अमेरिकाले अफगानिस्तानमा छाडेका अस्त्र कालोबजारमा 'अल-कायदा आबद्धहरूलाई बेचिँदै'

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अलपत्र छाडिएका हम्भीलगायत अमेरिकी सैन्य उपकरण तथा गाडीहरू सन् २०२१ मा तालिबानको हात परेको थियो
    • Author, यासिन रसुली र जिया शेहरयार
    • Role, बीबीसी अफगान
  • पढ्ने समय: ४ मिनेट

अफगानिस्तानमा तालिबानको हातमा परेको पाँच लाख अस्त्रहरू या त हराएका, या बेचिएका या तस्करी गरेर अन्य समूहलाई दिइएका स्रोतहरूले बीबीसीलाई बताएका छन्। तीमध्ये कतिपय अल-कायदा आबद्ध समूहहरू कहाँ पुगेको संयुक्त राष्ट्रसङ्घले विश्वास गरेको छ।

सन् २०२१ मा अफगानिस्तानको नियन्त्रण पुन: लिएको बखत तालिबानको हातमा अधिकांश अमेरिकी सहयोगमा किनिएका करिब दश लाख अस्त्र परेको बीबीसीसँग परिचय लुकाएर बोलेका एकजना पूर्व अफगान अधिकारीले बताए।

तिनमा अमेरिकामा निर्मित M4 र M16 जस्ता राइफल अनि अफगान नियन्त्रणमा रहेका अरू पुराना अस्त्रहरू छन् जो त्यहाँ दशकौँदेखि चलेको द्वन्द्वमा उपयोग भए।

अस्त्र कसको नियन्त्रणमा?

अधिकांश अस्त्र अघिल्लो अफगान सरकारलाई दिइएका थिए। सन् २०२१ मा तालिबान अघि बढेपछि कैयन् अफगान सैनिकहरूले या त आत्मसमर्पण गरे या उनीहरू अस्त्र तथा गाडी छाडेर भागे। केही उपकरण चाहिँ अमेरिकी सेनाले त्यत्तिकै छाडेर गयो।

ती अस्त्रमध्ये कम्तीमा आधा जति अहिले कहाँ पुगेका छन् भन्ने पत्तो नभएको गत वर्ष तालिबानले राष्ट्रसङ्घ सुरक्षा परिषद्को आर्थिक प्रतिबन्धसम्बन्धी समितिलाई बताएको स्रोतहरूले बीबीसीलाई बताएका छन्।

समितिका एक व्यक्तिले उनीहरूले अन्य स्रोतसँग बुझ्दा पनि करिब पाँच लाख अस्त्रको यकीन अवस्था अज्ञात रहेको पाइएको बताए।

मोबाइलपेजमा सामग्रीको यो भाग देखाउन हामी असमर्थ छौँ।

फेब्रुअरीमा एक रिपोर्टमा राष्ट्रसङ्घले तेहरिक-ए-तालिबान पाकिस्तान, इस्लामिक मुभमेन्ट अफ उज्बेकिस्तान, इस्ट तुर्किस्तान इस्लामिक मुभमेन्ट, र यमनको अनसरुल्लाह मुभमेन्टजस्ता अल-कायदा आबद्ध समूहहरूले तालिबानले कब्जामा लिएका ती अस्त्रमा पहुँच पाएको वा कालोबजारमा ती खरिद गरेको जनाइएको छ।

तालिबान सरकारका उप प्रवक्ता हम्दुल्लाह फितरतले बीबीसीलाई प्रतिक्रिया दिँदै अस्त्रको सुरक्षा र भण्डारणलाई उनीहरूले एकदमै गम्भीरतापूर्वक लिने बताए। उनले भने, "सबै साना तथा ठूला अस्त्रहरू सुरक्षित भण्डार गरिएका छन्। तस्करी भएका वा हराएका भन्ने सबै दाबीलाई हामी नकार्छौँ।"

के भन्छन् ट्रम्प?

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सत्तामा फर्किएको तेस्रो वर्ष (अगस्ट २०२४)मा तालिबानले काबुलस्थित पूर्व अमेरिकी दूतावासको सामुन्ने सैन्य परेडको आयोजना गरेको थियो

यो विषय एकदमै राजनीतिक बनेको छ। राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तानबाट अस्त्रहरू फिर्ता लिने बारम्बार भन्ने गरेका छन्। त्यहाँ ८५ अर्ब डलरका अत्याधुनिक अस्त्रहरू छाडिएको उनले बताएका छन्।

"अफगानिस्तान किन विश्वमै सबभन्दा धेरै अस्त्र विक्रेता भएको छ तपाईँलाई थाहा छ? तिनले हामीले छाडेका अस्त्र बेचिरहेका छन्," नयाँ प्रशासनको पहिलो बैठकमा ट्रम्पले भनेका थिए।

"म यो मामिला हेर्न चाहन्छु। यदि तिनलाई पैसा दिनु परे पनि ठिकै छ तर हामीलाई हाम्रा सैन्य उपकरण फिर्ता चाहिन्छ," उनले भने।

ट्रम्पले प्रस्तुत गरेका आँकडा विवादित छन् किनभने अफगानिस्तानमा खर्च गरिएको पैसा त्यहाँ प्रशिक्षण सञ्चालन गर्न अनि तलब तिर्न पनि प्रयोग भएका थिए। साथै स्टकहोम इन्टर्न्याशनल पिस रिसर्च इन्स्टिच्युट (सीप्री)को गत वर्षको सबभन्दा धेरै अस्त्र निर्यात गर्ने २५ देशको सूचीमा अफगानिस्तान थिएन।

ट्रम्पको टिप्पणीबारे प्रतिक्रिया दिँदै तालिबानका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगान सरकारी टेलिभिजनलाई भने: "हामीले ती अस्त्र अघिल्लो सरकारबाट खोसेका हौँ। हामी तिनको प्रयोग देशको रक्षा गर्न र कुनै पनि खतरासँग जुझ्नका लागि गर्छौँ।"

तालिबानले बेलाबेला अमेरिकी अस्त्र प्रदर्शन गरिरहन्छ। उसले विगतमा अमेरिका-नेटोको मुख्य हवाई अखाडा रहेको बाग्रामसहितका ठाउँमा तिनलाई आफ्नो विजय तथा वैधताको प्रतीकका रूपमा प्रस्तुत गर्ने गर्छ।

सन् २०२१ मा अफगानिस्तानबाट सेना फिर्ता गरेपछि अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले छाडिएका उपकरणहरू चलाउन नमिल्ने बनाइएको भनेको थियो। तर अमेरिकी अस्त्रहरूकै सहायताले त्यसयता तालिबानले सक्षम सेना निर्माण गरेको छ र न्याशनल रेसिस्टन्स फ्रन्ट तथा इस्लामिक स्टेटको क्षेत्रीय समूह इस्लामिक स्टेट खोरासन प्रोभिन्सजस्ता उसका प्रतिद्वन्द्वीभन्दा बलियो बनेको छ।

भूतपूर्व अफगान सरकारसँग जोडिएका एक स्रोतले कान्दाहारका भण्डारहरूमा 'सयौँ'को सङ्ख्यामा प्रयोगहिन हम्भी, माइन-रेसिस्टन्ट एम्बुस प्रोटेक्टेड भेहिकल्स (MRAPs) तथा ब्ल्याक हक हेलिकप्टरहरू रहेको बीबीसीलाई बताए।

आफ्ना केही प्रोपागाण्डा भिडिओहरूमा तालिबानले कब्जा गरिएका केही अस्त्रहरू प्रदर्शन गरेको छ। तर प्रशिक्षित कर्मचारी र प्राविधिक विज्ञताको अभावका कारण ब्ल्याक हक हेलिकप्टरजस्ता अत्याधुनिक अस्त्र/उपकरणहरू चलाउने र मर्मतसम्भार गर्ने उनीहरूको क्षमता चाहिँ सीमित छ। अधिकांश त्यस्ता अत्याधुनिक उपकरण प्रयोगविहीन रहेका छन्।

तर चलाउन अलि सजिला हम्भी अनि साना अस्त्रहरूलाई भने तालिबानले आफ्ना कारबाहीहरूमा प्रयोग गर्न सकेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।