अफगानिस्तानमा विनाशकारी भूकम्प, कम्तीमा २० जनाको मृत्यु

तस्बिर स्रोत, Getty Images

पढ्ने समय: ३ मिनेट

उत्तरी अफगानिस्तानमा मध्यरातपछि आएको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको र अधिकारीहरूले बताएका छन्।

अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु मजार-ए-शरिफ सहरनजिकै अवस्थित छ। स्थानीय समयानुसार बिहान १ बजेतिर आएको म्याग्निट्यूड ६.३ को उक्त भूकम्प जमिनभन्दा २८ किलोमिटर तल उत्पन्न भएको थियो।

प्रभावित स्थानहरूमा उद्धारकार्य जारी छ। मृतकको सङ्ख्या बढ्न सक्ने आशङ्का अधिकारीहरूले व्यक्त गरेका छन्।

यूएसजीएसले भूकम्पका कारण "उल्लेख्य सङ्ख्यामा मानिसहरू हताहत" हुन सक्ने चेतावनी निकायले दिएको छ।

तालिबान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमान अमरले २० जनाभन्दा बढी मानिसको मृत्यु भएको र घाइतेको सङ्ख्या ३२० भन्दा बढी भएको पुष्टि गरेका छन्।

मजार-ए-शरिफ बाल्क प्रान्तको राजधानी हो। यसअघि उक्त प्रान्तका तालिबान प्रवक्ता हाजी जैदले मानिसहरू घाइते भएको एक्समा लेखेका थिए।

नजिकैको हिमाली जिल्ला समान्गन जिल्लाका एक स्वास्थ्य अधिकारीले केही व्यक्तिको मृत्यु भएको र ठूलो सङ्ख्यामा मानिसहरूलाई उपचारका लागि स्वास्थ्यकेन्द्रहरूमा पुर्‍याइएको समाचारसंस्था रोएटर्ससँग बताएका छन्।

आफ्नो अघिल्लो पोस्टमा हाजी जैदले प्रान्तका सबैजसो जिल्लामा सामान्य घाइते र सामान्य क्षतिका विवरणहरू प्राप्त भएको जनाएका थिए।

"अधिकांश घाइतेहरूलाई अग्ला भवनहरूबाट खसेका कारण चोटपटक लागेको छ," उनले भनेका थिए।

डर

तस्बिर स्रोत, Afghan Red Crescent/X

तस्बिरको क्याप्शन, अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या बढ्न सक्छ

मजार-ए-शरिफमा अफगानिस्तानका ठूला सहरमध्ये एक हो। त्यहाँका अधिकांश मानिसहरू आफ्नो घर भत्कने डरले सडकमा निस्किएको एएफपी समाचारसंस्थाले जनाएको छ।

बल्क प्रान्तका तालिबान प्रवक्ताले एक्समा स्थानीय मस्जिदको भग्नावशेष छरिएको देखिने भिडिओ पनि पोस्ट गरेका छन्।

मजार-ए-शरिफको प्रतीकका रूपमा रहेको उक्त ' ब्लू मस्क' धार्मिक नेता प्रथम शिया इमामको समाधिस्थल भएको ठानिन्छ।

अहिले उक्त स्थलमा मुस्लिम धर्मावलम्बीहरू भेला हुने र धार्मिक कार्यक्रम तथा उत्सवहरू मनाउने गर्छन्।

गत अगस्ट महिनमा म्याग्निट्यूड ६.० को भूकम्पका कारण पूर्वी पाकिस्तानको हिमाली भेगमा १,००० जनाभन्दा बढी मानिसहको मृत्यु भएको थियो।

अफगानिस्तान उच्च भूकम्पीय जोखिम भएको क्षेत्रमा पर्छ।

तस्बिर स्रोत, Supplied

तस्बिरको क्याप्शन, मजार-ए‍-शरिफनजिकै रहेको पहाडी क्षेत्र समान्गनमा पनि मानिसहरू हताहत भएको विवरण आएको छ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।