इरानका सर्वोच्च नेता खामेनेई मारिएपछि मध्यपूर्वमा तनाव

इरानमा अमेरिका र इजरेलले हवाई आक्रमण गर्दा सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईसहित कैयौँ इरानी अधिकारीको मृत्यु भएको विवरण आएको छ। अहिले मध्यपूर्वमा अशान्ति छाएको छ।

सारांश

  • अमेरिका र इजरेलले गरेको हवाई आक्रमणमा परी इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले पुष्टि गरेको छ
  • इजरेलले 'तेहरानको मुटुमा' आक्रमण गरिरहेको बताएको छ भने इरानले अरबका खाडी देशहरूमा हवाई हमला गरेको छ
  • संयुक्त अरब इमिरेट्सको दुबई, कतारको राजधानी दोहा, बाहरेन र कुवेतमा हमला भएका विवरण आएका छन्
  • अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले खामेनेईलाई "इतिहासका सबैभन्दा दुष्ट व्यक्तिमध्ये एक"को सङ्ज्ञा दिँदै इरानीहरूलाई "आफ्नो देश फिर्ता लिन" आह्वान गरेका छन्
  • अमेरिकी सैन्य शिविरहरू भएका वा अमेरिकाको साझेदार मानिएका मध्यपूर्वका दुबई, दोहा, बाहरेन र कुवेतमा इरानी पक्षले प्रत्याक्रमण गरेको विवरण आएको छ
  • इरानभरि २०० जनाभन्दा बढीको मृत्यु भएको रेड क्रेसन्टले जनाएको छ। अमेरिकी र इजरेली आक्रमणमा परेको एउटा कन्या विद्यालयमा कम्तीमा १०८ जनाको मृत्यु भएको इरानी पक्षले जनाएको छ

लाइभ कभरेज

केशव कोइराला, गनी अन्सारी, सञ्जय ढकाल र जितेन्द्र राउत

  1. आजका लागि यत्ति नै

    अमेरिका र इजरेलले इरानमा हवाई आक्रमण थालेपछि अनि इरानले इजरेल तथा छरछिमेकका देशहरूमा गरेका हमलाबारे हामीले दिनभरि यस लाइभ पेजमा ताजा विवरणहरू दिने प्रयास गरेका छौँ।

    आजको निम्ति यो लाइभ पेज यहीँ समाप्त हुन्छ। थप समाचार हाम्रो होमपेजमा गएर हेर्न सक्नुहुन्छ।

    धन्यवाद।

  2. पछिल्लो घटनाक्रम संक्षेपमा

    आयतोल्लाह अली खामेनेई मारिएपछि इरानको सडकमा केही मानिसहरू रोइरहेका थिए

    तस्बिर स्रोत, Getty Images

    • लगातार दोस्रो दिन इरानको राजधानी तेहरानको केन्द्रमा रहेका निसानाहरूमा आक्रमण गरिएको इजरेलले बताएको छ।
    • इजरेलको तेल अभिभमा इरानी बलिस्टिक क्षेप्यास्त्र प्रहारले ४० वटा भवनहरूमा क्षति पुगेको तथा दुईजनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। देशभरि साइरन बजाइएका छन् तर इरानले प्रहार गरेका अधिकांश क्षेप्यास्त्र खसालिएको बताइएको छ।
    • इरानले दुबई, कतार, बाहरेन, कुवेत र ओमानमा हवाई आक्रमण गरेको छ। सो क्षेत्र वरपर अहिले हवाई क्षेत्र निषेधित गरिएको छ।
    • इरानका विदेशमन्त्री अब्बास अराग्चीले एक विज्ञप्ति जारी गर्दै खामेनेई (ले कोरेको) मार्ग “जारी रहने” बताएका छन्।
    • चीन र रुसले खामेनेईको हत्याको निन्दा गरेका छन्।
    • पाकिस्तानको सहर कराचीमा अमेरिकी महावाणिज्य दूतावास बाहिर इरानको समर्थनमा भएको प्रदर्शनका दौरान प्रहरीसँग भएको हिंसात्मक झडपमा ९ जना मारिएका छन्।
  3. खाडी क्षेत्रको अशान्तिबारे नेपाल सरकारको बैठकले के भन्यो?

    मन्त्रिपरिषद् बैठक

    तस्बिर स्रोत, RSS

    मध्येपूर्वमा भएको युद्ध र त्यसले नेपालीहरूलाई पारेको प्रभावबारे नेपाल सरकारको मन्त्रिपरिषद् बैठकमा आइतवार छलफल भएको परराष्ट्रमन्त्री बालानन्द शर्माले जानकारी दिएका छन्।

    “नेपाली नागरिकलाई परेको असर र त्यसको समाधानबारे छलफल भएको छ,” मन्त्री शर्माले पत्रकारहरूलाई बताए।

    बैठकमा भएका मुख्य छलफलबारे उनले बुँदागत रूपमा निम्न लिखित विषय उल्लेख गरेका छन्:

    • नेपालबाट बाहिर जाने कामदारलाई नेपालकै अन्तर्राष्ट्रिय एअरपोर्टमा परेको समस्या यहिँ समाधान भइसकेको। पर्यटन, श्रम तथा परराष्ट्र गरी तीनवटा मन्त्रालयले सहकार्य गरेर समस्या समाधान गरेको। यात्रा चेतावनीहरू जारी गरिएको।
    • अन्य देशमा ट्रान्जीटमा पुगेका नेपाली कामदार तथा यात्रुहरूलाई परेको असुविधाबारे छलफल भएको। सम्बन्धित देशमा रहेका राजदूतहरूलाई समन्वय गरेर गन्तव्यमा पुर्‍याउने वा होटलमा राख्ने भए सम्बन्धित व्यवसाय वा एअरलाइन्सले रेखदेख गर्ने गरी समन्वय भइसकेको।
    • अहिलेसम्म कुनै नेपाली हताहत भएको खबर नआएको। नेपालीहरूको स्वास्थ्य र सुरक्षाबारे हरेक राजदूतावासलाई सूचना सम्प्रेषण गरिएको।
  4. अमेरिकी-इजरेली आक्रमणमा हालसम्म को-को वरिष्ठ इरानी अधिकारी मारिए?

    इरानी सैन्य फौज

    तस्बिर स्रोत, Getty Images

    शनिवारदेखि इजरेल र अमेरिकाले थालेका हवाई आक्रमणमा कैयन् वरिष्ठ इरानी अधिकारीहरू मारिएको थाहा भएको छ।

    ती हुन्:

    • आयातोल्लाह अली खामेनेई, इरानका सर्वोच्च नेता जो शनिवार बिहान आफ्नै कार्यालयमा मारिए
    • रेभलुश्नरी गार्ड्सका कमान्डर जनरल मोहम्मद पाकपुर
    • सुरक्षा सल्लाहकार अली शाम्खानी
    • रक्षामन्त्री अजिज नसीरजादेह

    बीबीसीको अमेरिकी साझेदार सञ्चारसंस्था सीबीएसलाई एक खुफिया तथा सैन्य सूत्रले बताए अनुसार ती हमलामा करिब ४० जना इरानी अधिकारीहरू मारिएका छन्।

  5. खामेनेईको मृत्यु भएको घोषणा गर्दा टीभी प्रस्तोताको आँखामा आँसु

    अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले खामेनेई बस्दै आएको स्थानमा "अकस्मात् शक्तिशाली आक्रमण" गरिएको घोषणा गरेपछि इरानी पक्षले देशका सर्वोच्च नेताले "शहादत प्राप्त गरेको" जनाएको हो।

  6. खामेनेईका उत्तराधिकारीको चयन कसरी हुन्छ

    खामेनेई

    तस्बिर स्रोत, Getty Images

    इरानमा देशका सर्वोच्च नेताको चयन प्रत्यक्ष मतदान गरेर निर्वाचनमार्फत् हुँदैन। बरु त्यस्ता नेताको चयन ८८ जना वरिष्ठ धर्मगुरुहरू रहेका एउटा निकायले गर्ने गर्छ, जसलाई विज्ञहरूको सम्मेलन भन्ने गरिन्छ।

    उक्त निकायका सदस्यहरूको चयन भने प्रत्येक आठ वर्षमा प्रत्यक्ष मतदानबाट गरिन्छ।

    इरानको संविधानअनुसार ती धर्मगुरुहरूले सकेसम्म छिटो नयाँ सर्वोच्च नेताको चयन गर्नुपर्छ। तर अहिले देशले आक्रमण बेहोरिरहेको अवस्थामा सुरक्षाका कारणले गर्दा यसपटक त्यस्तो कार्य गाह्रो हुन सक्छ।

    राष्ट्रपतिको परिषद्, न्यायपालिकाका प्रमुख र शक्तिशाली गार्डिअन काउन्सिलका एकजना सदस्यले अन्तरिमकालका लागि त्यस्ता सर्वोच्च नेताका जिम्मेवारीहरू सम्हाल्ने इरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

  7. इरानद्वारा रेभलूशनरी गार्डका नयाँ प्रमुखको नाम सार्वजनिक

    आईआरजीसी

    तस्बिर स्रोत, Getty Images

    इरानको रेभलूशनरी गार्ड कोर (आईआरजीसी) का नयाँ चीफ कमान्डरमा अहमद वाहिदीको नाम सार्वजनिक भएको छ।

    उनका पूर्ववर्ती जेनरल मोहम्मद पाकपूर शनिवार अमेरिका तथा इजरेलको संयुक्त हमलामा मारिएका थिए।

    आईआरजीसी इरानको महत्त्वपूर्ण सैनिक, राजनीतिक तथा आर्थिक फौज हो, जुन नियमित सैनिकभन्दा फरक बल हो।

    यसअघि आईआरजीसीले सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको मृत्युको बदला स्वरूप सशक्त हमला गर्ने चेतावनी दिएको थियो।

  8. नेपालीहरूको सुरक्षा प्रमुख प्राथमिकताः परराष्ट्र प्रवक्ता

    परराष्ट्र मन्त्रालय

    तस्बिर स्रोत, MoFA Nepal

    तस्बिरको क्याप्शन, परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले अहिलेसम्म नेपालीहरू सुरक्षित रहेका बताएका छन्

    मध्यपूर्वमा जारी तनावबीच परराष्ट्र मन्त्रालयका प्रवक्ताले नेपाली नागरिकहरूको सुरक्षा सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन्।

    “अवस्था बिग्रिएर भोलि उद्धार नै गर्नुपर्ने स्थिति आयो भने त्यो तहमा पनि हाम्रो कुरा हुन्छ। अहिले चाहिँ सुरक्षालाई प्रमुख प्राथमिकतामा राखेका छौँ,” प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बीबीसी न्यूज नेपालीसँग भने।

    अमेरिका तथा इजरेलले आक्रमण गरेपछि प्रतिक्रिया स्वरूप इरानले साउदी अरब, संयुक्त अरब एमिरेट्स, कतार, जोर्डन र बाहरेनस्थित अमेरिकी सैनिक अखडाहरूमाथि हमला गरेको जनाइएको छ। ती देशमा उल्लेख्य सङ्ख्यामा नेपालीहरू कार्यरत छन्।

    खाडी क्षेत्रमा झन्डै २० लाख नेपालीहरू रहेका भन्दै परराष्ट्र मन्त्रालयका प्रवक्ताले हालसम्म कोही नेपाली कुनै समस्यामा परेको जानकारी प्राप्त नभएको बताए।

    “उहाँहरूको सुरक्षा हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण विषय हो। त्यो भएको हुनाले हाम्रा सबै मिसनहरूलाई नजिकबाट सम्पर्क रहन भनेका छौँ,” क्षेत्रीले अगाडि थपे।

    काठमाण्डूबाट पनि शनिवारदेखि नै आवश्यक काममा लागिपरेको उनले जानकारी दिए।

    “नजिकबाट त्यहाँको स्थितिको मूल्याङ्कन गरेर हामीलाई जानकारी गराउन मिसनहरूलाई भनेका छौँ। हामीले यहाँबाट पनि जे समन्वय गर्न सकिन्छ, त्यो गरिरहेका छौँ। मन्त्रालय एक किसिमले हिजैदेखि लागिपरेको छ।”

    सम्बन्धित देशहरूमा रहेका दूतावासहरूमार्फत्‌ नेपालीहरूलाई घरभित्रै रहन र बाहिन ननिस्कन अनुरोध गरिएको प्रवक्ता क्षेत्रीले बताए।

    “सम्बन्धित सरकारहरूले सुरक्षाबारे दिएका निर्देशनहरूलाई अक्षरशः पालना गर्न, एकअर्काको र दूतावासको सम्पर्कमा रहन अनि कुनै खालको समस्या भए तुरुन्त दूतावास अथवा तत्‌ विषय हेर्ने निकायसँग सम्पर्क गर्न हामीले भनेका छौँ,” उनले थपे।

  9. युद्धग्रस्त क्षेत्रमा यात्रा गर्नु सुरक्षित हुन्छ त?

    उडान

    तस्बिर स्रोत, Reuters

    प्रमुख वायुसेवा कम्पनीहरूले सुरक्षाको कारण देखाउँदै मध्यपूर्वका आफ्ना उडानहरू या त अन्यत्र मोडेका छन् या त रद्द गरिदिएका छन्।

    शनिवार त्यस क्षेत्रमा अवतरण हुनुपर्ने ४,२१८ उडानहरूमध्ये ९६६ वटा रद्द गरिएका एउटा नागरिक उड्डयन विश्लेषक कम्पनी सिरिअमको तथ्याङ्कले देखाएको छ।

    त्यस्तो तथ्याङ्कका अनुसार आइतवारका लागि तय भएका ४, ३२९ उडानहरूमध्ये ७१६ वटा पहिले नै रद्द भइसकेका छन्।

    वीज एअरले मार्च ७ तारिखसम्मका लागि इजरेल, यूएईमा दुबई र अबुधाबी, जोर्डनमा अम्मान र साउदी अरबमा मङ्गलवारसम्म उडानहरू स्थगित गरेको छ।

    ब्रिटिश एअरवेजले बुधवारसम्म तेल अभिभ र बाहरेनसम्म उडानहरू रद्द गरेको छ।

    उक्त कम्पनीले भनेको छ,”यदि तपाईँ लन्डन हिथ्रो र अबुधाबी, अम्मान, बाहरेन, दोहा, दुबई वा तेल अभिभबीच हवाई यात्रा गर्न लाग्नुभएको छ भने ६ मार्चसम्म निःशुल्क आफ्नो उडानको समय परिवर्तन गर्न सक्नुहुने छ।”

    “मार्च ४ सम्म यात्रा गर्न लागेका यात्रुहरूले टिकट बापतको शुल्क फिर्ता दाबी गर्न सक्नुहुने छ।”

    त्यसै गरी स्वीस इन्टरन्याश्नल एअरलाइन्सले भनेको छ, “ स्वीस र लुफ्थान्सा समूहका विमानहरूका तेल अभिभ, बेइरुत, अम्मान, एरबिल र तेहरान तर्फका उडानहरू ७ मार्चसम्मका लागि स्थगित गरिएका छन्।”

    कुवेतमा सरकारी सञ्चारमाध्यमका अनुसार त्यहाँको नागरिक उड्डयन निकायले अर्को सूचना नआएसम्मका लागि इरानतर्फका सबै उडान रोकिएका जनाएको छ।

    एमिरेट्स् विमान सेवाले पनि दुबईबाट उड्ने र त्यहाँ अवतरण हुने आफ्नै सबै उडानहरू अस्थायी रूपमा स्थगित गरेको जनाएको छ।

    लुफ्थान्सा, एअर इन्डिया, भर्जिन एट्लान्टिक र टर्किश एअरलाइन्सहरूले पनि उडान रद्द गरिएका सूचनाहरू जारी गरेका छन्।

    उक्त क्षेत्रमा रहेका इराक र जोर्डन लगायतका देशहरूले आआफ्ना हवाईसीमा बन्द गरेका छन्। यूएईले सावधानी स्वरूप “आंशिक रूपमा र अस्थायी अवधिका लागि” आफ्नो हवाईक्षेत्र बन्द गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

  10. इरानको आक्रमणबाट इजरेल र दुबईमा देखिएका भौतिक क्षति

    इरानले दुबई र इजरेलमाथि शनिवार रात र आइतवार बिहान गरेका आक्रमणबाट भएका क्षतिका तस्वीरहरू आइरहेका छन्।

    दुबईमा इरानले अन्तर्राष्ट्रिय विमानस्थललाई पनि निशाना बनाएको बताइएको छ।

    शनिवार राति इरानी क्षेप्यास्त्र हमलामा इजरेलको तेल अभिभस्थित आवासीय भवनहरू पनि परेका छन्।

    दुबई

    तस्बिर स्रोत, Reuters

    तस्बिरको क्याप्शन, इरानले आइतवार बिहान आक्रमण गर्दा जेबेल अली विमानस्थलमा धुवाँको मुस्लो देखिएको थियो
    धुवाँको मुस्लो

    तस्बिर स्रोत, Getty Images

    तस्बिरको क्याप्शन, इरानले आक्रमणहरू गरेपछि दुबईको तटीय क्षेत्रमा देखिएको धुवाँको मुस्लो
    तेल अभिभ

    तस्बिर स्रोत, Getty Images

    तस्बिरको क्याप्शन, शनिवार राति एउटा इरानी क्षेप्यास्त्र हमलाबाट तेल अभिभस्थित एक आवासीय भवनमा क्षति पुगेको छ
    तेल अभिभ

    तस्बिर स्रोत, Getty Images

    तस्बिरको क्याप्शन, इरानी आक्रमणमा परेको तेल अभिभस्थित एक आवासीय भवनको एउटा ब्लकमा आपत्कालीन सेवाका कर्मचारीहरू उद्धार कार्यमा संलग्न देखिन्छन्
  11. खामेनेईका उत्तराधिकारीको चयन कसरी हुन्छ

    खामेनेई

    तस्बिर स्रोत, Getty Images

    इरानमा देशका सर्वोच्च नेताको चयन प्रत्यक्ष मतदान गरेर निर्वाचनमार्फत् हुँदैन। बरु त्यस्ता नेताको चयन ८८ जना वरिष्ठ धर्मगुरुहरू रहेका एउटा निकायले गर्ने गर्छ, जसलाई विज्ञहरूको सम्मेलन भन्ने गरिन्छ।

    उक्त निकायका सदस्यहरूको चयन भने प्रत्येक आठ वर्षमा प्रत्यक्ष मतदानबाट गरिन्छ।

    इरानको संविधानअनुसार ती धर्मगुरुहरूले सकेसम्म छिटो नयाँ सर्वोच्च नेताको चयन गर्नुपर्छ। तर अहिले देशले आक्रमण बेहोरिरहेको अवस्थामा सुरक्षाका कारणले गर्दा यस पटक त्यस्तो कार्य गाह्रो हुन सक्छ।

    राष्ट्रपतिको परिषद्, न्यायपालिकाका प्रमुख र शक्तिशाली गार्डिअन काउन्सिलका एकजना सदस्यले अन्तरिमकालका लागि त्यस्ता सर्वोच्च नेताका जिम्मेवारीहरू सम्हाल्ने इरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

  12. इरानलाई ट्रम्पको ताजा चेतावनी

    ट्रम्प

    तस्बिर स्रोत, Reuters

    अमेरिका र इजरेलमाथि प्रत्याक्रमण नगर्न इरानलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ चेतावनी दिएका छन्।

    सामाजिक सञ्जाल ट्रूथ सोसलमा उनले लेखेका छन्, “इरानले आज अहिलसम्मकै कडा आक्रमण गर्न लागेको भनेको छ। उनीहरूले त्यसो नगर्दा नै राम्रो होला। यद्यपि उनीहरूले त्यसो गरेमा हामीले अहिलेसम्म नदेखिएको शक्तिका साथ प्रहार गर्ने छौँ।”

    इस्लामिक रेभलूशनरी गार्ड कोरले खामेनेईको मृत्युको बदलामा अमेरिकी सैनिक अखडाहरू र इजरेलमाथि आक्रमण गर्ने चेतावनी दिएपछि ट्रम्पको त्यस्तो अभिव्यक्ति आएको हो।

    “इस्लामिक गणतन्त्र इरानका सशस्त्र फौजहरूकै इतिहासमै अधिनस्थ भूभागहरू तथा अमेरिकी आतङ्कवादी अखडाहरूमा सबैभन्दा भयावह आक्रमण अब शुरू हुने छ,” उसले भनेको छ।

  13. उत्तरी इरानस्थित विद्यालयमा क्षेप्यास्त्र प्रहार हुँदा '१०८ जनाको मृत्यु'

    इरानमा क्षेप्यास्त्र प्रहार भएको विद्यालयको भग्नावशेषमा उद्धारकर्मीहरू

    तस्बिर स्रोत, Reuters

    उत्तरी इरानस्थित एउटा विद्यालयमा भएको विस्फोटनमा मारिएकाहरूको सङ्ख्या कम्तीमा १०८ पुगेको थाहा भएको एक स्थानीय अभियोजनकर्ताले बताएका छन्। अमेरिका र इजरेलले हवाई आक्रमण गर्दा शनिवार उक्त घटना भएको बताइएको छ।

    इरानका राष्ट्रपति मसूद पेजेस्कियानले कडा शब्दमा निन्दा गर्दै उक्त घटना "आक्रमणकारीहरूले गरेका असङ्ख्य अपराधहरूको अभिलेखमा एउटा अर्को कालो पन्ना" भएको टिप्पणी गरेका छन्।

    अमेरिका र इजरेलले भने विद्यालयमा भएको भनिएको उक्त घटनाबारे कुनै प्रतिक्रिया व्यक्त गरेका छैनन्।

    उक्त स्थान इरानको रेभलूशनरी गार्ड कोरको आधारशिविर नजिकै थियो।

    इरानी रेड क्रेसन्टका अनुसार देशभरि कम्तीमा २०० जनाको मृत्यु भएको पुष्टि भएको छ।

    रेड क्रस र रेड क्रेसन्टका जिनिभास्थित पदाधिकारीहरूले उक्त विद्यालय आक्रमणको निसानामा परेपछि प्रतिकार्य टोलीहरू परिचालन गरिएको जनाएका छन्।

    एक अधिकारहरूका अनुसार होर्मोज्गान प्रान्तको मिनाब सहरस्थित उक्त विद्यालयमा तीनवटा क्षेप्यास्त्र प्रहार भएका थिए।

    त्यहाँ विस्फोटन भएपछि खिचिएको भनिएका भिडिओहरू वास्तविक भएको बीबीसीले पुष्टि गरेको छ।

    ती भिडिओमा एउटा भवनबाट धुवाँको मुस्लो निस्किँदै गर्दा नजिकै मानिसहरू भेला भएको देखिन्छ र केही मानिसहरू आत्तिएर चिच्याएको पनि सुनिन्छ।

    तर उक्त घटनामा कति मानिस हताहत भए भन्ने कुराको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

  14. रेभलूशनरी गार्डका उच्च कमान्डर मारिए

    इस्लामिक रेभलूशनरी गार्ड कोर (आईआरजीसी) का चीफ कमान्डर मोहम्मद पाकपूर र रक्षा परिषद्‌का सचिव अली शमखानी अमेरिकी तथा इजरेली हमलामा मारिएका इरानी समाचार संस्था आईआरएनएले जनाएको छ।

    यसअघि इजरेल डिफेन्स फोर्स (आईडीएफल) ले पाकपूरसहित सात सुरक्षा अधिकारीहरू मारिएका बताएको थियो।

    गत वर्षको जुन महिनामा भएको बाह्रदिने इरान-इजरेल युद्धका क्रममा आफ्ना पूर्ववर्ती मारिएपछि मोहम्मद पाकपूर आईआरजीसीका चीफ कमान्डर नियुक्त भएका थिए।

    त्यसअघि पाकपूर आईआरजीसीको ग्राउन्ड फोर्सेसका कमान्डरको जिम्मेवारीमा थिए।

    इरानका सर्वोच्च नेताका एक वरिष्ठ सल्लाहकार पनि रहेका शमखानी बाह्रदिने युद्धका क्रममा घाइते भएका थिए।

    पाकपूर र शमखानी दुवै जनामाथि अमेरिकाले प्रतिबन्ध घोषणा गरेको थियो।

  15. इजरेल र इरानमा भएका नेपालीलाई परराष्ट्र मन्त्रालयको सुझाव

    परराष्ट्र मन्त्रालयको भिडिओ

    तस्बिर स्रोत, MoFA

    इरानमा अमेरिका र इजरेलले आक्रमण गरेपछि मध्यपूर्वमा विकसित घटनाक्रमबारे नेपालको परराष्ट्र मन्त्रालयले उक्त क्षेत्रमा भएका नेपालीहरूका लागि 'एड्भाइजरी' जारी गरेको छ।

    मध्यपूर्वका घटनाक्रमबारे आफूले अनुगमन गरिरहेको भन्दै मन्त्रालयले इजरेल र इरानमा रहेका नेपाली नागरिकलाई सावधानीका उपाय अपनाउन सुझाव दिएको छ। मन्त्रालयले ती देशमा भएका नेपालीहरूलाई स्थानीय सरकारी निकायहरूले जारी गरेका सुरक्षासम्बन्धी निर्देशन तथा सूचना पूर्ण पालना गर्न भनेको छ।

    मन्त्रायलको सुझाव यस्तो छ -

    • यथासम्भव घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, सावधानीका आवश्यक उपाय अवलम्बन गर्नुहोस् अनि आफू भएको ठाउँका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस्।
    • इजरेल र इरानका सम्बन्धित निकायको पूर्वस्वीकृतिबिना अनावश्यक यात्रा नगर्नुहोस् ।
    • काठमाण्डूस्थित परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र दोहास्थित नेपाली राजदूतावाससँग नियमित सम्पर्कमा रहनुहोस्।

    मन्त्रालयले इजरेल वा इरान भ्रमण गर्ने योजना बनाएका नेपाली नागरिकलाई अवस्था सामान्य नहुँदासम्म आफ्नो योजना स्थगित गर्ने सुझाव पनि दिएको छ।

    त्यसबाहेक मध्यपूर्वका अन्य देशमा भएका नेपाली नागरिकलाई त्यहाँको अवस्थाबारे निरन्तर जानकारी लिँदै सम्बन्धित देशका निकायले जारी गरेका सावधानीका उपाय पालना गर्न भनेको छ।

    आवश्यक परे तल उल्लिखित माध्यमबाट सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।

    काठमाण्डूस्थति परराष्ट्र मन्त्रालय

    फोनः ​+977-9862678437

    इमेलः waa@mofa.gov.np

    तेल अभिभस्थित नेपाली दूतावास

    फोनः +972-545582077

    इमेलः telaviv@nepalembassyil.com

    दोहास्थित नेपाली दूतावास

    फोनः ​+974-66214419

    इमेल: ​eondoha@mofa.gov.np

  16. तस्बिरमा : कतै त्रास, कतै हर्षोल्लास

    अमेरिका र इजरेलले इरानको राजधानी तेहरानसहित कैयौँ सहरमा हमला गरेका छन्।

    आक्रमणबीच इरानमा देखिएको अवस्थाबारे केही तस्बिरहरू हेर्नुहोस्।

    तेहरानमा विस्फोटन हुँदा निस्किएको धुवाँको मुस्लो

    तस्बिर स्रोत, Reuters

    तस्बिरको क्याप्शन, अमेरिका र इजरेलले आक्रमण गरेपछि शनिवार तेहरानको आकाशमा देखिएको धुवाँ
    तेहरानसहित अरू शहरका बासिन्दाहरू हमलापछि आश्रय लिन  सुरक्षित स्थानतर्फ गइरहेका छन्

    तस्बिर स्रोत, Reuters

    तस्बिरको क्याप्शन, तेहरानसहित अरू सहरका बासिन्दाहरू हमलापछि आश्रय लिन सुरक्षित स्थानतर्फ गइरहेका छन्
    हमलामा परी भत्किएको भवनको भग्नावशेषमा उद्धारकर्मीहरू

    तस्बिर स्रोत, AFP via Getty Image

    तस्बिरको क्याप्शन, हमलामा परी इरानमा थुप्रै व्यक्तिको ज्यान गएको र उद्धारकर्ताहरूले भग्नावशेषबाट शव निकाल्ने प्रयास गरिरहेका छन्
    धेरै इरानीहरू राजधानीबाट उत्तरतर्फ लागिरहेका छन्

    तस्बिर स्रोत, Getty Images

    तस्बिरको क्याप्शन, धेरै इरानीहरू राजधानीबाट उत्तरतर्फ लागिरहेका छन्
    इरानमा राति बाटोमा भेला भएका मानिसहरू

    तस्बिर स्रोत, Mamlekate/X

    तस्बिरको क्याप्शन, केही ठाउँमा सर्वोच्च नेता खामेनेईको मृत्युमा उत्सव मनाइएको विवरण आएको छ
    इरानको सरकारी टेलिभिजनले शनिवार खामेनेई मारिएका पुष्टि गरेको छ

    तस्बिर स्रोत, IRINN

    तस्बिरको क्याप्शन, इरानको सरकारी टेलिभिजनले शनिवार खामेनेई आफ्नै कार्यालयमा मारिएका पुष्टि गरेको हो
    केही मानिसले इजरेल र अमेरिकाविरुद्ध जुलस पनि निकाले

    तस्बिर स्रोत, EPA

    तस्बिरको क्याप्शन, केही मानिसले इजरेल र अमेरिकाविरुद्ध जुलस पनि निकाले
    अमेरिकामा इरानमा भएको घटनाक्रमपछि हर्षोल्लास मनाउँदै केही मानिस

    तस्बिर स्रोत, Reuters

    तस्बिरको क्याप्शन, इरानमा भएको घटनाक्रमपछि अमेरिकाको लस एन्जलिसमा हर्षोल्लास मनाउँदै केही मानिस
  17. मध्यपूर्वमा लडाइँ हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित

    Stranded passengers wait at Tribhuvan International Airport after all evening flights to Sharjah, Doha, Dubai, Kuwait City, Abu Dhabi, and Dammam were cancelled, following strikes on Iran launched by the United States and Israel, in Kathmandu, Nepal, February 28, 2026. REUTERS/Navesh Chitrakar

    तस्बिर स्रोत, Reuters

    तस्बिरको क्याप्शन, इरानमा अमेरिका र इजरेलले आक्रमण गरेपछि मध्यपूर्वका देशहरूतिर जान लागेका उडानहरू प्रभावित भएका छन्। काठमाण्डूबाट शारजहा, दोहा, दुबई, कुवेत सिटी र दम्माम जाने उडानहरू स्थगित भएपछि काठमाण्डूस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरू शनिवार अन्योलमा परेका थिए

    मध्यपूर्वमा जारी तनावबीच काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कैयौँ अन्तर्राष्ट्रिय उडानहरू रद्द भएका वा उडानको समय हेरफेर भएको अधिकारीहरूले बताएका छन्।

    विमानस्थल कार्यालयले आइतवार एउटा सूचना जारी गर्दै उडानबारे अद्यावधिक जानकारी लिएर मात्र निस्कन यात्रुहरूलाई अनुरोध गरेको छ।

    “यात्रुहरूलाई विमानस्थलतर्फ प्रस्थान गर्नुअघि विमान सेवा कम्पनीहरूसँग उडानको पछिल्लो अवस्था अनिवार्य रूपमा पुष्टि गर्न अनुरोध गरिन्छ,” सूचनामा भनिएको छ।

    “विमानस्थलले यात्रु व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन एअरलाइन्स तथा सम्बन्धित निकायहरूसँग नजिकबाट समन्वय गरिरहेको छ।”

  18. खामेनेईको मृत्युबाट इरानको मार्ग फेरिन सक्छः रेजा पह्लवी

    रेजा पह्लवी

    तस्बिर स्रोत, AFP

    इरानका अन्तिम राजाका निर्वासित छोरा रेजा पह्लवीले एउटा विज्ञप्ति जारी गर्दै आयातोल्लाह अली खामेनेईको मृत्युको स्वागत गरेका छन्।

    इरानका पूर्वराजकुमारले इरानमा सरकारविरोधी प्रदर्शन चर्किएपछि त्यसको समर्थन गर्दै अमेरिकालाई इरानमा हस्तक्षेप गर्न अमेरिकालाई आह्वान गर्दै आएका थिए। उनी सन् १९७९ देखि अमेरिकामा बस्दै आएका छन्।

    वाशिङ्टन पोस्टमा प्रकाशित छुट्टै आलेखमा पह्लवीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई धन्यवाद दिएका छन्। ट्रम्पले इरानी जनताहरूलाई "तपाईँहरूको स्वतन्त्रताको क्षण नजिकै आएको छ" भनेका थिए।

    उक्त आलेखमा उनले झन्डै आधा शताब्दीदेखि इरानको सत्ताले "छिमेकीहरूको सार्वभौमिकता कमजोर पार्दै, विश्वभरिका द्वन्द्व चर्काउँदै, परमाणुअस्त्र र ती प्रहार गर्ने लामो दूरीका क्षेप्यास्त्रको खोजी गर्दै आएको” टिप्पणी गरेका छन्।

    इस्लामिक गणतन्त्र इरानले सबैभन्दा "घृणास्पद अपराधहरू" स्वदेशमै गरेको भन्दै उनले गत ज्यानुअरीमा प्रदर्शनकारीहरूमाथि भएको दमनमा हजारौँ मानिस मारिएको उल्लेख गरेका छन्।

    उनले इरानमा अब नयाँ संविधान बनाएर जनमतसङ्ग्रहमार्फत’ अनुमोदन हुनुपर्ने, त्यसपछि "अन्तर्राष्ट्रिय निगरानी"मा स्वतन्त्र गरिनुपर्ने सुझाव दिएका छन्।

    "इतिहासले प्रायजसो आफ्नो मोड पहिला नै घोषणा गर्दैन। तर साहस, नेतृत्व र एकताले राष्ट्रहरूको मार्ग परिवर्तन गर्न सक्ने क्षणहरू आउँछन्," उनले लेखेका छन्।

  19. अब इरानको सत्ता कसले चलाउला

    अली खामेनेईको तस्बिर

    तस्बिर स्रोत, Reuters

    विगत ३७ वर्षदेखि इरानका सर्वोच्च नेता रहँदै आएका आयातोल्लाह अली खामेनेईको मृत्यु भएपछि अब इरानको सत्ता कसरी चल्छ भन्ने प्रश्न उठेको छ।

  20. इरान आक्रमणबारे थाहा भएका महत्त्वपूर्ण कुरा सङ्क्षेपमा

    • अमेरिका र इजरलले गरेको हवाई आक्रमणमा परी इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले पुष्टि गरेको छ
    • अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले खामेनेईलाई "इतिहासका सबैभन्दा दुष्ट व्यक्तिमध्ये एक"को सङ्ज्ञा दिँदै इरानीहरूलाई "आफ्नो देश फिर्ता लिन" आह्वान गरेका छन्
    • बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई स्रोतहरूले झन्डै ४० इरानी अधिकारीहरूको पनि अहिले भएका हवाई आक्रमणमा परेर मृत्यु भएको जानकारी दिएका छन्
    • इरानको इस्लामिक रेभलूशनरी गार्ड कोरले अमेरिकी सेनाको आधारशिविरहरू र इजरेलविरुद्ध "अतिघातक आक्रमणको अभियान" सुरु गर्ने उद्घोष गरेको छ
    • अमेरिकी सैन्य शिविरहरू भएका वा अमेरिकाको साझेदार मानिएका मध्यपूर्वका दुबई, दोहा, बाहरेन र कुवेतमा इरानी पक्षले प्रत्याक्रमण गरेको विवरण आएको छ
    • इरानभरि २०० जनाभन्दा बढीको मृत्यु भएको रेड क्रेसन्टले जनाएको छ। अमेरिकी र इजरेली आक्रमणमा परेको एउटा कन्या विद्यालयमा कम्तीमा १०८ जनाको मृत्यु भएको इरानी पक्षले जनाएको छ