संसद् विपक्षमा उभिएपछि पछि हटे दक्षिण कोरियाली राष्ट्रपति

तस्बिर स्रोत, Reuters

पढ्ने समय: ४ मिनेट

दक्षिण कोरियामा सांसद्हरू विपक्षमा उभिएपछि राष्ट्रपति यून सुक यउलले आफूले घोषणा गरेको सङ्कटकाली 'मार्शल ल' फिर्ता गरेका छन्।

राष्ट्रपतिले "देशलाई उत्तर कोरियाका कम्युनिस्टहरूबाट जोगाउन" र "राज्यविरोधी तत्त्वहरूलाई निर्मूल पार्न" भन्दै मङ्गलवार सैन्य कानुन लागु गर्ने घोषणा गरेका थिए। त्यसलगत्तै संसद् भवनमा भेला भएका सत्तारूढ र विपक्षी दलका सांसदहरूले मतदानमार्फत् राष्ट्रपतिको उक्त कदमलाई रोक्ने निर्णय गरे।

राति संसद्‌बाहिर राष्ट्रपतिको घोषणाविरुद्ध प्रदर्शन भएको थियो।

दक्षिण कोरियाको राष्ट्रिय प्रसारक संस्थाका अनुसार संसद्ले विरोध गरेको भए पनि दक्षिण कोरियाली सेनाले राष्ट्रपतिले फिर्ता नगरेसम्म उक्त कानुन लागु हुने जनाएको थियो।

'मार्शल ल' लागु हुनु भनेको सैन्य अधिकारीहरूले सङ्कटकालमा शासन गर्नु हो र त्यस्तो अवस्थामा सामान्य नागरिक अधिकारहरू निलम्बित पनि हुन सक्छन्।

यउलको पीपल पावर पार्टी र मुख्य विपक्षी डेमोक्र्याटिक पार्टीबीच अर्को वर्षको बजेटको विषयमा विवाद चुलिएको बेला राष्ट्रपतिले अप्रत्याशित कदम उठाएका थिए।

तस्बिर स्रोत, Reuters

राति टेलिभिजनमार्फत् राष्ट्रपतिले घोषणा गरेपछि संसद् जाने द्वारहरू बन्द गरिएका थिए। प्रहरीले गरेको अवरोधका बीच सयौँ प्रदर्शनकारीहरू बाहिर भेला भएर "मार्शल ल चाहिँदैन" र "तानाशाही हटाऊ" को नारा लगाए।

संसद् भवनभित्र भेला भएका १९० सांसदहरूले एकमतले राष्ट्रपतिको घोषणा गरेको कानुनविरुद्ध एकमतले निर्णय गरे।

त्यसअघि सत्तारूढ र विपक्षी दुवै पार्टीले उक्त घोषणाको विरोध गर्दै त्यसलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेको समाचारसंस्था योन्हापले जनाएको थियो।

विपक्षी दल डेमोक्र्याटिक पार्टीका नेता ली जे-म्युङले उक्त घोषणालाई “असंवैधानिक” सङ्ज्ञा दिए। राष्ट्रपति यउल सदस्य रहेको सत्तारूढ दलका प्रमुख हान डोङ-हुनले पनि उक्त घोषणालाई “गलत” भने।

‘मार्शल ल’ के हो?

तस्बिर स्रोत, Getty Images

‘मार्शल ल’ भनेको सङ्कटका बेला गरिने सैन्य अधिकारीहरूको शासन हो र यसको अर्थ सामान्य नागरिक अधिकारहरू निलम्बन हुन सक्ने अर्थ लाग्छ।

योन्हापका अनुसार ‘मार्शल ल’ उल्लङ्घन गर्नेलाई पक्राउपुर्जीबिना पक्राउ गर्न सकिन्छ।

त्यसबाहेक सञ्चारमाध्यम र प्रकाशकहरू पनि ‘मार्शल ल’कै नियन्त्रणमा आउँछन् भने संसदीय गतिविधिमा पनि रोक लाग्छ।

प्रशिक्षार्थी चिकित्सकहरू सहितका चिकित्सासम्बन्धी कर्मचारीलाई ४८ घण्टाभित्र काममा फर्नि निर्देशन दिइएको थियो।

मानिसहरू अचम्भीत

तस्बिर स्रोत, EPA

मङ्गलवार राति केम्ब्रिज विश्वविद्यालयका सहायक प्राध्यापक जोन निल्शन–राइटले सोलबाट बीबीसीसँग कुरा गर्ने क्रममा दक्षिण कोरियाली राजधानीको स्थितिबारे बताएका थिए।

‘मार्शल ल’ लगाइँदा सामान्यतया: सर्वसाधारणहरूले गर्न सक्ने कार्यमा प्रतिबन्ध लगाइन्छ।

उनले आफूले कुरा गरेका एक प्रहरी पनि “आफूजत्तिकै अनभिज्ञ" भएको बताए।

“सडक सामान्य देखिन्छ, मानिसहरू निश्चय नै विस्मित भएका छन्,” उनले भने।

तस्बिर स्रोत, Reuters

अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले दक्षिण कोरियाली सरकारसँग सम्पर्कमा रहेको र “स्थितिलाई नजिकबाट नियालिरहेको” राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ताले बीबीसीको अमेरिकी साझेदार सीबीएससँग बताएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।