हेइटीमा अराजकता फैलिरहँदा प्रधानमन्त्रीद्वारा राजीनामा घोषणा, अब त्यहाँ के हुन्छ?

प्रधानमन्त्री एरिअल हेन्री

तस्बिर स्रोत, GETTY IMAGES

हेइटीमा कैयौँ सातादेखि चुलिँदो दबाब र बढ्दो हिंसापछि त्यहाँका प्रधानमन्त्री एरिअल हेन्री राजीनामा दिन सहमत भएका छन्।

क्यारेबिअन क्षेत्रका नेताहरू हेइटीको सुरक्षा व्यवस्था ब्युँताउने र त्यहाँ काम गर्न सक्ने सरकार बनाउने उद्देश्यसाथ राजनीतिक सङ्क्रमणबारे छलफल गर्न जमैकामा भेटेको केही घण्टामा उनको राजीनामा आएको हो।

सशस्त्र ग्याङहरूले राजधानी कब्जा गरिरहँदा राजीनामा घोषणा गरिएको भिडिओमा उनले आफ्ना देशका नागरिकहरूलाई शान्त रहन आग्रह गरे।

आफ्नो सम्बोधनमा प्रधानमन्त्री हेन्रीले सङ्क्रमणकालीन परिषद्ले काम गर्न थाल्ने बित्तिकै आफूले पद छाड्ने बताएका छन्।

को हुन् हेन्री?

सन् २०२१ को जुलाईमा त्यहाँ राष्ट्रपति जोभनेल मोइजको हत्या भएपछि उनले अन्तरिम हैसियतमा देशको नेतृत्व गर्दै आएका छन्।

उनले सुरक्षा व्यवस्थालाई कारण देखाउँदै बारम्बार चुनाव सार्दै आएका छन्।

त्यहाँका धेरै सर्वसाधारणहरूले निर्वाचित राष्ट्रपतिबिनै यति लामो समय देशमा शासन गरेको भन्दै उनीमाथि प्रश्न उठाएका छन्।

भारी हतियार बोकेका ग्याङहरूले यतिखेर राजधानी पोर्ट-अ-प्रिन्सका सडक कब्जा गरेका छन् भने त्यहाँको मुख्य जेलमा हमला गर्दै हजारौँ बन्दी भगाएका छन्।

उनीहरूले निर्वाचित नभएका प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए।

अब के हुन्छ?

प्रधानमन्त्री एरिअल हेन्रीलाई अवरोध पुर्‍याउने प्रयास

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, सशस्त्र ग्याङहरूले एरिअल हेन्रीलाई देश फर्कन अवरोध पुर्‍याएका छन्

सशस्त्र ग्याङहरूले गरेका अवरोधका कारण प्रधानमन्त्री हेन्री पुर्तो रिकोमा छन्।

देशमा फैलिरहेको हिंसासँग जुझ्नका लागि अन्तर्राष्ट्रिय सुरक्षा बल परिचालन गर्ने एउटा सम्झौतामा हस्ताक्षर गर्न उनी केन्या पुगेका थिए।

ग्याङहरूको गठबन्धनले प्रहरी चौकीहरूका साथै हेइटीका दुई ठूला जेलमा धावा बोलेपछि उनी उक्त कदमको तयारीमा थिए।

तर ती सशस्त्र समूहहरूले हाल राजधानी सहर पोर्ट-अ-प्रिन्सका अधिकांश भाग कब्जा गरेका छन्।

राजीनामा पछि अब त्यहाँ एउटा सङ्क्रमणकालीन राष्ट्रपतीय परिषद् खडा गर्दै त्यसमा अन्तरिम प्रधानमन्त्री नियुक्त गरिनेछ।

राजधानी र आसपासको क्षेत्रमा एक महिना लामो आपत्कालीन व्यवस्था लागु गरिनुका साथै त्यहाँ कर्फ्यू लम्ब्याइएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।