इजरेलका क्षेप्यास्त्र प्रतिरोधी प्रणालीः आइरन डोम, डेभिड्स स्लीङ्, एरो र थाड

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०२४ को अक्टोबर १ मा इरानले प्रहार गरेका क्षेप्यास्त्र प्रतिरोध गर्न प्रहार गरिएका इजरेली क्षेप्यास्त्रको दृश्य
    • Author, जेरेमी हावल
    • Role, बीबीसी विश्व सेवा
  • पढ्ने समय: ४ मिनेट

इजरेलसँग विश्वकै सबभन्दा परीक्षित क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली रहेको विश्वास सामान्यतया गरिन्छ।

तर इरानसँगको आक्रमण प्रत्याक्रमणका दौरान केही क्षेप्यास्त्रले ती प्रतिरक्षा प्रणालीलाई तोड्न सकेको देखियो र इजरेलमा गैरसैनिक हताहती हुनुका साथै भवनहरू क्षतिग्रस्त भए।

विगतमा इजरेलविरुद्ध इरान, लेबननबाट हिज्बोल्लाह, गाजाबाट हमास अनि यमनबाट हुथीले आक्रमण गरेका छन् - त्यसैले उसको प्रतिरक्षा प्रणालीले भिन्नाभिन्नै उचाइ तथा दूरीमा क्षेप्यास्त्र निस्तेज पार्नु पर्ने हुन्छ।

उसँग भएका अत्याधुनिक प्रतिरक्षा प्रणाली के हो र तिनले कसरी काम गर्छन्?

आइरन डोमले कसरी काम गर्छ?

आइरन डोम इजरेलको सबभन्दा परिचित क्षेप्यास्त्र प्रतिरोध प्रणाली हो।

छोटा दूरीका रकेट तथा शेल र मोर्टर जस्ता गोलाबारीलाई ४ देखि ७० किलोमिटर दूरीमा रोक्ने गरी यसको निर्माण गरिएको छ।

इजरेलभरि आइरन डोम ब्याटरी प्रणाली तैनाथ गरिएका छन्। त्यस्ता प्रत्येक प्रणालीमा तीनदेखि चार लन्चर तथा २० वटा प्रतिरोधी क्षेप्यास्त्र रहेका हुन्छन्।

आइरन डोमले इजरेलतर्फ प्रहार गरिएका रकेटलाई रेडारको मद्दतबाट पहिचान तथा ट्र्याक गर्छ अनि तीमध्ये मानव वस्ती भएका क्षेत्रमा खस्ने सम्भावना भएकाहरूको हिसाब गर्छ। त्यसपछि ती रकेटलाई आकासमै रोक्ने गरी क्षेप्यास्त्र प्रहार गर्छ। मानव वस्ती नभएका ठाउँमा खस्ने हिसाब गरिएका रकेटलाई भने खुला ठाउँमा खस्न दिन्छ।

इजरेल डिफेन्स फोर्सेज (आईडिएफ)ले आइरन डोमले निसाना दागेकामध्ये ९०% रकेट खसालिदिने गरेको विगतमा दाबी गरेको थियो। उसका 'तामिर' क्षेप्यास्त्रको लागत प्रति क्षेप्यास्त्र ५० हजार डलर पर्छ।

इजरेल र हिज्बोल्लाहबीच सन् २००६ मा भएको 'समर वार'पश्चात् उक्त प्रणाली विकसित गरिएको हो। त्यतिखेर लेबननस्थित सो समूहले इजरेलतर्फ ४ हजार रकेट प्रहार गरेको थियो जसले दर्जनौँ मानिसको ज्यान जानुका साथै ठूलै विध्वंस मच्चिएको थियो।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, आइरन डोमलाई विश्वकै सबभन्दा धेरै परीक्षित क्षेप्यास्त्र प्रतिरोधी प्रणाली मानिन्छ

केही अमेरिकी सहयोगका साथ इजरेली कम्पनीहरू राफेल एडभान्स्ड डिफेन्स सिस्टम तथा इजरेल एरोस्पेस इन्डस्ट्रीजले निर्माण गरेको आइरन डोमलाई सन् २०११ मा तैनाथ गरिएको थियो।

सोही वर्ष पहिलोपटक गाजाबाट प्रहार गरिएको एक रकेटलाई त्यसले रोकेको थियो।

सन् २०२३ को अक्टोबर यता आइरन डोमले हमास तथा गाजाका अन्य विद्रोही समूहले प्रहार गरेका दशौँ हजार रकेटलाई रोकेको छ।

तस्बिर स्रोत, Amir Cohen / Reuters

तस्बिरको क्याप्शन, सन् २०२५ को जुन १९ मा इरानी क्षेप्यास्त्रले इजरेलस्थित सोरोका मेडिकल सेन्टर क्षतिग्रस्त भयो

डेभिड्स स्लीङ्ले कसरी काम गर्छ?

डेभिड्स स्लीङ् - जसलाई हिब्रु भाषामा "जादुको छडी" भनिन्छ - ले ३०० किलोमिटर परसम्म क्षेप्यास्त्र रोक्न सक्छ।

इजरेली कम्पनी राफेल एड्भान्स्ड डिफेन्स सिस्टम र अमेरिकी कम्पनी रेथिअनले संयुक्त रूपमा निर्माण गरेको यो प्रणाली सन् २०१७ देखि सञ्चालनमा छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कम उचाइमा रहेका बेला बलिस्टिक क्षेप्यास्त्र खसाल्न सक्ने गरी डेभिड्स स्लीङ्को डिजाइन गरिएको छ

आइरन डोमले जस्तै डेभिड्स स्लीङ्ले पनि मानिसहरूको बस्तीमा खस्ने खालका क्षेप्यास्त्रलाई निसानामा पार्छ।

डेभिड्स स्लीङ् र आइरन डोमलाई लडाकू विमान, ड्रोन तथा क्रुज क्षेप्यास्त्र रोक्ने गरी बनाइएका छन्।

डेभिड्स स्लीङ्ले प्रहार गर्ने प्रत्येक 'स्टनर' क्षेप्यास्त्रको मूल्य १० लाख डलर पर्छ।

एरो २ र एरो ३ ले कसरी काम गर्छन्?

एरो २ ले खासगरी छोटो तथा मध्यम दूरीका बलिस्टिक क्षेप्यास्त्रहरूलाई ती पृथ्वीको सतहभन्दा ५० किलोमिटर माथि रहँदा नै उडानकै क्रममा खसालिदिन्छ।

सन् १९९१ को पहिलो खाडी युद्धपश्चात् यो प्रणालीको विकास गरिएको हो। त्यतिबेला इराकले इजरेलमा दर्जनौँ सोभियत-निर्मित स्कड क्षेप्यास्त्र प्रहार गरेको थियो। यसको प्रयोग सन् २००० बाट भयो।

यसले ५०० किलोमिटर पर रहेको क्षेप्यास्त्रको पहिचान गर्छ। प्रहार गरिएको स्थलबाट १०० किलोमिटरको दूरीमै यसले ती क्षेप्यास्त्रलाई रोकिदिन्छ।

यो प्रणालीले प्रहार गर्ने प्रतिरोधी क्षेप्यास्त्रको गति ध्वनिभन्दा ९ गुना तीव्र हुन्छ। एकैपटक १४ वटा निसानामा यसले प्रहार गर्न सक्छ।

पहिलोपटक लडाइँमा यसको प्रयोग सन् २०१७ मा जमिनबाट आकासमा मार गर्ने सिरियाली क्षेप्यास्त्र विरुद्ध गरिएको थियो।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, एरो २ ले पृथ्वीको वायुमण्डलको माथिल्लो तहमै पुगेर बलिस्टिक क्षेप्यास्त्र खसाल्ने क्षमता राख्छ

एरो ३ लाई सर्वप्रथम २०१७ मा तैनाथ गरिएको थियो। यसलाई लामो दूरीका बलिस्टिक क्षेप्यास्त्रलाई रोक्न सक्ने गरी डिजाइन गरिएको छ। दुस्मनले प्रहार गरेको क्षेप्यास्त्र पृथ्वीको वायुमण्डलभन्दा माथि धेरै उचाइमा पुगेको बखत नै यो प्रणालीका प्रतिरोधी क्षेप्यास्त्रले प्रहार गर्छ। यसको रेन्ज २४०० किलोमिटर रहेको छ।

सबभन्दा पहिलोपटक लडाइँमा यसको प्रयोग सन् २०२३ मा गरिएको थियो - यमनस्थित हुथी विद्रोहीहरूले दक्षिणी इजरेलको तटीय इलात सहरमा प्रहार गरिएको क्षेप्यास्त्र रोक्न।

यसको विकास सरकारी इजरेल एरोस्पेस इन्डस्ट्रीजले अमेरिकी बोइङ् कम्पनीसँग मिलेर गरेको हो।

अमेरिका-निर्मित थाड प्रणालीले कसरी काम गर्छ?

इरानले सन् २०१४ को अक्टोबरमा इजरेलमा हमला गरेपश्चात् अमेरिकाले उसलाई थाड भनिने हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराएको छ।

टर्मिनल हाइ अल्टिच्युड एरिया डिफेन्स (टिएचएएडी वा थाड) प्रणालीले डेभिड्स स्लीङ्ले जस्तै गरी काम गर्छ। यसले आफूतर्फ प्रहार गरिएका दुस्मनका क्षेप्यास्त्रलाई तिनको उडानको अन्तिम चरणमा १५०-२०० किलोमिटरको दूरीमा रोक्छ।

यो प्रणालीले पृथ्वीको वायुमण्डलभित्र वा बाहिर पुगेर दुस्मनको क्षेप्यास्त्रलाई रोक्न सक्छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, थाड प्रणालीले पृथ्वीको वायुमण्डलभित्र वा बाहिर पुगेर दुस्मनको क्षेप्यास्त्रलाई रोक्न सक्छ

थाड प्रणालीमा सामान्यतया ६ वटा लन्चर हुन्छन् जुन प्रत्येकमा ८ क्षेप्यास्त्र हुन्छ।

अमेरिकाले इजरेलमा थाड प्रणाली सञ्चालन गर्न आफ्ना फौज खटाएको छ।

अमेरिकी सेनाले सन् २०१५ देखि नै थाडको प्रयोग गर्न थालेको छ। उसले यो प्रणाली साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सलाई पनि बेचेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।