जङ्गलमा बनेको भव्य सहरमा इन्डोनेशियाले कसरी राजधानी सार्दै छ

तस्बिर स्रोत, Getty Images
- Author, अस्टुडेस्ट्रा अजेङ्ग्रास्ट्री
- Role, बीबीसी विश्व सेवा
- पढ्ने समय: ७ मिनेट
इन्डोनेशियाको राजधानी जकार्ता विश्वमै सबैभन्दा तीव्र गतिमा भासिँदै गइरहेको सहर हो। त्यसकारण यहाँको सरकारले यो समस्याबाट मुक्ति पाउनका लागि जङ्गलको बीचमा देशको राजधानी सार्ने महत्त्वाकाङ्क्षी काम सुरु गरेको छ।
आफ्नो पदावधि सकिन लागेका वर्तमान राष्ट्रपति जोको विडोडोको कार्यकालकै यो सबैभन्दा ठूलो परियोजना हो। सन् २०१९ मा घोषणा भएको यो परियोजनाको कार्यान्वयन सन् २०२२को मध्यबाट सुरु भइसकेको छ।
अब छिट्टै नै यो ठाउँ नयाँ बासिन्दाहरूलाई स्वागत गर्न तयार हुँदैछ। केही सातामै इन्डोनेशियाले यो ठाउँमा मानिसहरूको बस्ती सार्न सुरु गर्दैछ।
“नुसान्तारा राजधानी यस्तो क्यानभास हो यहाँ भविष्यको चित्र कोरिएको छ। सबै देशहरूसँग केही नभएको ठाउँमा राजधानी बनाउने सामर्थ्य र मौका हुँदैन,” राष्ट्रपति विडोडोले नयाँ सहरमा राखिएको पहिलो मन्त्रिपरिषद् बैठकमा भने।

तस्बिर स्रोत, Getty Images
सन् १६०० को शताब्दीमा डचहरूको उपनिवेश रहेकै समयबाट राजधानी रहेको जकार्तामा अहिले निकै भिडभाड छ।
यो विश्वकै सबैभन्दा धेरै प्रदूषण खेपिरहेको सहरसँगै तीव्र गतिमा भासिइरहेको सहर पनि हो। यो सहरमा एक करोड मानिसहरू बस्ने ४० प्रतिशत भूभाग समुद्र सतहभन्दा गहिरो भइसकेको छ।

तस्बिर स्रोत, Getty Images
नुसान्तारालाई उच्च प्रविधियुक्त हरियाली सहरको रूपमा परिकल्पना गरिएको छ।
यहाँ बनाइएका पूर्वाधारहरू आधुनिक सहर अनुसारका छन्। यो सहरको ६० प्रतिशत भन्दा धेरै ठाउँ हरित क्षेत्रको रूपमा छुट्ट्याइएको छ।
जुन ठाउँ अमेरिकाको न्यू योर्क सहर भन्दा दुई गुणा ठूलो हो। यहाँ पैदल हिँड्ने बाटोहरू र साइकल ट्र्याकहरूको पनि योजना गरिएको छ।
यसरी बनिरहेको छ नयाँ राजधानी

इन्डोनेशियाको नयाँ राजधानीको अधिकांश भाग अहिले निर्माणाधीन छ। बीबीसी हालै उक्त क्षेत्रमा पुग्दा हजारको सङ्ख्यामा कामदारहरू निरन्तर काम गरिरहेका थिए।
राजधानी सार्ने परियोजना पाँच चरणमा योजना गरिएको छ। पहिलो चरणको काम अगस्टभित्र सक्ने लक्ष्य छ।
अगस्टमै इन्डोनेशियाले आफ्नो स्वतन्त्रता दिवस पनि मनायो। तर काम समयमै नसकिएका कारण नयाँ राजधानीको उद्घाटन यो वर्षको अन्त्यसम्मका लागि सारिएको छ।
“हामी लक्ष्यको बाटोमै छौँ,” नुसान्ताराका पूर्वाधार व्यवस्थापक डानिज सुमादिलागाले बीबीसी इन्डोनेशियासँग भने। उनका अनुसार पहिलो चरणमा सक्ने भनिएको काम ९० प्रतिशत सकिएको छ।
“हामीले अगस्टका लागि मात्रै बनाएका होइनौँ। यो हाम्रो विकासको एउटा पाटो हो। हामी देशको भविष्यका लागि केही सुरुआत गर्दै छौँ,” उनले भने।
अहिलेसम्मको प्रगतिका बावजुद पनि यो महत्त्वाकाङ्क्षी परियोजनाको दिगोपनाबारे आशङ्काहरू अझै छन्।
३३ अर्ब डलरको परियोजना

तस्बिर स्रोत, Getty Images
यो नयाँ सहर पूरै बनाइसक्न ३३ अर्ब अमेरिकी डलर खर्च हुने आकलन गरिएको छ। जसको पाँच भागमध्ये एक भाग खर्च सरकारले गर्ने र बाँकी खर्च निजी लगानीबाट जुटाउने भनिएको छ।
लगानीकर्ताहरूलाई आश्वस्त गर्न राष्ट्रपति विडोडोले हालसालै त्यसका लागि सहुलियत पनि दिने बताएका छन्। उनले १९० वर्षसम्मको भूमिअधिकार दिने प्रस्ताव पनि गरेका छन्।
विगत केही वर्षयता उनले नुसान्तारामा लगानीका लागि विश्वका कैयौँ नेताहरूसमक्ष प्रस्ताव गरेका छन्।
गत नोभेम्बरमा भारतमा भएको जी-ट्वेन्टी राष्ट्रको सम्मेलनका क्रममा पनि यो प्रस्ताव अघि सारिएको भए पनि उल्लेख्य प्रगति भएन।
“असी प्रतिशतसम्म निजी लगानीमा भर पर्नु निकै डरलाग्दो कुरा हो। लगानीकर्ताहरूले आर्थिक सम्भाव्यता र निरन्तरको विकास हुने सुनिश्चितता खोज्छन्। बीचैमा रोकिन मिल्दैन,” मोनाश विश्वविद्यालयमा सहरी डिजाइनका उपप्राध्यापक एका प्रेमानासरी भन्छिन्।

तस्बिर स्रोत, Getty Images
नुसान्तारा अथोरिटीका योजना र लगानीका प्रमुख अगुङ विजासोनो कैयौँ विदेशी लगानीकर्ताहरू त्यहाँ लगानी गर्ने प्रक्रियाको विभिन्न चरणमा रहेको दाबी गर्छन्। उनले त्यसमध्ये केहीले सम्भाव्यता अध्ययन गरिरहेको बताए।
“उनीहरू पूर्वाधार तयार भएको कुरामा ढुक्क हुन चाहन्छन्। किनभने बजारका लागि त्यहाँ मानिसहरूको बसोबास जरुरी छ। तर उनीहरू पर्खिएर बसेका मात्रै छैनन्। आफ्नो काम गरिरहेका छन्,” विजासोनो भन्छन्।
त्यहाँ भएको लगानीको जोखिम दुवै पक्षले बेहोर्नेबारे उनको टोलीले भविष्यका लगानीकर्ताहरूसँग छलफल गरिरहेको छ।
जङ्गलमा उच्च प्रविधि
इन्डोनेशियाको नयाँ राजधानी जाभा टापुमा रहेको जकार्ताबाट १,२००किलोमिटर टाढा अवस्थित छ। प्राकृतिक विपत्ति र भूकम्पबाट हुने जोखिमलाई ध्यान दिएर नयाँ राजधानी बन्दै गरेको सहर पूर्वी कालिमान्तानको बोर्नियोमा जङ्गल फडानी गरेर बनाइँदै छ।
नक्सामा हेर्ने हो भने पनि नुसान्तारा इन्डोनेशियाको रणनीतिक केन्द्रमा छ। साना द्वीपहरूको समूहहरू रहेको यो देशमा सबैतिर स्रोत साधनको पुनर्वितरणका लागि जकार्ता र जाभाबाट टाढा रहेको यो स्थान नयाँ राजधानीका लागि छनौट गरिएको बताइएको छ।


इन्डोनेशियामा सबैभन्दा धेरै जनघनत्व रहेको जाभा टापुले राष्ट्रिय अर्थतन्त्रको ६० प्रतिशत हिस्सा ओगटेको छ।
“अहिलेसम्मको विकास जाभामा मात्रै केन्द्रित रह्यो। त्यसकारण राजधानी जाभा भन्दा टाढाको केन्द्र भागमा पर्ने ठाउँमा सार्ने कुरा सकारात्मक हो,” सहरी विज्ञ एक प्रेमानासरी भन्छन्।
यो बृहत् परियोजना १,००० वर्ग माइल क्षेत्रमा फैलिएको छ। जुन अहिलेको राजधानी जकार्ताभन्दा चार गुणा र अमेरिकाको न्यूयोर्क सहर भन्दा दुई गुणा ठूलो क्षेत्रफल हो।
वातावरण अधिकारकर्मीको चिन्ता

तस्बिर स्रोत, Getty Images
वातावरणविद्हरूले यो परियोजना अघि सारिएदेखि नै चिन्ता व्यक्त गरेका छन्। उनीहरूले यसले वातावरण संरक्षणमा ह्रास आउनुका साथै ओराङ्उटान र लामो नाक गरेको प्रजातिको बाँदर जस्ता कतिपय सङ्कटापन्न जीवजन्तुहरूको बसोबासस्थल नष्ट हुने र दीर्घकालीन असर निम्तिने बताएका छन्।
सरकारले भने यस्ता चिन्ताहरू जायज नभएको दाबी गर्दै नुसान्तारा कुनै समय औद्योगिक प्रयोजनका लागि वृक्षरोपण गरिएको स्थानमा बनिरहेको बताएको छ।
अधिकारीहरूले नयाँ राजधानीमा पूरै नवीकरणीय ऊर्जा प्रयोग हुने र स्मार्ट प्रविधिबाट फोहोर व्यवस्थापन गरिने बताएका छन्।
विद्युतीय गाडी मात्रै चल्ने सहरका भावी बासिन्दा

तस्बिर स्रोत, Getty Images
नयाँ राजधानी सहरमा विद्युतीय गाडी मात्रै चल्ने र सन् २०४५ मा यसको निर्माण सकिँदा कार्बन उत्सर्जन ‘नेट जेरो’ स्तरमा घट्ने अधिकारीहरूले बताएका छन्।
यदि यो लक्ष्य पूरा भएको अवस्थामा इन्डोनेशियाले राष्ट्रिय लक्ष्य भन्दा १५ वर्ष अघि नै यो मापदण्ड पूरा गर्नेछ।
तर नुसान्ताराका भविष्यका बासिन्दाहरू सहित अन्य इन्डोनेशियालीहरूमा अझै आशङ्का व्याप्त छ। यो प्रशासनिक सहरमा सन् २०४५ सम्म १९ लाख मानिसहरूको बसोबास गराउने लक्ष्य लिइएको छ। त्यसमध्ये अधिकांश सरकारी कर्मचारी र उनीहरूका परिवार हुनेछन्।
पहिरो चरणमा करिब १०,००० सरकारी कर्मचारीहरू आगामी सेप्टेम्बरमा नुसान्तारा बसाइँ सर्ने ठानिएको छ।
तर बीबीसीसँग कुरा गरेका केही कर्मचारीहरूले आफ्नो नाम गोप्य राख्ने सर्तमा आफूहरू नयाँ सहरमा सर्न अनिच्छुक रहेको बताए।
“त्यहाँ अझैसम्म पूर्वाधार तयार भइसकेको छैन। आफ्नो बच्चालाई विद्यालय कहाँ पठाउने? उनीहरूका लागि अरू क्रियाकलाप र मनोरञ्जनका लागि त्यहाँ केही छ?” एक जना बच्चाका बुवाले बीबीसीसँग भने।
अविवाहित रहेका अर्का एक जना कर्मचारीले आफूलाई त्यहाँको अपार्टमेन्टमा आफूजस्तै अविवाहित अर्का व्यक्तिसँग कोठामा मिलेर बस्न दबाव दिइने चिन्ता रहेको बताए।
नुसान्तारामा अहिले बनाइएका आवासीय भवनहरूमा तीन वटा शयनकक्ष भएका भागहरू मात्रै छन् त्यसकारण परिवार नभएका व्यक्तिहरूले अरूसँग मिलेर बस्नुपर्छ।

तस्बिर स्रोत, Getty Images
आदिवासीलाई बेवास्ता गरिएको आरोप
नुसान्तारा वरपर बस्ने आदिवासीहरूले भने आफूहरूलाई बेवास्ता गरिएको बताएका छन्।
नयाँ सहर बनाउने क्रममा करिब १०० जना मानिसहरू सरकारी भवन रहेका क्षेत्रबाट विस्थापित भएका थिए।
नयाँ सडक र विमानस्थल निर्माणका क्रममा अझै धेरै मानिसहरू विस्थापित हुने चिन्ता व्यक्त भएका छन्।
नजिकैको सहरमा बस्ने पान्डी नामका पुरुष सहरीकरणले आफूहरूको सांस्कृतिक पहिचान मेटिने चिन्ता गर्छन्।
सन् २०१९ मा राजधानी सार्ने निर्णय भएयता नुसान्तारा रहेको क्षेत्रमा निरन्तर जनसङ्ख्या बढ्दो क्रममा छ।
“उनीहरूले हाम्रो गाउँलाई पुनर्निर्माण गरेर पर्यटकीय क्षेत्र बनाउने वाचा गरेका छन्। तर ती वाचाहरू अमूर्त छन् र हामीलाई हाम्रो घर जोगाइरहन समस्या पो पर्ने हो कि भन्ने चिन्ता छ,” उनले भने।

एक प्रेमानासरीका अनुसार यो विषय पनि आलोचनाको एउटा विषय बनेको छ। उच्च प्रविधियुक्त सहरका रूपमा निर्माण भइरहेको नुसान्ताराले उच्च वर्गका मानिसहरूका लागि सहज बनाए पनि स्थानीयवासीलाई बेवास्ता गर्ने चिन्ता व्यक्त भएका छन्।
“उनीहरू मूकदर्शक मात्रै हुँदै छन्। उनीहरूले यहाँ भित्रिने मानिस र भवनहरू देख्छन्। तर अरूभन्दा भिन्न सहर बनाउँदा त्यसले सामाजिक आर्थिक असमानता सिर्जना गर्छ जुन जकार्ता जस्तै हुन्छ,” उनले भनिन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

























