घरभित्रको भद्रगोल हटाउने समय आयो, सुरु गर्ने चार तरिका यस्ता छन्
तस्बिर स्रोत, Getty Images
- Author, एलेक्स टेलर
- Role, बीबीसी न्यूज
- पढ्ने समय: ४ मिनेट
शरद् ऋतु होस् वा वसन्त, जब ऋतु परिवर्तन हुन थाल्छ, हामी धेरैले नयाँ आरम्भको समय जस्तो महसुस गर्न सक्छौँ। यो समयमा घरलाई नयाँ ढङ्गले हेर्ने र अव्यवस्था हटाउनेतर्फ सोच्नु स्वाभाविक हो।
मनोवैज्ञानिकहरूका अनुसार हाम्रो बस्ने ठाउँ सफा राख्दा त्यसले तनाव कम गर्न सक्छ र हामीमा भएको ऊर्जा बढाउन सक्छ।
तर घरभित्र रहेका के कुरा राख्ने र केबाट छुटकारा लिने भन्ने कुरा छान्न सजिलो छैन, हामीमध्ये धेरैले त्यसबारे निर्णय गर्न सङ्घर्ष गरिरहेका छौँ।
हामीले तपाईँको घर सफा राख्ने चार उत्तम उपायहरूबारे विज्ञहरूसँग कुराकानी गरेका छौँ।
१. सानो कामबाट सुरुवात
तस्बिर स्रोत, Getty Images
धेरैको लागि केबाट सुरु गर्ने भन्ने नै सबैभन्दा ठूलो चुनौती बन्छ, त्यसैले व्यवस्थित प्रक्रिया थाल्नुपर्ने कुरा आफैले स्वीकार गर्नु महत्त्वपूर्ण पक्ष हो।
त्यसका निम्ति तपाईँले पाएका उपहारहरू जस्ता सामानहरू समेत फ्याँक्नुपर्ने हुन्छ, जुन आनन्दको निम्तिभन्दा पनि एक खालको दायित्वको दबाव वा भावनाले राखिएका हुन्छन्।
बीबीसीको 'इन्टिरिअर डिजाइन मास्टर्स' कार्यक्रमकी निर्णायक मिशेल ओगान्डाहिनका भनाइमा त्यसको निम्ति बिस्तारै अघि बढ्नु पनि आवश्यक हुन्छ।
"यो सोच्ने कुरा होइन : 'यो ठिक छ, बस, अब यो सबै हट्नैपर्छ' बरु एक एक गरेर कदम चाल्ने कुरा हो," उनी बताउँछिन्।
ओगान्डाहिनको सुझाव छ कि सबैभन्दा पहिले व्यक्तिगत दराज वा घर्रालाई प्राथमिकतामा राख्ने, अनि समयसँगै काम अघि बढाउँदै जाने गर्नुपर्छ। त्यसो गर्दा जिम्मेवारी बोझिलोभन्दा व्यवस्थित महसुस हुन्छ।
२. सामानलाई के गर्ने भन्ने योजना बनाउनुहोस्
तस्बिर स्रोत, Getty Images
तपाईँले हटाउन लाग्नुभएको सामान के गर्ने भन्नेबारेमा योजना बनाउनु अत्यावश्यक हुन्छ। व्यवस्थित गर्ने काम थाल्नुअघि वा आरम्भका केही दिनभित्रै त्यो योजना बनाउनु उत्तम हो।
"तपाईँ घरको कोरिडोरमा सामानहरूको चाङमाथि चाङ लगाएर राख्न चाहनुहुन्न," घर व्यवस्थापनकी एक व्यावसायिक विज्ञ इन्ग्रिड जान्सन भन्छिन्।
साप्ताहिक पड्कास्टमा ६० हजारभन्दा बढी सदस्यहरू समेत रहेको 'डिक्लटर हब'का सहसंस्थापक, उनका भनाइमा दान गर्ने, पुनः प्रयोग गर्ने, कसैलाई दिने वा नष्ट गर्ने जस्ता बढ्दो विकल्पहरू छन्।
परोपकारी संस्थाहरूलाई वा विभिन्न एपहरूमार्फतै दान गर्ने विचार गर्न वा फेरि प्रयोग गर्न नसकिने भइसकेका वस्तुहरू नष्ट गर्न उनको सुझाव छ।
अनलाइन बजारमा प्रयोग भइसकेका सामग्री बेच्ने विकल्प पनि छ।
तर 'डिक्लटर हब'की अर्की सहसंस्थापक लेस्ली स्पेल्म्यान थप सामग्री वा थप मूल्यमा बेच्ने प्रलोभन दुईधारे तरबार हुन सक्ने चेतावनी दिन्छिन्।
हाम्रो मनसाय राम्रो भए पनि त्यसले सामान हटाउनुको साटो प्याक गरेरै राख्ने चक्रमा पुर्याउन सक्छ।
उनी भन्छिन्, "बिक्री तपाईँको घरभित्रको अव्यवस्थाबाट पैसा कमाउने एक राम्रो तरिका हो, तर तपाईँले केही वास्तविकता अङ्गाल्नुपर्छ।"
यदि तपाईँ आफ्नो डेस्कभन्दा मुनि अनुपयोगी सामान राख्ने तीन वटा झोला राख्ने व्यक्ति हुनुहुन्छ भने त्यसबाट मुक्ति पाउने समय आइसकेको हुन सक्छ।
३. सङ्ख्या हैन गुणस्तरलाई प्राथमिकता
तस्बिर स्रोत, Getty Images
हामीले 'क्रूर बन' भन्ने शब्दावली सुनेकै छौँ। तर प्रभावकारी सुव्यवस्थाको अर्थ तपाईँले मन पराउने सामान हटाउनु होइन।
त्यसको साटो, बीबीसीको 'इन्टिरिअर डिजाइन मास्टर्स' कार्यक्रमकी निर्णायक मिशेल ओगान्डाहिन सुझाउँछिन् - "तपाईँ ती वस्तुहरूले आफूलाई घेर्नुहोस् जसले तपाईँलाई तपाईँले चाहेजस्तै भाष्य बनाउन सहयोग गर्छ। तपाईँलाई बलियो बनाउने वा तपाईँ ढोकाबाट हिँड्दा तपाईँलाई उत्साहित तुल्याउने सामग्री राख्नुहोस्।"
उनका भनाइमा त्यस्ता सामग्रीमा बिदा मनाउँदा किनिएका सामग्री, चित्र, वा तपाईँको वा तपाईँका दाजुभाइ वा दिदीबहिनीका बच्चाका उत्कृष्ट सिर्जना हुन सक्छन्।
ओगान्डाहिन 'नियन्त्रण'लाई त्यसको व्यवस्थापन गर्ने मुख्य अस्त्र मान्छिन्, अर्थात् घरभरि सामानहरू छरपस्ट पार्नुको साटो सामानहरू राख्ने निश्चित ठाउँ निर्धारित गर्नुपर्छ।
४. भावुकता र पुरानो समयको सम्झनाबीच अन्तर
तस्बिर स्रोत, Getty Images
भावनात्मक सम्बन्ध कुनै सामान वा वस्तुलाई हटाउन मानिसहरूलाई गाह्रो हुने एउटा कारण हो।
त्यो लगावमा पुराना कुराको सम्झना (नोस्ट्याल्जा) र भावुकता गाँसिएको हुन्छ। यूकेमा एक टीभी कार्यक्रम प्रस्तोता रहेकी साइकोथेरपिस्ट स्टेलिअस किओसेस ती फरक अवधारणा भएको बताउँछन्।
भावनात्मकताले कुनै वस्तुको वर्तमानमा रहेको भावनात्मक मूल्य दर्साउँछ किनकि ती हाम्रा लागि सम्बन्ध, उपलब्धि वा महत्त्वपूर्ण अवसरका प्रतीक हुन्छन्।
'नोस्ट्याल्जा'ले स्मृति जागृत गर्ने वस्तुसँगको अतीतप्रतिको तृष्णा अनुभूति गराउँछ।
किओसेस भन्छन्, "तपाईँ आफ्नो बच्चाको खेलौनाप्रति भावुक बन्नुहुन्छ तर त्यो खेलौनासँगै बच्चासित खेलेको समयको सम्झनाले तपाईँलाई नोस्ट्याल्जिक तुल्याउँछ।"
उनका भनाइमा यी दुईबीचको भिन्नता बुझ्नु र पहिचान गर्नु ती सामानबाट मुक्ति पाउनका निम्ति वास्तवमा महत्त्वपूर्ण हुन सक्छ।
उदाहरणका लागि तपाईँका बच्चाहरूको पहिलो जोडी जुत्ता लिनुहोस्।
"त्यो उनीहरूको निम्ति राख्नुभएको छ सोच्नुहुन्छ," डिक्लटर हबकी सहसंस्थापक इन्ग्रिड जान्सन थप्छिन्, "तर वास्तवमा त्यो तपाईँको सम्झना हो, किनकि तपाईँ पसलहरूमा गएको र उनीहरूसँगै गएर किनेको सम्झिनुहुन्छ। उनीहरू कति सुन्दर देखिन्थे भन्ने सोच्नुहुन्छ।"
त्यसैले वास्तवमा वस्तुहरू घरमा राखिरहनुपछाडिका कारण अनि तिनलाई त्याग्दा सम्झना कति आउँछ भन्ने सोच्नुहोस्।
जे भए पनि, हिजोआज स्मार्टफोनले हामीलाई तीव्र रूपमा स्मृतिको निम्ति अवसर दिएको छ।
जब तस्बिरले हजार शब्दहरू बोलिदिन्छ, के हामीलाई अझैँ सबै कुरा राख्न आवश्यक छ?
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन