालक वीरेन्द्र शेरचन स्थानीय स्तरमा पालिएका र लेकाली चरन क्षेत्रमा हुर्किएका घरपालुवा जनावरहरूको स्वाद तिक्खर हुने बताउँछन्।
"भेडा, च्याङ्ग्रा, खसी, बोका र राँगाको मासुमा फरक भनेको स्वादको तिक्खरपन नै हो। माथि लेकमा चिसोमा प्राकृतिक वातावरणमा पालिएको भएर त्यसमा एउटा विशिष्ट स्वाद हुन्छ," शेरचन भन्छन्।
उनका अनुसार हिमाली जिल्लामा हुर्किएका भेडा, च्याङ्ग्राले यार्सागुम्बा लगायतका जडीबुटी खाएर हुर्किएका हुन्छन्।
आफूलाई मिस्टर फूडी नेपाल भनेर चिनाउने खानेकुरा सम्बन्धी कन्टेन्ट क्रिएटरको बुझाइ पनि शेरचनसँग मिल्दोजुल्दो छ।
"हिमालतिर मात्रै पाइने भयो। च्याङ्ग्राको मासुको स्वाद अझै गाढा आउँछ भन्ने मेरो अनुभवले भन्छ। म त्यति धेरै च्याङ्ग्रा वा खसीको फ्यान चाहिँ होइन। तर अरू मान्छेहरूको अनुभव पनि त्यस्तै सुनिन्छ," नेवार पारिवारिक पृष्ठभूमिका उनले भने।
जनावर अनुसार मात्रै नभएर मानिसको व्यक्तिगत रुचि र स्वाद अनुसार पनि मासु फरक हुने उनको बुझाई छ।
"मासुको स्वाद त निश्चय पनि फरक हुन्छ नै। मान्छेको रुचि पनि कारक हो। कसैलाई बोकाको मासुको बास्नाले नै खाना रुच्छ भने कसैलाई त्यो टाढैबाट अरुचिकर हुने पनि हुन्छ," उनले भने।
स्वादका पारखीहरूले व्यावसायिक रूपमा पालिएका खसीबोका र हिमाली क्षेत्रमा हुर्किएका च्याङ्ग्राबीचको स्वाद सहजै छुट्याउने जानकारहरू बताउँछन्।
"खसी, बोका पनि व्यावसायिक रूपमा पालिएका भन्दा स्थानीय रूपमा पालिएकाको स्वाद फरक हुन्छ," पोखरामा थकाली भान्सा चलाइरहेका शेरचन भन्छन्।
कतिपय व्यावसायिक फार्महरूमा मासुको उत्पादन बढाउन विभिन्न किसिमका औषधी खुवाउने अभ्यासका कारण तिक्खर स्वाद नहुने उनी बताउँछन्।
नयाँ पुस्ताका युवा युवतीहरूले स्थानीय स्वाद नरुचाउने गरेको आफ्नो अनुभव रहेको पोखराका व्यवसायी शेरचनको छ।
विभिन्न परिकारको समीक्षा गरिरहने फूडी नेपालका सञ्चालकका अनुसार दशैँमा अधिकांश नेपालीहरूले खसी, बोका र च्याङ्ग्राको मासु खाने परम्परा जस्तै बनेको उनको बुझाई छ।
उनी आफैँ पनि रेड मिट अरू समयमा त्यति धेरै नखाने बताउँछन्। आफूलाई खसी वा बोका भन्दा राँगा र बङ्गुरका परिकार धेरै स्वादिलो लाग्ने उनले सुनाए।
"म पनि खसी त्यति धेरै रुचाउँदिन। अरू बेला रेड मिट खानबाट पन्छिने गरिरहेको हुन्छु। तर दशैँमा चाहिँ लगातार नाइँ नभनी खाइरहेको हुन्छु। दशैँ त हो नि यार भनेजस्तो माहोल हुन्छ," उनले आफ्नो अनुभव सुनाए।
पोखराबाट कृष्णमणि बरालको थप रिपोर्टिङ
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन