साउदी अरबमा अमेरिकी वाणिज्य दूतावासबाहिर ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

तस्बिर स्रोत, AFP
साउदी अरबमा बुधवार भएको बन्दुक आक्रमणमा ज्यान गुमाएका नेपाली सुरक्षागार्डको पहिचान खुलेको छ।
अधिकारीहरूका अनुसार जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवनबाहिर गोली हानाहान हुँदा नैनसिंह नेपालीको मृत्यु भएको हो। उनी ५९ वर्षका थिए।
उनी हाल रुपन्देहीको तिलोत्तमा बस्दै आएको तर सरकारी विवरणमा उनको जन्मस्थान बागलुङ रहेको अधिकारीहरूले बताएका छन्।
नैन सिंहका छोरा समेत हाल रियादमा कार्यरत रहेको बताइएको छ।
उनको परिवारलाई घटनाबारे जानकारी गराइसकिएको साउदी अरबस्थित नेपाली दूतावासले जानकारी दिएको छ।
मुस्लिमहरूको चाड इदका कारण त्यहाँका सरकारी निकायहरू बन्द रहेकाले नेपालका निकायहरूले सोझै अमेरिकी वाणिज्य दूतावासमा सम्पर्क गरेर मृतकबारे जानकारी लिएका थिए।
अधिकारीहरूका अनुसार मृतक सुरक्षा गार्ड आबद्ध कम्पनीसँग सम्पर्क गर्ने पहल अघि बढाइएको छ।
‘‘उहाँ कुनै कम्पनीमार्फत् आउनु भएको हो। कम्पनीले खटाएको हो त्यहाँ,’’ एक नेपाली अधिकारीले भने।
बुधवार जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवनबाहिर गोली हानाहानमा एक जना सन्दिग्ध आक्रमणकारीको समेत मृत्यु भएको बताइएको छ।
के भएको थियो?

अधिकारीहरूका अनुसार बन्दुक बोकेका एक व्यक्ति कारमा आएका थिए।
अमेरिकी विदेश मन्त्रालयले घटनाको पुष्टि गर्दै आफ्ना नागरिकलाई भने केही नभएको जनाएको छ।
घटनाबारे साउदी निकायहरूले अनुसन्धान सुरु गरेका छन्।
रोएटर्स समाचारसंस्थाले साउदी अरबको सरकारी समाचार संस्था एसपीएलाई उद्धृत गर्दै अमेरिकी वाणिज्य दूतावासमा कार्यरत नेपाली सुरक्षागार्ड उक्त घटनामा सुरुमा घाइते भएका र त्यसको केही समयमा उनको मृत्यु भएको जनाएको थियो।
पहिला पनि आक्रमणको निसानामा परेको थियो वाणिज्य दूतावास
विगतमा पनि अमेरिकी वाणिज्य दूतावासमा आक्रमण वा आक्रमणका प्रयासहरू भएका थिए।
रोएटर्सका अनुसार सन् २०१६ मा उक्त भवननजिकै भएको एउटा बम विस्फोटनमा दुईजना आत्मघाती आक्रमणकारीहरूको ज्यान गएको थियो भने दुई जना घाइते भएका थिए।
सन् २००४ मा बम र बन्दुक बोकेका पाँच जनाले उक्त भवनभित्र धावा बोलेका थिए। त्यस क्रममा बाहिर चार साउदी सुरक्षाकर्मी र भित्र चार कर्मचारीको मृत्यु भएको थियो।
रोएटर्सका अनुसार तीन आक्रमणकारीको पनि ज्यान गएको थिए भने दुई जना पक्राउ परेका थिए।
उक्त घटनापछि साउदी अरबमा विभिन्न देशसँग सम्बन्धित कार्यालयहरू भएका स्थानमा पटकपटक घातक आक्रमणहरू भए।
त्यतिबेला ती आक्रमणहरू अल-कायदाले गराएको ठानिएको थियो।


साउदी अरब: नेपालीका लागि लोकप्रिय गन्तव्य
वैदेशिक रोजगारीका लागि नेपालीहरू सबैभन्दा धेरै खाडी मुलुकहरू जाने गरेको सरकारी तथ्याङ्कले देखाउँछ।
खाडी राष्ट्रमध्येमा पनि म्यानपावर कम्पनीमार्फत् नेपालीहरू सबैभन्दा बढी साउदी अरब जाने गरेको पाइन्छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको ‘नेपाल लेबर माइग्रेशन रिपोर्ट २०२२’का अनुसार सन् २०२१-२२मा साउदी अरबमा काम गर्नका लागि १,२५,३६८ जनाको श्रमस्वीकृत वा श्रमस्वीकृति नवीकरण भएको थियो।
उक्त सङ्ख्यामा जम्मा २०८ जना महिला छन्।

तस्बिर स्रोत, Getty Images
कोभिड-१९ महामारीका कारण सन् २०२०-२१ मा साउदी अरब जानका लागि श्रमस्वीकृति लिने वा नवीकरण गर्न आउनेको सङ्ख्या २३,३१९ रहेको प्रतिवेदनमा उल्लेख छ।
साउदी अरबपछि कतार, यूएई, कुवेत र मलेशिया नेपालका लागि प्रमुख श्रम गन्तव्यमा पर्छन्।
त्यसपछि म्यानपावर कम्पनीमार्फत् धेरै नेपाली कामदारहरू जाने देशमा बहराइन, रोमानिया, साइप्रस, ओमान र क्रोएशिया पर्छन्।
साउदी अरबमा नेपालीहरू कस्तो काम गर्छन्
साउदी अरबमा धेरै नेपालीहरू मजदुरका रूपमा काम गर्छन्। त्यसबाहेक त्यहाँ नेपालीहरूले सरसफाइ र लुगा धुने काम गर्ने गर्छन्।
त्यसैगरी कारखानाका कामदार, सरसफाइ गर्ने कामदार, घरेलु कामदार, निर्माण क्षेत्रका कामदार र सुरक्षागार्डका रूपमा पनि धेरै नेपाली साउदी अरबसहित विभिन्न खाडी मुलुकमा काम गर्छन्।
म्यानपावरमार्फत् नभई व्यक्तिगत प्रयासमा वेटर र कुकको काम गर्न पनि गएको पाइन्छ।
यद्यपि त्यो सङ्ख्या विदेश जाने अदक्ष नेपाली कामदारको तुलनामा न्यून रहेको जानकारहरू बताउँछन्।
नेपाल, भारत र अन्य देशमा प्रहरी वा सेनामा काम गरेका नेपालीहरू विदेशी सुरक्षा कन्ट्र्याक्टरमार्फत् विभिन्न देशका कूटनीतिक नियोगहरूमा सुरक्षागार्डको काममा पनि जाने गरेको पाइन्छ।
श्रमस्वीकृति दिँदा भेडाबाख्रा चराउने, भान्सामा काम गर्ने, घरेलु कामदार वा हतियार चलाउनुपर्ने सुरक्षागार्डसहित जुनसुकै पेसाका लागि नेपालमा एउटै मापदण्डलाई आधार मानिने हुँदा यस्ता किसिमका घटनामा नेपालीहरू पर्ने गरेको जानकारहरू बताउँछन्।
"हतियार चलाउनुपर्ने, सुरक्षागार्ड भएर बस्ने वहाँहरूको बेग्लै मापदण्ड र स्वीकृतिको प्रक्रिया हुनुपर्ने हो," वैदेशिक रोजगारविज्ञ गणेश गुरुङ गुरुङले भने।
साउदी अरबमा जस्तै धेरै घटना इराक र अफगानिस्तानमा विगतमा घटेको उनी बताउँछन्।
वैदेशिक रोजगारमा एजेन्ट वा व्यक्तिगत स्वीकृति लिएर जाँदा सुरक्षा संयन्त्र वा मापदण्डअन्तर्गत रहेर नपठाइने हुँदा ज्यादै खतराको स्थितिमा पठाइँदा यस्तो घटना दोहोरिन सक्ने उनी ठान्छन्।
जानकारहरूका अनुसार अन्तर्राष्ट्रिय श्रम सङ्गठनले विभिन्न पेसाको वर्ग छुट्ट्याएको छ। त्यो वर्गअनुसार मापदण्ड तयार पार्नुपर्ने र पेसागत सुरक्षामा ध्यान दिइनुपर्ने गुरुङ बताउँछन्।
‘‘सुरक्षाको काममा जाने खासगरी हतियार चलाउने मान्छेको बेग्लै मापदण्ड र स्वीकृत हुनुपर्छ,’’ गुरुङ भन्छन्। ‘‘हामीले तलब र सुविधा पुग्छ भने स्वीकृति दिन्छौँ। काममा जाने हाम्रा युवा केमा सुरक्षित छन्, केमा छैनन् त्यो हामीले विश्लेषण गर्न सकेका छैनौँ।’’
कति नेपालीले ज्यान गुमाएका छन्?
सन् २०१९-२० देखि सन् २०२१-२२ मा मलेशियापछि सबैभन्दा बढी साउदी अरबमा नेपाली श्रमिकहरूले ज्यान गुमाएको उक्त प्रतिवेदनले देखाएको छ।
उक्त अवधिमा मलेशियामा कुल ४८० नेपालीले ज्यान गुमाएका थिए भने साउदी अरबमा २९७ जनाको मृत्यु भएको थियो।
साउदी अरबमा उक्त अवधिमा २४२ जनाको प्राकृतिक रूपमा मृत्यु भएको, १२९ जना घातक सडक दुर्घटनामा परेर र ७८ जनाले आत्महत्या गरेको प्रतिवेदनमा उल्लेख छ।
त्यसबाहेक कार्यस्थलमा हुने दुर्घटना, मुटुसम्बन्धी समस्या र कोभिडका कारण उक्त अवधिमा नेपाली श्रमिकले ज्यान गुमाएको देखिन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

























